Saturday, July 12, 2014

कुलिङ ब्रेक

इङ्ल्यान्डका मिडफिल्डर फ्रांक लाम्पार्डले चार वर्षअघिको विश्वकपमा हानेको बलले गोललाइन क्रस गर्‍यो। तर सहयाक रेफ्रीले गोल नदिदा दक्षिण अफ्रिका विश्वकप निकै बिवादित बन्यो। जर्मनीविरुद्ध लाम्पार्डले गरेको त्यो प्रहार विश्व फुटबलमा गोललाइन टेक्नोलोजी ल्याउने मुख्य कारणमध्ये एक बन्यो। त्यसैले ब्राजिल विश्वकपमा गोल लाइन टेक्नोलोजी पहिलो पटक प्रयोगमा ल्याइयो। यसको प्रभाव निकै हुने अनुमान गरिएको थियो।
त्योसँगै रेफ्रीले फाउल भएपछि मार्क गर्न लगाउने स्प्रेको प्रतिक्षा पनि ठूलै थियो। तर ब्राजिलको उच्च आर्द्रताले चर्चामा सवैलाई मात दियो। एकाएक प्रयोग गरिएको 'कुलिङ ब्रेक' चर्चामा रहयो। हपहपी गर्मीमा थकानले गलित खेलाडीलाईमात्र नभइ म्याच अफिसियललाई पनि 'कुलिङ ब्रेक' ले शितलता प्रदान गर्‍यो।
मेक्सिकोको खेलाडीहरु कुलिङ ब्रेकमा चिसिदैं। तस्विर सौजन्यः एजेन्सी
अन्य खेलकुदमा पनि विश्राम दिइने गरेको छ। टेनिसमा हरेक २ अंकपछि दिइने 'टावल ब्रेक' र क्रिकेटको 'ड्रिङ्क्स ब्रेक' का आफ्नै महत्व छन्। फुटबलमा पनि ४५ मिनेटपछि १५ मिनेटको मध्यान्तर हुन्छ। त्यसलाई टोलीहरुले ब्रेक भन्दा पनि रणनीतिका लागि उपयोग गर्ने गर्छन। त्यसैले मध्यान्तरमा खेलाडी फ्रेस हुनुभन्दा खेलको तनावले नयाँ रणनीति बनाउन लाग्दा थप दबाव महशुस हुन्थ्यो। ब्राजिल विश्वकपले कुलिङ ब्रेक खेलाडीका लागि निकै उपयोगी हुने देखाएको छ।
खेलको गती बिग्रिने हुनाले फुटबलमा मध्यान्तरपछि अर्को ब्रेक गर्न नहुने तर्क राख्नेहरुको जमात अहिले पनि ठूलो छ। कतारमा हुने २०२२ को विश्वकप र अमेरिकी महाद्धिपमा फेरी प्रतियोगिता फर्किदा कुलिङ ब्रेक अनिवार्य आवश्यक्ता हुने निश्चित छ। साथै यसले फुटबल मार्केटिङमा ठूलो क्रान्ती ल्याउने सम्भावना पनि देखाएको छ। टेनिस र क्रिकेटमा जस्तो छिन छिनमा ब्रेक नहुँदा टेलिभिजन विज्ञापनका लागि फुटबलको दायरा साँधुरो भएको गुनासो थियो। स्वास्थका लागि ब्राजिल विश्वकपमा अनिवार्य बनेको 'कुलिङ ब्रेक' ले फुटबलमा बजार व्यवस्थापनको सम्भावनलाई पनि उजगार गरेको छ।

किन कुलिङ ब्रेक?
जुन २७ मा ब्राजिलको राजधानी ब्रासिलियाको एक श्रम अदालतले फिफालाई धेरै गर्मी भएको अवस्थामा अनिवार्य रुपले कुलिङ ब्रेक राख्न आदेश दिएको थियो। तापक्रम ३२ डिग्री पुगेमा दुवै हाफको ३० मिनेट पश्चात कुलिङ ब्रेक अनिवार्य गर्ने अदालतको आदेश थियो। फिफा र स्थानीय वकिलबीच २ घन्टा चलेको छलफलले कुनै निस्कर्ष निकाल्न नसकेपछि अदालतले त्यस्तो आदेश दिएको थियो।
फिफाले यसअघि नै त्यस्तो मौसमा कुलिङ ब्रेकका लागि सुभाव आइसकेको जनाएको थियो। फिफाले कुलिङ ब्रेक राख्नेमा विश्वस्त हुन नसकेर ब्राजिली अदालतले त्यस्तो निर्देशन दिएको थियो। फिफाले यसअघि विश्वकपका कुनै पनि खेल २८ डिग्रीभन्दा माथीको तापक्रममा नभएको दावी गरेको छ। अदालतमा वकिलले ३० डिग्री पुगेपछि कुलिङ ब्रेक गर्नुपर्ने माग राखेका थिए। तर थोरै भिन्नताले खेलाडीको स्वास्थ्यलाई खतरामा नपार्ने दावी गर्दै अदालतले फिफाको ३२ डिग्रीको मापदण्ड स्वीकार गरेको थियो। न्याधिश रोजेरियो निइभा पिनहेरिओको निर्देशन थियो, 'फिफालाई आफ्नै नियम लागु गराउन बाध्य पार्दा यसले प्रतिस्पर्धामा कुनै असर पार्दैन्।'
अदालतको आदेश नमाने प्रत्येक खेलबापत फिफाले २ लाख रियाल अर्थात ९० हजार डलर जरिवाना तिर्नुपर्ने आदेश छ। फुटबलको सर्वोच्च निकायलाई प्रमाणित उपकरण प्रयोग गर्दै मौसम मापन गर्न अदालतले आदेश दिएको छ। ब्राजिलको खेलाडी युनियनले २४ वटै एक बजेको खेल समय परिवर्तन गर्न माग गर्दै कानुनी बाटो समातेका थियो। उच्च तापक्रममा खेलाडीको स्वास्थमा असर गर्ने युनियनको चिन्ता थियो।
दुई वर्षको अध्ययन पश्चात खेल तालिका प्रकाशित गरेको जनाउदै फिफाले १ बजे सुरु हुने खेल नसार्ने र कुलिङ ब्रेक अनिवार्य नगर्ने जनाएको थियो। फिफाले आफू खेलाडीको स्वास्थप्रति गम्भिर रहेको बताउदै आएको छ। अत्याधिक गर्मीका कारणले यसअघि फिफाले विश्वकपका ७ खेलको समय परिवर्तन गरेको इतिहास छ। ब्राजिलमा हिउँदे याम सुरु भए पनि १२ मध्ये धेरै आयोजक शहरमा अत्याधिक गर्मी हुने गरेको छ। विशेष गरी उत्तर पूर्व र उत्तरी क्षेत्रमा गर्मीको मात्रा बढी छ। एमेजोन जंगलको नजिक रहेको शहर मानसमा गर्मीले खेलाडीको प्रदर्शनलाई अझ बढि प्रभावित गरेको अनुमान छ। मानसमा भएको इटाली र इङ्ल्यान्डबीचको समूह चरणको खेलमा खेलाडी र प्रशंसकले उच्च तापक्रमको गुनासो गरेका थिए।

सुरुआत
पोर्चुगलका रेफ्री पेड्रो पोइन्साले नेदरल्यान्ड्स र मेक्सिको बीचको खेलमा कुलिङ ब्रेक दिएपछि विश्व फुटबलमा अर्को प्रयोग भएको थियो। त्यत्तिखेर फोर्टालेजाको तापक्रम ३८.८ डिग्री थियो। तीन मिनेट दिइने कुलिङ ब्रेकको समय इन्जुरी टाइममा जोडिने नियम छ, खेलको घँडी चाँही बन्द हुने छैन्। कुलिङ ब्रेकको स्वस्फूर्त सुरुआत भने पोर्चुगल र अमेरिकाबीचको समूह चरणको खेलबाटै भएको थियो। अदालतको आदेश आउनु अगाडीको उक्त समयमा अत्याधिक गर्मी भएपछि रेफ्रीले खेल रोकेर ब्रेक दिएका थिए।
यता इटालियन सञ्चारमाध्यमका अनुसार कुलिङ ब्रेक दिनुको कारण अर्कै छ। इटालीयन प्रशिक्षक सिजर प्रान्डेलीलले उच्च तापक्रम भएको विश्वकपमा 'वाटर ब्रेक' राख्न दिएको प्रस्तावलाई फिफाले स्वीकार गरेको उनीहरुको भनाई छ। एमाजोनिआको मानस क्षेत्रमा हुने खेलहरुमा सुरक्षित हुनका लागि प्रान्डेलीले यस्तो प्रस्ताव राखेका थिए। विशेष गरी युरोपेली क्षेत्रका टोलीलाई ब्राजिलको उच्च आद्रतामा खेल्न गाह्रो हुने अनुमान गरिएको थियो। ग्रुप अफ डेथ मानिएको समूहमा इटाली, इङ्ल्यान्ड, उरुग्वे र कोस्टारिका थिए। कोस्टारिकालाई अन्य तीन टोलीको तुलनामा निकै कमजोर मानिएको थियो। तर अमेरिका महाद्धिपका कोस्टारिका र उरुग्वेले इटाली र इङ्ल्यान्डलाई स्तब्ध पार्नुमा ब्राजिलको मौसमलाई एक कारण मानिएको थियो। कोस्टारिकाले उरुग्वे र इटालीलाई पराजित गर्नुका साथै इङ्ल्यान्डसँग बराबरी खेलेर समूह विजेता नै बन्यो।
'ब्राजिलका केही स्थानमा हुने उच्च तापक्रमलाई मध्यनजर गर्दै हामीले गरेको सवै निर्णय वैज्ञानिक अध्यनमा आधारित छन्, हामीले यो गर्मीको मौसममा टर्कीमा अध्यन गरेका थियौं, त्यस बखत हामीले एक खेलका दौरान खेलाडीको तापक्रम नापेका थियौं र त्यसको नतिजा बाहिर ल्याएका थियौं,' फिफाका स्वास्थ्य प्रमुख जिरी भोराकले यसको कारण दिएका छन्। तापक्रमको यही कारणले उच्च स्तरका स्वास्थ सामाग्री हरेक ब्राजिली रंगशालामा राखिएको थियो, जसमा स्वचालित छातिमा लगाउने उपकरणहरु छन्।
अमेरिकी महाद्धिपमा भएको पछिल्लो विश्वकपमा पनि उच्च तापक्रम र उच्च आद्रताको विषय प्रमुख मुद्धा बनेको थियो। १९९४ मा अमेरिकामा भएको विश्वकपमा युरोपलाई टेलिभिजनको प्रत्यक्ष प्रसारणको पायक समय मिलाउन मध्यान्हमा खेलहरु खेलाइएको थियो। सोही अनुरुप पहिलो पटक सवै खेलहरु प्रत्यक्ष प्रसारण गरिएका थिए। चर्को गर्मीमा खेलाडीमात्र होइन प्रशिक्षकहरु टच लाइनमा टाउकोमा आइस राखेर खेलाडीलाई निर्देशन दिइरहेका देखिन्थे। मेक्सिको र बेल्जियमको समूह चरणको खेलमा झन्डै २ सय दर्शकलाई गर्मीका कारण उपचार आवस्यक भएको थियो।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ असार २८ गते प्रकासित

No comments:

Post a Comment