Wednesday, June 4, 2014

दासानायके नेपाली क्रिकेट छाडेर जादैं

नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायके बुधबार क्यानडा फर्कंदैछन्।
वर्षायाम लागेसँगै नेपाली क्रिकेटका विदेशी प्रशिक्षक यो समय छुट्टीमा घर जाने गर्थे। पुबुदुको कथा भने फरक छ। वर्तमान नेपाली क्रिकेटको भद्रगोल अवस्थाले उनी सधैंका लागि क्यानडा फर्कन लागेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुको अवधि एक वर्ष थपिने जनाउँदै आएको थियो। सोहीअनुसार क्यानको कार्यसम्पादन बैठकले सम्झौता १ वर्ष थप्ने निर्णय पनि गर्‍यो। सम्झौता नवीकरणबारे कार्यसम्पादन बैठकमा सबैले सहमति जनाए। तर अघिल्लो महिना एसिसी प्रिमियर लिग खेल्न जानुअघि दासानायकेलाई तीनमहिने नवीकरण पत्र थमाएर उनलाई घर फर्काउने वातावरण बनाइएको धेरैको बुझाइ थियो। थपिएको समय पनि दुई सातापछि सकिँदैछ।
दासानायके यसलाई नवीकरण मान्दैनन्। 'सम्झौता नवीकरणमा दुवै पक्षले हस्ताक्षर गर्नुपर्छ, मलाई ३ महिना थपिएको भनेर जानकारी गराइएको कागज चिठीजस्तो मात्र छ,' दासानायकेले भने। क्यानले आफूसँग कुनै संवाद नगरेको बताउँदै दासानायकेले मंगलबार नागरिकसँग भने, 'म घर फर्किनुपर्ने भयो। कुनै आधिकारिक कागजबिना मलाई यहाँ बस्न सहज भएन। कागजातबिना बस्दा मेरो परिवारलाई पनि गाह्रो हुन्छ। त्यही भएर जाँदैछु।'
सन् २०११ को सेप्टेम्बर २९ मा दासानायके काठमाडौं आएपछि नेपाली क्रिकेटकै नक्सै परिवर्तन भयो। डिभिजन ४ मा रहेको नेपालले डिभिजन ४, ३ जित्दै डिभिजन २ खेल्यो। एसिसी ट्वान्टी–२० मा फाइनल पुगेको नेपालले छनोट चरण पार गर्दै विश्वकपमै उत्रियो। साढे दुई महिनाअघि बंगलादेशमा नेपालले विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गर्‍यो। दासानायकेकै भनाइ आधार मान्दै तीन महिना थपिएको समय नवीकरण नमान्ने हो भने विश्वकप खेलेपछि नै उनको नेपालसँग सम्झौता अवधि सकिएको छ।
कप्तान पारस खड्का क्रिकेट संघमा रहेको आन्तरिक विवादमा खेलाडी र प्रशिक्षक पर्न नहुने बताउँछन्। 'पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले जुन सफलता पाएको छ, त्यसमा धेरै पुबुदु सरले गर्दा नै सम्भव भएको हो। उहाँ भएन भने नेपाली क्रिकेटलाई धेरै गाह्रो हुन्छ,' पारसले भने, 'पुबुदु सर हुनुभएन भने मलाई मात्र होइन, अन्य खेलाडीलाई पनि गाह्रो हुन्छ। यो शैलीमा खेल्न धेरै अप्ठेरो छ।'
दासानायके अहिलेको आवश्यक्ता र खेलाडीको चाहना भएको क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। 'यो सबै उनले नै गरेका हुन्, नतिजाले त्यो देखाइसकेको छ,' चन्दले भने, 'दासानायके भएन भने क्रिकेट नै हुँदैन भन्ने छैन। विकल्परहित कुनै समाज, संस्था र पद हुँदैन। नेपाली क्रिकेटमा किचकिच पनि धेरै भयो र अहिले केही समय उनको काम पनि छैन।'
चन्दको यो भनाइप्रति क्यान सदस्य सञ्जिव पाण्डेको तिखो आलोचना गर्छन्। 'चतुरबहादुर चन्दजस्ता प्रवृत्ति भएकाले क्रिकेट छाडे नेपाली क्रिकेटको प्रगति हुन्छ। दासानायके गए भने नेपाली क्रिकेटको दुर्गति हुन्छ, स्खलित हुन्छ।' पाण्डे अध्यक्ष टंक आङबुहाङ धारका व्यक्ति हुन्। अध्यक्षको कार्यशैलीप्रति आलोचना गर्दै आएका चन्दलगायत टोलीले अघिल्लो हप्तामात्र उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो।
नेपाललाई विश्वकपमा पुर्‍याएपछि दासानायकेको तलब ३ हजार डलर बढाएर ८ हजार पुर्‍याइएको थियो। तर त्यो निर्णय बोर्डलाई थाहा नदिई अध्यक्ष आङबुहाङले एक्लै गरेको चन्द बताउँछन्। 'यो अध्यक्षले गरेको निर्णय हो, बोर्डले निर्णय नगरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समात्न सक्छ अनि कसरी गर्ने,' चन्दले भने, 'बोर्ड कहिल्यै बस्छ थाहा छैन। अध्यक्षलाई केही मतलब छैन।'
'एक वर्षअघि दासानायकेको सम्झौता नवीकरण हुँदा बोर्ड बसेको थियो र?' पाण्डे उपाध्यक्ष चन्दसँग प्रश्न गर्छन्। उनले भने, 'कार्यसम्पादनले गरेको निर्णय बोर्डले अनुमोदन मात्र गर्नुपर्छ। कार्य सम्पादन भनेको अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतको निर्णय हो। त्यसलाई बोर्डले उल्टाउने हो भने उहाँहरूले राजीनामा दिए हुन्छ।'
मार्चमा बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेल्नु नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो उपलब्धि थियो। त्यहाँबाट फर्किएको १५ दिन नबित्दै  खेलाडीहरूले (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए। उनीहरूले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शितासहितको आवाज उठाए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ।
कप्तान पारस भने अख्तियार भनेर क्यानका पदाधिकारी दासानायकेको सम्झौताबाट पन्छिरहेको आरोप लगाउँछन्। दासानायके आफूले पनि अख्तियारको छानबिनको कारण नवीकरणमा अप्ठेरोमा बुझिरहेकोमा हिजो त्यो भ्रमबाट बाहिर भएको बताए। उनले भने, 'अख्तियारले मलाई हिजो बयानका लागि बोलाएको थियो, मैले अख्तियारको छानबिनले गर्दा मेरो नवीकरणमा ढिलाइ भएको कुरा आइरहेको बताउँदा अख्तियारले त्यसमा कुनै सत्यता नभएको जनायो।'
दासानायके सुविधा बढेकाले त्यो नेपालले बेहोर्न नसक्ने दाबी उपाध्यक्ष चन्दको छ। 'उनको सुविधा बढेको छ। तलब, गाडी र होटल सुविधा गरेर उनलाई हामीले वर्षको झन्डै १ करोड २५ लाख खर्च गर्नुपर्छ,' चन्दले भने, 'संघ अहिले यो बेहोर्ने स्थितिमा छैन। प्रशिक्षकका लागि हामीलाई एसियाली क्रिकेट परिषदले १ वर्षका लागि भनेर झन्डै ५० लाखको हाराहारीमा दिन्छ, त्यो बाहेक सबै संघले नै जुटाउनुपर्छ।' दासानायकेलाई राख्न स्रोत जुटाउनुपर्ने बताउँदै चन्दले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग सहयोग मागिने जनाए। 'फुटबलमा प्रशिक्षकको तलब केही हिस्सा सरकारले दिइरहेको रहेछ, हामी पनि सरकारबाट त्यही आशा गरिरहेका छौं।'
चन्दको यो भनाइमा दासानायके आश्चर्य जनाउँछन्। 'मार्चमा कार्य सम्पादन टोली मसँग बसेर छलफल हुँदा उनीहरूले मेरो सर्तमा सहमति जनाएका थिए,' दासानायकेले भने, 'उनीहरूलाई त्यसमा समस्या थियो भने मलाई भन्नुपर्थ्यो। गल्ती भएको भए अहिले पनि उनीहरूले मलाई भनेर छलफल गर्नुपर्थ्यो। औपचारिक बैठकमा एउटा भन्ने र बाहिर गएर अर्को भन्ने राम्रो संस्कार होइन।'
दासानायकेको सफलतामा डाह गर्नेहरूले नवीकरण विवाद निकालेको तर्क क्यान सदस्य पाण्डेको छ। उनले दाबीसाथ भने, 'दासानायकेको क्रेज, अन्तर्राष्ट्रिय क्रिकेटसँगको सम्बन्ध, नेपाली क्रिकेटलाई दिलाएको सफलता र खेलाडी छनोटमा हस्तक्षेपविरुद्धको निषेधपछि अहिले चलखेल गर्न खोज्ने नियतले उनलाई हटाउन खोज्ने षडयन्त्र हो।'
क्यान पदाधिकारीको जुहारीलाई थाती राख्दै संघले उपलब्ध गराएको एकतर्फी हवाई टिकटमा दासानायके क्यानडा फर्कंदैछन्। उनले भने, 'क्यानले भोलि जे निर्णय गरोस्, मलाई केही छैन, म खुसीसाथ क्यानडा फर्कंदैछु।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ जेठ २१ गते प्रकासित

No comments:

Post a Comment