Monday, December 2, 2013

'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ'

पछिल्लो २६ महिनायता नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर विरलै खाली हात फर्केको छ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाएर आइतबार स्वदेश फर्केको नेपाली टोलीको हातमा भने कुनै ट्रफी थिएन। तर, यसपालि उनीहरूले जति सम्मान पाए, त्यति अहिलेसम्मको कुनै ट्रफीले दिएन।
युएईमा शनिबार सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा तेस्रो भएकाले नेपाली टोलीले कुनै ट्रफी उचाल्न पाएन। उपाधि नपाए पनि नेपाललाई विश्वकप क्रिकेटको मैदानमा पुर्‍याएर ऐतिहासिक सफलता दिलाएको टोलीलाई आत्मैदेखि गर्वसाथ स्वागत गरे नेपाली खेलप्रेमीहरूले।

त्रिभुवन विमानस्थल बाहिर निस्कदैं पारस खड्का र नेपाली टोली। तस्बिरः विकास कार्की/नागरिक
नेपाली टोलीको सम्मानमा सेनाको ब्यान्ड बाजा बजाइएको थियो। खेलाडीका परिवार र सरकारी अधिकारीहरू फूलमाला बोकेर बसेका थिए। टोली फ्लाई दुबई जहाजमा बेलुकी ६ बजेतिर काठमाडौं ओर्लनुअघि नै विमानस्थलमा स्वागत गर्न आतुर हजारौं खेलप्रेमीको भीड लागिसकेको थियो। उनीहरू 'नेपाल...नेपाल...' भन्दै चिच्याइरहेका थिए। 'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ' जस्ता नारा लगाइरहेका थिए। साँझको चिसो हावाले उनीहरूको उत्साह छेकेको थिएन। उल्टै विश्वकपसम्म पुग्दाको गर्वले झन्डै तीन घन्टा विमानस्थलको माहौल तताएको थियो।
बिहीबार हङकङसँगको क्वार्टरफाइनल खेल जितेपछि नेपाल यही चैतमा बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १७ वर्षपछि नेपालले विश्वकपको ढोका खोलेको हो। नेपाललाई यहाँसम्म ल्याइपुर्‍याउनमा महत्वपूर्ण भूमिका खेलेका शरद भेषावकरसहित टोलीका सबै खेलाडीको गुनगान गाउन प्रशंसकहरूले कुनै कञ्जुस्याइँ गरेनन्। भीडभाड छिचोल्दै पारस खड्का र उनको टोलीलाई बसमा नक्सालस्थित होटल क्राउन प्लाजा लगियो। टोलीलाई विमानस्थल कक्ष भित्रबाट बाहिर निस्कन डेढ घन्टाभन्दा बढी समय लागेको थियो।
'बच्चैदेखि हामी विश्वकप भनेर भन्थ्यौं, अब भने साँच्चिकै खेल्ने भइयो,' आफ्नोभन्दा नेपाली टोलीको प्रदर्शनलाई महत्व दिएका शरदले होटल पुगेपछि नागरिकसँग भने।
विश्वकपको सपना साकार पारेर स्वदेश फर्केका नेपाली टोलीले सोमबारदेखि फेरि अर्को प्रतियोगितामा भिड्नुपर्नेछ। कीर्तिपुर मैदानमा सोमबार जर्नी टु विश्वकप प्रतियोगिता सुरु हुँदैछ। यसलाई नेपाली टोलीले अर्को महिना न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकपको तयारीका रूपमा लिएको छ। यही प्रतियोगिताका कारण टोलीको औपचारिक सम्मान कार्यक्रम बुधबारसम्मलाई थाती राखिएको छ। बुधबार टोलीलाई नगर परिक्रमा गराउने कार्यक्रम छ।
'नेपाली दर्शकको माया र प्रेमलाई हामी कहिल्यै भुल्न सक्दैनौं,' पारसले भने, 'युएईमा हामीलाई त्यहाँका नेपाली समर्थकले जसरी समर्थन गरेका थिए, त्यसले हामीलाई घरैमा खेलेजस्तो अनुभव भयो।'
प्रशिक्षक पुबुदु दासानायकेले पनि आफू समर्थकको अभिवादनबाट मोहित भएको बताए। एक–एक गर्दै सफलताको खुड्किलो उक्लने क्रममा नेपाली टोलीलाई प्रशंसकले हरकदम साथ दिएको उनले गर्वसाथ सुनाए। 'ब्याटिङ मेरा लागि आश्चर्यजनक होइन,' युएईमा नेपाली टोलीले गरेको प्रदर्शनबारे उनले भने, 'नेपाली टोलीले यस्तै प्रदर्शन गरिरह्यो भने हामी एकदिवसीय विश्वकपभन्दा माथि पुग्न सक्छौं।'
नागरिक राष्ट्रिय दैनकमा २०७० मंसिर १७ गते प्रकाशित

No comments:

Post a Comment