Saturday, July 26, 2014

भारतलाई पोखरामा क्रिकेट रंगशाला बनाइदिन प्रस्ताव

परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा नेपालले क्रिकेट रंगशाला बनाउन भारतलाई प्रस्ताव गर्ने भएको छ। यसअघि भनिएको मुलपानी क्रिकेट रंगशालाको स्थानमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रस्ताव राखिने भएको छ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज बैठकका लागि शुक्रबार साँझ काठमाडौं आइसकेकी छन्। तीनदिने बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको नेतृत्व गर्नेछन्। सोही बैठकमा रंगशाला बनाउन नेपालले भारतलाई प्रस्ताव गर्न लागेको हो।
पोखरा रंगशालामा रहेको क्रिकेट मैदान। फाइल तस्विरः सुदर्शन रञ्जित
रंगशालाका लागि बैठकले भारतीय पक्षको सहयोगबारे टुंगो लगाउने छ। त्यसमा सहमति भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सम्झौता हुनेछ। मोदी साउन १८ मा दुईदिने भ्रमणका लागि नेपाल आउँदै छन्।
युवा तथा खेलकुद मन्त्रालयले गरेको प्रस्तावलाई परराष्ट्र मन्त्रालयबाट आधिकारिकता दिइएको छ। 'नेपालले भारतलाई क्रिकेट रंगशाला बनाइदिन प्रस्ताव गर्नेछ,' खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले नागरिकसँग भने, 'जग्गा नेपाल सरकारले उपलब्ध गराउने छ। विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) देखिको सबै खर्चमा बनाइदिन भारतसँग अनुरोध गर्न लागेका हौं।' सहमति भए पोखरा रंगशालामा रहेको क्रिकेट मैदान रंगशालामा परिणत हुनेछ।
सचिवका अनुसार त्यसका लागि १ अर्ब खर्च लाग्ने अनुमान छ। उनले त्यो सबै भारतसँग अनुरोध गरिने बताए। नेपालस्थित भारतीय दूतावाससँग क्रिकेट रंगशाला बनाउने विषयमा छलफल हुँदै आएको थियो। 'दूतावासले सरकारमार्फत आए सजिलो हुने बताएपछि हामीले त्यही आधारमा नेपाल–भारत वार्तामा क्रिकेट रंगशालालाई प्राथमिकतामा राखेका हौं,' पौडेलले भने, 'रंगशाला बन्ने सम्भावना धेरै छ। एउटाले मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव हुँदैन, त्यो हामीले बुझेका छौं। कम्तीमा अर्को एक मैदान चाहिन्छ।'
मुलपानीमा सरकारले लगानी गर्दै आएकाले भारतलाई पोखराको प्रस्ताव गरिएको खेलकुद मन्त्रालयले बतायो। 'मुलपानीमा सरकारले लगानी गर्दै आएको छ। यसपटकको बजेटमा पनि २० करोड छुट्याएको छ। आगामी बजेटमा पनि मुलपानी पर्ने सम्भावना छ, त्यसैले पोखरा प्रस्ताव गरिएको हो,' उनले भने, 'मुलपानीलाई नेपाल सरकारले आफै बनाउने छ। यस विषयमा अर्थ मन्त्रालयसँग मन्त्रीज्यू (पुरुषोत्तम पौडेल) को छलफल भइसकेको छ।'
नेपाल क्रिकेट संघ (क्यान) ले २००७ देखि अन्तर्राष्ट्रिय समुदायको सहयोगमा मुलपानीमा क्रिकेट मैदान बनाउन लागेको हो। त्यसयता सरकारले बजेटमार्फत झन्डै ७ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। त्यसका बाबजुद निर्माण कार्य निकै सुस्त छ।
पाँच वर्षअघि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा भारत भ्रमणक्रम मुलपानी क्रिकेट मैदानका लागि नेपालले १० करोड माग गरेको थियो। भारतीय क्रिकेट बोर्डका अध्यक्ष शरद पवारसँग भारत भ्रमणकै क्रममा नेपाली पक्षले सहयोग मागे पनि भारतले कुनै प्रतिक्रिया जनाएको थिएन।
काठमाडौंमै अर्को जग्गा नभएको तथा पर्यटकीय सहर पोखरा उपयुक्त भएकाले प्रस्ताव गरिएको स्पष्ट पार्दै खेलकुद मन्त्रालयका प्रवक्ता पनि रहेका पौडेलले भने, 'क्रिकेटसँगै पर्यटक भिœयाउनु पनि अर्को उद्देश्य हो। काठमाडौंमा मात्र सीमित नराखी पोखरामा पनि अन्तर्राष्ट्रिय क्रिकेट लानुपर्छ। प्रत्येक पयर्टकले नेपाल आइसकेपछि पोखरा हेर्ने चाहना गरेकै हुन्छन्। खेलकै माध्यमबाट पर्यटन प्रवर्द्धन पनि हुन्छ।'
उनले भने, 'अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनायौं भने तटस्थ भूमिका रूपमा नेपाल अगाडि बढ्न सक्छ। सरकारले ३–४ वटा अन्तर्राष्ट्रिय रंगशाला बनाइदियो भने त्यसले हाम्रो पर्यटनबाट आम्दानी ४० प्रतिसतले वृद्धि हुन्छ।' पहिलो चरणमा काठमाडौं र पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन लागिएको र पछि नेपालगन्ज, धरानमा थपिने खेलकुद मन्त्रालयको योजना रहेको उनले बताए।
खेलकुद मन्त्रालयले नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा प्रस्ताव गर्ने अर्को विषय युवा आदान–प्रदान हो। 'हामीले चीनसँग २ वर्षदेखि युवा आदान–प्रदान गरिरहेका छौं, श्रीलंकासँग अर्को वर्षबाट सुरु हुँदैछ, भारतलाई पनि अब यो प्रस्ताव गर्न लागेका हौं,' पौडेलले भने।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ साउन १० गते प्रकासित

No comments:

Post a Comment