Saturday, December 28, 2013

विश्वकपको दबाबले थिचेको नेपाली यु–१९ टोली

भारत, पाकिस्तान जस्ता राष्ट्रसँग खेल्न पाउनुको चुनौती नेपाली टोलीका कप्तान भुवन कार्कीले राम्रोसँग बुझेका छन्। शनिबार युएईमा सुरु हुने एसिसी यु–१९ एसिया कपमा उनले अर्को चुनौती पनि देखेका छन्।
नेपाली राष्ट्रिय टोली ट्वान्टी–२० विश्वकपमा छनोट भएपछि त्यसको प्रभाव यु–१९ टोलीसम्म परेको भुवनको बुझाइ छ। 'नेपाल ट्वान्टी–२० को विश्वकपमा प्रवेश गरेको छ, एकदिवसीय विश्वकपनजिक छ, सबैले भविष्यको नेपाली टोली भनेर हामीलाई हेरिरहेका छन्। राष्ट्रिय टोलीअनुरुपकै प्रदर्शन गर्ने दबाब हामीसँग छ,' भुवन भन्छन्।
यसै वर्ष मलेसियामा भएको एसिसी यु–१९ इलिट कपमा बहराइनविरुद्ध बलिङ गर्दै नेपाली कप्तान भुवन कार्की । तस्बिरः एसिसी
पछिल्लो ५ वर्षमा नेपालको राष्ट्रिय टोली र युवा टोली फरक पाटोमा पुगेका छन्। एसिसीको लगभग सबै उमेर समूहको प्रतियोगिता जितेको युवा टोलीले ६ पटक आइसिसी यु–१९ विश्वकपमा सहभागिता जनाएको छ। यो सबै इतिहास भइसकेको छ। सन् २००९ यता उमेर समूहका प्रतियोगितामा नेपालले कुनै उपाधि जित्न सकेको छैन।
उमेर समूहका प्रतियोगितामा दबदबा रहँदा नेपाली राष्ट्रिय टोली उपाधिका लागि तड्पिएको थियो। अहिले स्थिति फरक छ। पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रिय टोलीले एकपछि अर्को सफलता पाएको छ। एसिसी ट्वान्टी–२० मै सीमित नेपाल विश्व ट्वान्टी–२० मा पुगिसकेको छ। डिभिजन ४ मा रहेको नेपाल डिभिजन २ मा उक्लँदै एकदिवसीय विश्वकपनजिक पुगेको छ।
भुवनले भने जस्तो राष्ट्रिय टोलीको सफलताले मात्र नभई भारत, पाकिस्तानको सामना गर्दा नेपाल दबाबमै हुनेछ। नेपाली टोलीमा यसपल्ट धेरै नयाँ अनुहार छन्। त्यसैले पनि युएईको यात्रा नेपाललाई सजिलो हुने छैन। वर्तमान यु–१९ टोलीका ८ खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभव छ, ६ खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा 'डेब्यु' गर्दैछन्। प्रकाश विष्ट, ललितसिंह भण्डारी, सोमेश यादव, सिद्धान्त लोहनी, सुनील धमला, राजु रिजाल पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन्।
प्रशिक्षक जंगबहादुर थापाको यु–१९ मा मुख्य आशा तीब्र बलर सोमपाल कामीमा थियो। तर जर्नी टु विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनी राष्ट्रिय टोलीबाट श्रीलंका हुँदै न्युजिल्यान्ड लागिसकेका छन्। उनको स्थानमा स्पिनर सुसन भारीलाई ल्याइएको छ। सुशील कँडेल पनि अस्वस्थताका कारण युएई जान नसक्ने भएपछि उनको स्थानमा अलराउन्डर राहुलप्रताप सिंहले लिने छन्। 
सुसन र राहुलप्रताप दुवै मे महिनामा मलेसियामा सम्पन्न एसिसी यु–१९ कपमा नेपालबाट खेलेका थिए। यी दुईसँगै कप्तान भुवन, अमित श्रेष्ठ, विभत्सु थापा, रामनरेश गिरी, यज्ञमान कुमालले एसिसी यु–१९ कपमा खेलेका छन्। एसिसी यु–१९ कपमा सेमिफाइनलमा पुगेसँगै नेपाल यु–१९ एसिया कपलाई छनोट भएको हो। तर सेमिफाइनलमा युएईसँग अप्रत्याशित हार बेहोरेपछि नेपाल यु–१९ विश्वकपको छनोट दौडबाट बाहिरिएको थियो।
नेपालले यु–१९ एसिया कपको समूह चरणमा युएईसँगै खेल्ने अवसर पाएको छ। भारत, पाकिस्तान समूह 'ए' का अर्का दुई टोली हुन्। समूह 'बी' मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया छन्। ८ महिनाअघिको युएई यु–१९ टोलीमा धेरै परिवर्तन आइसकेको छ। एसिया कप तयारीअघि युएईले पाकिस्तान, इङ्ल्यान्डसम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखलामा ६ खेल खेलेको थियो। इङ्ल्यान्डसँग १ खेलमा विजय हात पार्दा युएईले २ सय ५० रनको लक्ष्य पछ्याएको थियो।
त्यस बाबजुद प्रशिक्षक थापाको युएईसँग बाहेक भारत र पाकिस्तानमध्येबाट एक खेल विजय नतिजा निकालेर सेमिफाइनल पुग्ने दाउ छ। नेपालले शनिबार पाकिस्तानसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ। त्यस्तै आइतबार भारत र मंगलबार युएईविरुद्ध खेल्नेछ। पाकिस्तानको टोलीमा प्रथम श्रेणीको अनुभव बोकिसकेका खेलाडी छन्। भारतका कप्तान विजयहरि जोलले रोयल च्यालेन्जर्स बेङलोर, विकेटकिपर सञ्जु सामसनले कोलकाता नाइट राइडर्स तथा राजस्थान रोयल्स, कुलदीप यादव मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेलिसकेका छन्।
प्रशिक्षक थापासँग भारत र पाकिस्तानमध्ये कम्तिमा एक खेलमा स्तब्ध नतिजा निकाल्ने आफ्नै आधार छ। गत वर्ष यु–१९ एसिया कपको पहिलो संस्करणमा पनि भारत र पाकिस्तानकै समूहमा परेको थियो नेपाल। भारतीय टोलीमा उन्मुक्त चन्द, जोल, बाबा अपराजिथ आइपिएलका अनुभवी खेलाडी थिए। त्यही भारतलाई नेपालले ४६ ओभरभित्र १ सय ७६ रनमा अलआउट गरेको थियो। तर नेपाल ९१ रनमै समेटियो।
प्रशिक्षक थापा दुई वर्षअघि नेपाली टोलीमा सहायक प्रशिक्षक थिए। अहिले उनी मुख्य प्रशिक्षक हुन्। अनुभवहीन भए पनि ४ महिनाअघि सम्पन्न राष्ट्रिय प्रतियोगितामा यी खेलाडीले राम्रो प्रभाव पारेका थिए। विशेष गरी ब्याटिङमा धेरै समयपछि घरेलु क्रिकेटमा राम्रा व्यक्तिगत स्कोर बनेका छन्। त्यसैलाई युएईसम्म निरन्तरता दिने लक्ष्य थापाको छ।
पाकिस्तानसँगको खेल पनि थापाले भने जस्तो सजिलो छैन। यसै प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानले नेपाललाई ८ विकेटले पराजित गरेको थियो। भर्खरैमात्र पाकिस्तानले युएईको त्रिकोणात्मक एकदिवसीय शृंखला जितेको थियो। जबकि नेपालले युएई जानुअघि एउटा पनि राम्रो अभ्यास खेल खेल्न पाएन। ५ हप्ताको घरेलु प्रशिक्षणमै नेपाल सीमित थियो। म्याच एक्सपोजरको अनुभवले नेपाली टोली पिरोलिन सक्छ। राष्ट्रिय टोलीको अहिलेको प्रदर्शन म्याच एक्सपोजरको हिसाबमै आएको यु–१९ टोलीले बुझेकै पक्ष हो।
श्रीलंका हुँदै न्युजिल्यान्ड जानुअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्का यु–१९ टोलीको तयारीलाई लिएर चिन्तित थिए। भविष्यको नेपाली टोलीबारे कुनै वास्ता नगरिएकोमा उनको गुनासो मिश्रित भनाइ थियो, 'अहिले सबैको ध्यान राष्ट्रिय टोलीमा छ। विश्वकप पुग्यो, यस्तो गर्‍यो, उस्तो गर्‍यो भन्छन्। यु–१९ टोली एसिया कप खेल्न जान लागेको छ। उनीहरूले पाउनुपर्ने कुनै सुविधा पाएका छैनन्। जहाँ गुलियो, त्यहाँ भुलियो जस्तो भइरहेछ। जसले राम्रो गर्‍यो, त्यसको वाहवाही गर्ने र अरु कसैको मतलब नै नभएको जस्तो। यो सबै सिस्टम नभएर हो।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस १३ गते प्रकाशित

No comments:

Post a Comment