Tuesday, April 29, 2014

अफगानिस्तान र युएईलाई देखाउने अवसर

एसिसी प्रिमियर लिग खेल्न मलेसिया जादा नेपाली क्रिकेट टोली आन्तरिक समस्याहरु विर्सने प्रयासमा छ। ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको १५ दिनपछि नै नेपाली क्रिकेट आन्तरिक विवादमा रुमल्लिएको थियो।
देशको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शीताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ।

क्यानका पदाधिकारी र नेपाली क्रिकेटसँग जोडिएका अन्य अहिले दिनहुँ जस्तै अख्तियारमा हाजिरी जनाइरहेका छन्। यसले क्यान र खेलाडीबीचको सम्बन्ध अझ चिस्याएको मानिएको छ। बिहीबारदेखि हुने एसिसी प्रिमियर लिगलाई पनि यसले प्रभावित पारेको छ। खेलाडीले पहिला आफ्नो माग पूरा नभए प्रिमियर लिग पनि नखेल्ने चेतावनी दिएका थिए।
'खेलाडीहरु खेलमा केन्द्रित छन्, तयारी भए पनि प्रतियोगितासम्म हामी पूर्ण रुपमा तयार भइसक्छौं, म अत्तालिएको छैन्,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, 'अन्य केही कारणले हाम्रो तयारी राम्रो हुन सकेन्, तर यसमा मेरो कुनै गुनासो छैन्।' कप्तान पारस खड्काले भने खेल्ने बेलामा समस्याका बारे नसोच्ने बताए। उनले भने, 'मैदानमा उत्रिएपछि खेलमा मात्र केन्द्रित हुनुपर्छ।'
एसियाली क्रिकेट परिषद (एसिसी) ले सन् १९९६ देखि गर्दै आएको एसिसी ट्रफी इलिटलाई नयाँ संरचनामा ढालेर एसिसी प्रिमियर लिग गर्न लागेको हो। २०१२ मा युएईमा भएको एसिसी ट्रफीको शीर्ष ६ टोलीले प्रिमियर लिगमा सहभागिता जनाउने छन्। 'यो निकै महत्वपूर्ण प्रतियोगिता हो, विश्वसामु हामीले अझै धेरै प्रमाणित गर्नुपर्ने छ, हामी प्रत्येक खेल जित्न चाहान्छौं,' दासानायके नेपालको लक्ष्य प्रस्ट पार्छन्।
दुई वर्ष अघिको एसिसी ट्रफीमा नेपाल र युएई बीचको फाइनल 'टाई' भएपछि संयुक्त विजेता बनेका थिए। नेपाल र युएईसहित अफगानिस्तान, हङकङ, मलेसिया र ओमान प्रिमियर लिगमा सहभागिता जनाउदैं छन्। नेपालले मे १ मा युएईसँग पहिलो खेल खेल्ने छ। युएईपछि नेपालले २ मा मलेसियासँग, ४ मा ओमानसँग, ५ मा हङकङसँग र ७ मा अफगानिस्तानसँग खेल्ने छ। सहभागि सबै टोलीले राउन्ड रोविन पद्दतिमा एक–अर्कासँग खेल्नेछन्।
'सवै ५ खेल कठिन छन्। युएई र अफगानिस्तानले पक्कै पनि राम्रो गरिरहेको हुनुपर्छ, किनभने उनीहरु १० महिनापछि एकदिवसीय विश्वकप खेल्दैछन,' दासानायकेले भने, 'पाँचै टोलीलाई हामीले सम्मान गर्नुपर्छ। ओमान पनि राम्रो टोली हो। मलेसियाले पनि भर्खरै डिभिजन ५ मा राम्रो गरेको छ।'
गत महिना बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा सहभागिता जनाएपछि नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो। पहिलो पटक विश्वकपमा सहभागिता जनाउने क्रममा नेपालले अघिल्लो महिना विश्व ट्वान्टी–२० मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो र नेट रन रेटमा मात्र बंगलादेश भन्दा पछाडी रही सुपर टेनमा पुग्नबाट रोकिएको थियो। 'ट्वान्टी–२० मा प्रमाणित गरिसकेका छौं। अव ५० ओभरको खेलमा त्यसलाई रुपान्तरण गर्ने अवसर पाएका छौं,' दासानायकेले भने।
एकदिवसीय संरचनामा हुने प्रिमियर लिगको शीर्ष चार टोलीले यसै वर्ष डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपमा भाग लिन पाउनेछन्। एसिसीले पहिलो पटक गर्न लागेको च्याम्पियनसिप दुईदिवसीय संरचनाको हुनेछ।
जनवरीमा एकदिवसीय विश्वकप छनोट खेलेपछि नेपालले पहिलो पटक ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकपमा छनोट हुने उद्धेश्य बोकेर गएको नेपाल सहभागी १० टोलीमा नवौं भएको थियो। दासानायकेले भने, 'केही कारणले गर्दा हामीले न्युजिल्यान्डमा आफ्नो उत्कृष्ट खेल देखाउन सकेनौं।'
न्युजिल्यान्डकै प्रदर्शनतिर फर्किदा कप्तान पारसले भने, 'विगत भनेको विगत नै हो, अव खेलिने खेल सुरुबाटै खेल्नु पर्नेछ। हामीले मलेसियामा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने हो।'
अवसर खोज्दै चार खेलाडी
एसिसी प्रिमियर लिगमा भेट्रान राजकुमार प्रधान र महबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गर्नेछन् भने युवा खेलाडी आरिफ शेख र रामनरेश गिरी अवसर पर्खदैं छन्। २००८ को एसिसी ट्रफी पछि ३८ वर्षे लेग स्पिनर राजकुमारले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन्। २०१२ मा विश्व ट्वान्टी–२० छनोटमा कमजोर प्रदर्शन गरेपछि हटाइएका महबुबले त्यसपछि पहिलो पटक नेपालबाट खेल्न लागेका हुन्।
'आरिफ र महबुब राम्रो भएर आएका छन्। राजकुमार राम्रो स्पिनर हुन्,' दासानायकेले भने, 'लामो समयपछि टोलीमा फर्किएकाले महबुब धेरै दवावमा छन्। उनले पहिलाभन्दा खेलमा परिवर्तन गरेका छन्। बाउन्ड्रीमा भन्दा १–२ रनमा बढि जोड दिन्छन्। सातौं नम्बरमा हाम्रो ब्याटिङमा समस्या देखिएको छ। महबुब त्यसको विकल्प हुन सक्छन्।'
पारसले राजकुमार, महबुबसँगैं रामनरेश र आरिफले राम्रो प्रदर्शन गरेकाले उनीहरु पुनरागमनको हकदार भएको बताए। 'उनीहरुले राष्ट्रिय प्रतियोगितामा राम्रो गरेर आएका हुन्। सिस्टममा रहेर प्रदर्शन दिएका छन्, त्यसैले उनीहरुबाट राम्रो आशा गर्न सकिन्छ,' उनले भने। १६ वर्षे आरिफ राष्ट्रिय प्रतियोगितामा म्यान अफ द सिरिज चुनिदैं राष्ट्रिय टोलीमा परेका हुन्। गत वर्ष सिंगापुरमा भएको एसिसी इमर्जिङ टिम्स कपमा नेपाली टोलीमा रहे पनि रामनरेशले कुनै खेल खेल्न पाएका थिएनन्।
ओपनरमा परिवर्तन
नेपालले ओपनिङ ब्याटिङमा परिवर्तन गर्ने भएको छ। सुवास खकुरेललाई नरेश बुढाएरले ओपनिङमा साथ दिने सम्भावना छ। प्रशिक्षक दासानायकेले दुइ हप्ताको अभ्यासका क्रममा नरेशलाई ओपनिङ ब्याटिङमा अभ्यस्त गराएका थिए। यसअघि सुवास र सागर पुन नेपालको ओपनिङ जोडी थिए।
'नरेश र सुवास ओपनिङमा राम्रो देखिएका छन। म हाम्रो ओपनिङ मजबुत भएको हेर्न चाहान्छु,' दासानायकेले भने। विश्व ट्वान्टी–२० छनोट र विश्व ट्वान्टी–२० मा सागर खासै जम्न नसकेपछि प्रशिक्षक ओपनिङ परिवर्तन गर्ने मनस्थितिमा पुगेका हुन्। ओपनिङको अर्को विकल्पमा दासानायकेले सागरलाई नै राखेका छन्। ट्वान्टी–२० विश्वकपमा नरेशले मध्यपंक्तिबाट खेलेका थिए।


एसिसी प्रिमियर लिग
नेपालका खेलहरु
मे  १ विरुद्ध युएई, सेलाङगर टर्फ क्लबमे २ विरुद्ध मलेसिया, बायुमासमे  ४ विरुद्ध ओमान, सेलाङगर टर्फ क्लबमे  ५ विरुद्ध हङकङ, बायुमासमे  ७ विरुद्ध अफगानिस्तान, सेलाङगर टर्फ क्लब

नागरिक राष्ट्रिय दैनिकमा २०७१ वैशाख १६ गते प्रकाशित

No comments:

Post a Comment