Tuesday, December 3, 2013

नेपाली प्रशंसकलाई देखेपछि लक्ष्मणले सम्झे आफ्नो बाल्यकाल

नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएकोमा बधाई दिने विश्व क्रिकेटका महान् सूचीमा बैंकटसाइ लक्ष्मण पनि थपिएका छन्। भारतीय स्टाइलिस ब्याट्सम्यान लक्ष्मणले आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमै गएर नेपाली खेलाडीहरूलाई बधाई दिएका हुन्।
वेस्ट इन्डिजका ब्रायन लारा र भारतका सचिन तेन्दुलकरले यसअघि नै नेपाललाई अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा पुगेकोमा बधाई दिइसकेका छन्। 'जर्नी टु विश्वकप' प्रतियोगितामा अतिथि बनेर आएका लक्ष्मणले भने नेपाली टोलीलाई भेटेर बधाई दिएका हुन्। उनी सोमबार काठमाडौं आएर विमानस्थलबाट सिधै मैदान पुगेका थिए।

त्रिवि मैदान कीर्तिपुरमा नेपाली क्रिकेटसँग छलफल गर्दै भारतका पूर्व ब्याट्सम्यान भिभिएस लक्ष्मण। तस्बिरः विकास कार्की/नागरिक


'सर्वप्रथम म नेपाललाई ट्वान्टी–२० विश्वकप पुगेकोमा बधाई दिन चाहन्छु, यो उनीहरूलाई साँच्चिकै यात्रा हुनेछ,' गत वर्ष आफ्नो १६ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याएका लक्ष्मणले भने, 'दुबईमा भर्खर सम्पन्न (आइसिसी विश्व ट्वान्टी–२० छनोट) प्रतियोगितामा मैले पनि नेपालको खेल पछ्याइरहेको थिएँ। मलाई लाग्छ यो नेपालको ठूलो सफलता हो। न्युजिल्यान्ड गएर नेपालले एकदिवसीय विश्वकप छनोट पनि खेल्न गइरहेको छ। नेपाली क्रिकेट सही दिशामा गइरहेकोमा म निकै खुसी छु।'
एयर इन्डियासँग खेलेपछि नेपाली कप्तान पारस खड्कालाई प्रतिक्रिया राख्न स्टेजमा बोलाउँदा दर्शकले चिच्याएर जुन किसिमको सम्मान देखाए, त्यसले ३९ वर्षे लक्ष्मणलाई बाल्यकाल स्मरण गरायो। 'म अहिले १९८३ को विश्वकप सम्भि्करहेको छु। त्यतिखेर म बच्चै थिएँ। भारतले इङ्ल्यान्डमा विश्वकप जितेको थियो, त्यसले मलाई मेरो राष्ट्रबाट क्रिकेट खेल्न प्रेरित गर्‍यो,' १ सय ३४ टेस्ट खेल्दै ८ हजार ७ सयभन्दा बढी रन बनाएका लक्ष्मणले भने, 'नेपालले अहिले जुन सफलता पायो, त्यसले निश्चय पनि अन्य नेपालीलाई प्रेरित गरेको छ।'
सन् २००१ मा अस्ट्रेलियाविरुद्ध फलोअनमा परेको समयमा पनि २ सय ८१ रन बनाएपछि भारतीय क्रिकेटका विशेष खेलाडी बनेका लक्ष्मणले भने, 'नेपाल निकै महत्वपूर्ण प्रतियोगिता खेल्न गइरहेको छ। भारतले स्तरीय टोली पठाउने छ। अन्य टोली पनि राम्रो हुने हुँदा नेपालले गतिलो एक्सपोजरको मौका पाउने छ। त्यसमा नेपाल क्रिकेट संघले जतिसक्दो खेलाडीलाई एक्सपोजर गराउन सक्नुपर्छ।'
एकै दिनमा कुनै जादु हुने नसोच्नुस भन्दै उनले भने, 'क्रिकेट विकासका लागि संरचना पद्धति आवश्यक पर्दछ। सँगसँगै तपाईमा धैर्य पनि चाहिन्छ। धेरै प्रतियोगिता नखेलेसम्म केही हुँदैन। जति खेल्यो खेलाडीले त्यति नै एक्सपोजर पाउने हो। श्रीलंका, बंगलादेश, केन्या पनि यही प्रक्रियाबाट आएका थिए, त्यसैले नेपालले पनि नसक्ने कुरै भएन।'
एयर इन्डियाका अधिकारीले गरेको पहिलो फोनपछि नै आफू नेपाल आउनुका कारण उनले यसरी दिए, 'मैले तत्कालै सहमति जनाएँ। नेपालजस्तो क्रिकेटमा माथि आइरहेको राष्ट्रलाई यहाँ आएर हौस्याउन पाउनु मेरो लागि पनि अवसर हो।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर १७ गते प्रकाशित

No comments:

Post a Comment