Wednesday, July 30, 2014

बार्सिलोनामा निखारिदैं आइभनो

बिहान दुई घन्टा प्रशिक्षण। अर्को दुई घन्टा फिटनेस प्रशिक्षण। त्यसपछि बिहानको भोजन। दिउँसो साढे २ बजेदेखि फेरि प्रशिक्षणमा। १ घन्टा पुनः फिटनेस। बेलुका साढे ५–९ बजेसम्म स्कुलमा पढाइ।
नेपाली युवा टेनिस खेलाडी आइभनो लिसानेभिचको दुई वर्षको दैनिकी स्पेनमा यसरी नै चलेको छ। तीनमहिने बिदामा नेपाल आएका आइभनोको प्रशिक्षण काठमाडौंमा पनि जारी छ। बिहान दुई घन्टा खेल्ने। त्यसपछि खाना। अनि साढे १ घन्टा जिममा फिटनेस प्रशिक्षण।

यसैलाई आइभनो टेनिसमा नेपाल र विदेशको भिन्नता देख्छन्। 'नेपालमा दिनभर विद्यालय जानुपर्ने बाध्यता छ, त्यही भएर अहिलेको आधुनिक प्रशिक्षण स्वीकार्न गाह्रो छ,' विदेशमा भोगेको पक्ष उनी यसरी तुलना गर्छन्, 'हाम्रो र उनीहरूको स्तरमा खासै फरक छैन। प्रयास गर्नुपर्छ। गाह्रो भए पनि नसकिने होइन। अरु देशको जस्तो सुविधा नहोला। प्रयास जारी राख्दै हरेश नखाने हो भने नेपाली खेलाडी पनि माथिल्लो स्तरमा जान सक्छन्।'
आइभनोले टेनिस खेल्न थालेको ८ वर्ष भयो। ६ वर्षको कलिलो उमेरमै र्‍याकेट उचाले। पहिलोपल्ट मनजयकर टेनिसमा १० वर्षतर्फ प्रतिस्पर्धी भए। स्पेन जानुअघि उनले उमेर समूहको प्रतियोगितामा सहभागिता जनाइरहे। ३–४ पटकमात्र हारेको उनलाई हेक्का छ। आफ्नो उमेरमा हारेका पनि छैनन्। बढी उमेरका खेलाडीसँग मात्र आफू हारेको उनी बताउँछन्।
नेपालमा उनका गुरु शरद लामा हुन्। सन् २०११ र १२ मा उनले म्यानमार, बंगलादेश, भारतमा गएर आइटिएफ यु–१४ मा नेपालको प्रतिनिधित्व गरेका थिए। बंगलादेशमा भएको प्रतियोगितामा पाँचौं स्थान हात पार्नु उनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो सफलता हो।
दुई वर्षयता उनले बार्सिलोनास्थित ब्रुगेरा टेनिस एकेडेमीमा प्रशिक्षण गर्नुका साथै पढिरहेका छन्। दुईपटकका फ्रेन्च ओपन च्याम्पियन सर्गी ब्रुगेराको बुबाले चलाएको एकेडेमी हो यो। सर्गी कहिलेकाँहि आइभनोलाई प्रशिक्षण दिन आउँछन्। अन्य बेला उनलाई अरुले नै प्रशिक्षण दिइरहेका हुन्छन्। सर्गी अधिकांश समय फ्रेन्च खेलाडी रिचार्ड ग्यास्क्वेटलाई प्रशिक्षण दिनमै व्यस्त हुन्छन्। एकसमय विश्वका सातौं वरियतामा रहेका ग्यास्क्वेट आफ्ना गुरुको एकेडेमीमा पनि सिक्न आउँछन्। त्यसबेला जम्काभेट हुँदा आइभनोसँग उनको हाई–हेलो चल्छ।
ब्रुगेरा एकेडेमीमा एकवर्षे कोर्स हो। आइभनो त्यही एकेडेमीमा अझै दुई वर्ष टेनिस सिक्नुका साथै पढाइ सिध्याउने प्रयासमा छन्। ११ मा पढिरहेका उनको त्यसपछि अमेरिकामा खेल्ने र प्वाइन्टहरू पाएर एटिपी टेनिसमा छिर्दै लगातार प्रतियोगिता खेल्ने महŒवाकांक्षी लक्ष्य छ। 'स्पेनमा गएपछि मेरो खेलमा धेरै सुधार भएको छ। स्पेनमा अवसर धेरै छ। अवसर धेरै पाउँदा खेलमा निरन्तर लगाव हुन्छ,' आइभनोले भने।
आफ्नै खर्चमा स्पेन पुगेका उनलाई अहिले फर्नान्डो लुना र सर्जी गायेयाले प्रशिक्षण दिइरहेका छन्। लुना विश्व वरियतामा शीर्ष २५ भित्र रहिसकेका खेलाडी हुन् भने गायेया अर्का पूर्व व्यावसायिक टेनिस खेलाडी हुन्। उनले पहिलो वर्ष बार्सिलोनामा छ वटा स्थानीय प्रतियोगिता खेले, जहाँ एटिपीमा २ सय देखि ३ सय वरियताप्राप्त खेलाडी प्रतिस्पर्धा गर्थे। पुरुषतर्फ आफू दुईपटक सेमिफाइनल पुगेको उनी बताउँछन्।
यो सत्रमा उनले जुनियरमा मात्र खेले। तीनपल्ट फाइनल पुग्दा एउटा जिते। एकेडेमीमा उनी उत्कृष्ट खेलाडीभित्र पर्दछन्। 'स्पेनमा टेनिसको आकार ठूलो छ, जताततै टेनिस कोर्ट छ। बूढाहरू पनि खेलिरहेका हुन्छन्, बार्सिलोनामा मात्र हप्तामा एउटा प्रतियोगिता हुन्छ,' उनी नेपालमा टेनिस विकास गर्न त्यस्तै संस्कार विकास गर्नुपर्ने बताउँदै भन्छन्, 'नेपालमा त मुस्किलले वर्षमा ३–४ प्रतियोगिता खेल्न पाइन्छ।'
स्पेन पुगिसकेकाले बार्सिलोना क्लबको फुटबल खेल हेर्न आइभनो जस्ता युवा खेलाडीको रहर हुनु स्वाभाविक हो। अर्जेन्टिनी स्टार लियोनल मेसीले ह्याटि्रक गरे। बार्सिलोनाले ओसासुनालाई ठूलो अन्तरमा पराजित गर्‍यो। उनी त्यसमा निकै रमाए अनि विगततर्फ फर्किए, 'म १२ वर्षको हुँदासम्म फुटबल र टेनिस दुवै खेल्थें। एकदिन प्रशिक्षकले दुईमध्ये एक खेल रोज्नु भनेपछि म टेनिसमा केन्द्रित भएको हुँ।'
१६ वर्षे आइभनो ब्याकहयान्ड स्ट्रोकमा निपूण छन्। बेसलाइनमा खेल्न मन पराउँछन्। तर सर्भ एन्ड भलीमा उनी राम्रो खेल्छन्। एकलमा यो धेरै छिटो हुने हुनाले आइभनो सर्भ एन्ड भलीका लागि डबल्स खेल्न मन पराउँछन्।
एसियाडबाट बाहिरिँदाको पीडा
स्पेनबाट काठमाडौं फर्किएपछि आइभनोले बोरिस लिसानेभिच जुनियर प्रतियोगिता खेले। आफ्नै हजुर बुबाको नाममा आयोजित प्रतियोगितामा उनले यु–१८ एकल र डबल्सको उपाधि जिते। तर एसियाली खेलकुदमा खेल्न पाएनन्। लुम्बिनी राष्ट्रिय प्रतियोगिता नखेलेका कारण उनलाई एसियाडको छनोटमै सहभागिता हुन दिइएन। लुम्बिनी राष्ट्रिय प्रतियोगिता हुँदा आइभनो स्पेनमै थिए।
'एसियाड खेल्ने मेरो ठूलो धोका थियो, धेरै पहिलादेखि यसलाई कुरिरहेको थिएँ,' आइभनोले भने मलाई टेनिसमा धेरै टाढा जान मन छ। त्यसमा एसियाली खेलकुदलाई मैले पहिलो कदमका रूपमा लिएको थिएँ,' दिदी अस्लेशा ४ वर्षअघि ग्वाङझाउ एसियाडमा टिम इभेन्टमा सेमिफाइनल पुगेको क्षणलाई उनी आदर्शका रूपमा लिन्छन्।
नेपाल आउनुअघि आइभनोले बार्सिलोना ओपन टेनिसका लगभग सबै खेल हेरे। आठपटक प्रतियोगिता जितिसकेका स्पेनकै राफेल नाडाल क्वार्टरफाइनलमै हारे। आइभनोको प्रिय खेलाडी भने स्विट्जरल्यान्डका रोजर फेडरर हुन्। तर नाडालले हरेश नखाई अगाडि बढाइरहेको यात्रालाई उदाहरण बनाउँदै आइभनो एसियाडको निराशा मेटाउने प्रयासमा छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ साउन १४ गते प्रकासित

No comments:

Post a Comment