Tuesday, June 24, 2014

हपहप ब्राजिलमा हैरान युरोपेली

चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल दुइटा कुराले अभूतपूर्व रह्यो– स्पेन अर्को महादेशमा गएर विजयी हुने पहिलो युरोपेली राष्ट्र बन्यो। र, दक्षिण अमेरिकी राष्ट्रले युरोपबाहिर पहिलोचोटि हार खानुपर्‍यो।
ब्राजिलमा भने त्यही इतिहास दोहोर्‍याउने सम्भावना कठिन बन्दै गएको छ, युरोपेली टिमलाई। साबिक विजेता स्पेन र पूर्व विजेता इङल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। दक्षिण अमेरिकी महाद्वीपमा उपाधि जित्ने युरोपको जिम्मेवारी अब जर्मनी, नेदरल्यान्ड्स र फ्रान्सको काँधमा छ। यसले युरोपको कमजोरी सँगसँगै दक्षिण अमेरिकी टोलीको दाबेदारीलाई बलियो बनाएको छ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हपहपपछि ड्रिङक्स पिउदै। उच्च आद्रताका कारण पोर्चुगल र अमेरिका बीचको खेलमा रेफ्रीले छोटो समय खेलाडीलाई ड्रिङक्स ब्रेक नै दिनु परेको थियो। तस्बिर साभारः रोयटर्स
दक्षिण अमेरिकी टोलीले नौमध्ये सातपटक अमेरिकी महाद्वीपमै विश्वकप जितेको छ। युरोपेली टोलीले भने १० पटक विश्वकप जित्दा नौचोटिको जित आफ्नै भूमिमा थियो।
विश्वकप र महादेशबीचको यो अन्तरसम्बन्ध के हुनसक्छ त?
पहिलो, घरेलु वातावरण।
विश्वकप आयोजना महादेशीय प्रतिष्ठासँग जोडिएको हुन्छ। सन् १९५० मा ब्राजिल आफ्नै भूमिमा उरुग्वेसँग हार्‍यो। ब्राजिलको माराकाना रंगशालामा झन्डै २ लाख घरेलु दर्शक निराश भए। सँगसँगै, विश्वकप उचाल्ने सौभाग्य दक्षिण अमेरिकी राष्ट्रबाट बाहिर नगएकोमा सन्तुष्ट पनि रहे।
आयोजक वा एउटै महादेशका राष्ट्रलाई घरेलु वातावरणले सबभन्दा धेरै फाइदा पुर्‍याउने खेलविज्ञ सञ्जीव मिश्र बताउँछन्। यसपालि नै ब्राजिल विश्वकपको ६० प्रतिशत टिकट स्थानीयको हातमा छ। फुटबलमा दर्शकलाई १२ औं खेलाडी मानिने हुँदा घरेलु समर्थक र होहल्ला जति धेरै भयो, खेलाडीको उत्साह उति बढ्छ। यस आधारमा ब्राजिल र अर्जेन्टिनालाई महादेशीय र घरेलु दर्शकको लाभ बढी छ।
स्पेनका पूर्वरक्षक मिसेल सालगाडोले पनि युरोपेली टोलीलाई दक्षिण अमेरिकामा नतिजा निकाल्न कठिन हुने स्वीकार गरेका छन्।
'दक्षिण अमेरिकामा गएर त्यहाँको टोलीलाई हराउन गाह्रो हुन्छ। उनीहरू जुनसुकै हालतमा अरूलाई पराजित गर्न चाहन्छन्, चाहे त्यो मैदानमा उत्रिएर होस् वा ड्रेसिङ रूममा छिरेर,' उनले सञ्चार माध्यममा भनेका छन्, 'त्यसैले मैले ब्राजिल र अर्जेन्टिनालाई दाबेदार मानेको छु।'
दोस्रो, आयोजक राष्ट्रको हावापानी।
कुनै पनि खेलको जितहारमा ठाउँको हावापानीले ठूलो भूमिका खेल्छ। अर्को महादेशको हावापानी र रहनसहनमा भिजेर राम्रो नतिजा दिनु खेलाडीका लागि चुनौतीको विषय हुने खेलविज्ञ मिश्र बताउँछन्।
ब्राजिलमा भइरहेको प्रतियोगिताले यसको पुष्टि गर्छ। युरोपेली टोली दक्षिण अमेरिकाको चिसो तर आर्द्रता (हावामा पानीको मात्रा) बढी हुने याममा ब्राजिल पुगेका छन्। वरिपरि समुद्र भएको ठाउँमा आर्द्रता बढी हुन्छ। सोमबार ब्राजिलको औसत तापक्रम १५ डिग्री सेन्टिग्रट छ, जबकि आर्द्रता ८८ प्रतिशत। इङल्यान्डमा २६ डिग्री तापक्रम र आर्द्रता ४८ छ भने इटालीमा २८ डिग्री तापक्रम र आर्द्रता ४९ प्रतिशत छ। ब्राजिलबाहेक उत्तर र दक्षिण अमेरिकी टोलीका लागि यो आर्द्रता सामान्य हो। अर्जेन्टिना, चिली, संयुक्त राज्य अमेरिकालगायत उत्तर र दक्षिण अमेरिकाका अधिकांश मुलुकको मौसम उस्तै छ।
आर्द्रता बढी हुँदा मौसम गुम्म र हपहप हुन्छ। त्यस्तोमा पसिना चाँडो सुक्दैन। खेलाडी बढी थाक्छन्। बलको 'स्विङ' बढी हुन्छ। 'सापेक्षिक आर्द्रता बढी भएको स्थानमा स्वाभाविक रूपले बढी अप्ठेरो हुन्छ,' मौसमविद् मीनकुमार अर्यालले नागरिकसँग भने, 'चिसो मौसममा बस्नेहरूलाई त त्यस्तो ठाउँमा टिक्नै गाह्रो हुन्छ। हप्प भएपछि मान्छेहरू छिटो थाक्छन्।'
अहिलेसम्म भएका प्रतियोगिताको नतिजा विश्लेषण गर्दा पनि मौसमको प्रभाव देख्न सकिन्छ। युरोपेली राष्ट्रहरूले उत्तर र दक्षिण अमेरिकाविरुद्धका टोलीसँग खेलेकामध्ये ३ खेलमात्र जितेको छ। फ्रान्सले होन्डुरसलाई ३–० र स्विट्जरल्यान्डले इक्वेडरलाई २–१ ले पराजित गरेका थिए। होन्डुरस र इक्वेडर तुलनात्मक कमजोर टोली हुन्। सबभन्दा रोचक त, खासै शक्तिशाली नमानिएको चिलीले स्पेनलाई २–० ले पराजित गरी घर फर्काइदियो। त्यस्तै, लुइस स्वारेजको २ गोलपछि उरुग्वेले अर्को दाबेदार इङल्यान्डमाथि २–१ को विजय हात पार्‍यो।
'ग्रुप अफ डेथ' मा सबैभन्दा कमजोर मानिएको कोस्टारिकाले समेत अमेरिकी महाद्वीपको सान राख्यो। ऊ चारपटकका विश्वविजेता इटाली र उरुग्वेमाथि स्मरणीय विजय हात पार्दै दोस्रो चरण पुग्यो। कोस्टारिका त्यही टोली हो, जसले यसअघिका ३ विश्वकपमा सहभागिता जनाउँदा जम्मा ३ खेल जितेको थियो।
युरोपमात्र होइन, एसिया र अफ्रिकाका टोली पनि ब्राजिलमा घुँडा टेकिरहेका छन्। यी दुई महाद्वीपका ९ टोलीले ३ खेलमा मात्र विजय हात पारेको छ। त्यसमा पनि एसिया अझै शून्यमा छ।
यसअघि पनि अमेरिकी महाद्वीपमा भएका ७ विश्वकप युरोपेली टोलीले जित्न सकेका थिएनन्। समूह चरणका दुई खेल समाप्तिमा यसपटक पनि युरापेली राष्ट्रलाई दक्षिण अमेरिकामा गएर उपाधि जित्न मात्र होइन, खेल्नसमेत सहज नहुने देखिएको छ। जबकि उत्तर र दक्षिण अमेरिकी टोलीले भने ब्राजिलमा घरेलु वातावरणदेखि हावापानीको फाइदा उठाउँदै मैदानमा प्रभाव देखाइरहेका छन्।
चिली, कोलम्बिया, कोस्टारिका, अर्जेन्टिना २–२ खेल जितेर नकआउट चरणमा पुगिसकेका छन्। दुई खेलमा ४–४ अंक बटुली समूह 'ए' बाट ब्राजिल र मेक्सिको नकआउट चरणको नजिक पुगेका छन्। दुई खेल खेलेको अमेरिकाले घानालाई पराजित गरेको छ भने पोर्चुगलसँग बराबरीको ऐतिहासिक नतिजा निकालेको छ। पछिल्ला दुई विश्वकपमा घानाले अमेरिकालाई हराउँदै आएको थियो।
खेलमा घरेलु मैदानको फाइदा कतिसम्म हुन्छ भन्ने विश्वकप २००२ ले देखाइसकेको छ। त्यसबेला जापान र दक्षिण कोरियामा आयोजना हुँदा यी दुवै देशले ऐतिहासिक नतिजा निकालेको थियो। दोस्रोपटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेको जापान पहिलोचोटि नकआउट चरणमा पुगेको थियो। दक्षिण कोरियाले पनि सेमिफाइनलसम्म पुग्ने पहिलो एसियाली राष्ट्रको कीर्तिमान बनायो। सन् १९६६ मा इङल्यान्डमा भएको विश्वकपमा उत्तर कोरिया क्वार्टरफाइनल पुग्नु नै एसियाली टोलीको एकमात्र सफलता थियो।
एसियालीजस्तै अफ्रिकी टिमले पनि फाट्टफुट्ट मात्र राम्रो नतिजा निकालेका छन्। १९९० मा क्यामरुन क्वार्टरफाइनल पुग्नु अफ्रिकी महादेशकै ठूलो उपलब्धि थियो। अफ्रिकी भूमिमा पहिलोपटक आयोजना भएको फाइदा घानाले चार वर्षअघि उठायो र वार्टरफाइनलसम्म पुग्यो। आयोजकलाई नै फाइदा हुन्छ भन्ने पनि छैन। दक्षिण अफ्रिका दोस्रो चरण नपुग्ने एक्लो आयोजक राष्ट्र हो।
प्रतियोगिताअघि इङल्यान्डका प्रशिक्षक रोय हड्सन पनि युरोपले दक्षिण अमेरिकामा गएर भाग्य परिवर्तन गर्नेमा आशावादी थिए। 'यसपटक युरोपेली राष्ट्रले राम्रो खेल्ने मेरो विश्वास थियो,' हड्सनले भनेका छन्, 'युरोपेली टोलीले दक्षिण अमेरिकामा राम्रो खेल्न नसक्नुमा के रहस्य छ, मैले बु‰न सकेको छैन।'
इङल्यान्ड र स्पेन समूह चरणको एक खेलअगावै विश्वकपबाट बाहिरिएपछि अब हड्सनसँग रहस्य खोज्नुको विकल्प छैन।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ असार १० गते प्रकासित

No comments:

Post a Comment