Monday, October 13, 2014

अमृतको पुनरागमन

देब्रेहाते मध्यमत गतिका बलर अमृत भट्टराईलाई यति चाँडैं मैदानमा फर्किन्छु जस्तो लागेको थिएन्। एक महिना अगाडीसम्म उनी आफ्नो चोट ग्रस्त घुँडालाई लिएर अन्यौल थिए। शल्यक्रिया गरेको भए अमृत महिनौं मैदान बाहिर रहन सक्थे।
मेमा एसिसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि क्याम्पमा बलिङ गर्दा अमृतको घुँडा दोबरिएको थियो। एमआरआइ गर्दा उनको एसिएल पार्सल पूर्णरुपमा च्यातिएको देखिएको थियो। यस्तोमा उनीसँग शल्यक्रियाको विकल्प थिएन्। 
डा. चक्रराज पाण्डेसँग ग्रान्डी अस्पतालमा उपचार गराउदै अमृत भट्टराइ

अमृत ग्रान्डी इन्टरनेश्नल अस्पताल पुगे। त्यहाँ डाक्टर चक्रराज पाण्डेले उनको क्लिनिकल चेक गर्दा घुँडाको एसिएल पार्सल पूर्णरुपमा नच्यातिएको बताए। ग्रान्डीमै अमृतले ३ हप्ता रिहयाबमा बिताए। आफ्ना साथीहरु मैदानमा अभ्यास गरिरहँदा उनी जगिङ गरिरहेका हुन्थे।
रिहयाबपछि फेरी एमआरआई गर्दा हलुका च्यातिएको नै थियो। 'डाक्टर पाण्डेले शल्यक्रिया गर्न पर्दैन, म तिमिलाई रिहयाब गरेर नै पूर्ण फिट भएर खेल्ने बनाइदिन्छु भनेर मलाई बचन दिनु भयो,' अमृतले भने, 'त्यसै कारण आज म फेरी नेपाली टोलीमा फर्किन सफल भएको हुँ।'
नेपालको व्यस्त अन्तर्राष्ट्रिय सत्रमा उनको पुनरागमनलाई लिएर नेपाली क्रिकेटलाई पनि उत्साहित बनाएको छ। तीब्र बलरहरु चोटले थलिदा प्रशिक्षक पुबुदु दासानायके पनि हैरान छन्। जितेन्द्र मुखिया र अविनाश कर्ण चोटकै कारण लामो समय देखि मैदान बाहिर रहँदा अमृतको आगमनले पुबुदु र नेपाली टोलीलाई पनि हौस्याएको छ।
मलेसिया अक्टोबर २३ मा सुरु हुने विश्व क्रिकेट लिग डिभिजन ३ का लागि तयारीको क्रममा अमृत नेपाली टोलीसँगैं श्रीलंका पुगिसकेका छन्। अमृत भन्छन, 'म फिट छु, मलाई अहिले घुँडामा कुनै समस्या छैन। जुन किसिमको चोट मलाई लागेको थियो, त्यो हिसाबमा यति छिटो नेपाली टोलीमा फर्किन्छु जस्तो लागेको थिएन्। रिहयाबले मलाई नया शक्ति दिएको छ।'

दुई वर्षअघि मलेसियामै भएको डिभिजन ४ मा अमृतले सिंगापुरविरुद्धको पहिलो खेलमा ४ विकेट लिदैं म्यान अफ द म्याच प्रदर्शन गरेका थिए। अहिले त्यहि मलेसियामा गएर नया इनिङ सुरु गर्नुलाई अमृत एउटा रमाइलो संयोग मान्छन्। तर उनका लागि मैदानमा उत्रिनु ठुलो विषय हो। गत वर्ष नोभेम्बरमा युएईमा विश्व ट्वान्टी–२० छनोट यता उनले नेपालबाट खेलेका छैनन्। जबकी उनी टोलीमा नियमीत जस्तो थिए।
'मलाई ट्वान्टी–२० मा भन्दा ५० ओभरमा राम्रो बलिङ गर्छु जस्तो लाग्छ,' अमृतले भने, 'म तीब्रभन्दा स्विङ बल गर्छु। स्विङलाई कायम राख्दै लाइन र लेन्थ मा बलिङ गर्ने हुनाले ५० ओभरको खेल मलाई सुहाउछ। ५० ओभरमा मैले राम्रो प्रदर्शन गर्दै आएको पनि छु।'
२००७ मा हङकङसँग काठमाडौंमा तीनदिवसीयबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका अमृत भट्टराई उमेर समूहको प्रतियोगितामा अझ छाएका थिए। २००५ मा युएईमा एसिसी यु–१५ कप जित्दाका सदस्य अमृतले सोही वर्ष नेपालमा भएको एसिसी यु–१९ कपमा नेपाललाई उपाधि दिलाउदा १३ विकेट लिएका थिए।
मलेसियामा २००८ को आइसिसी यु–१९ विश्वकपले अमृतको प्रतिभालाई अझ उचाईमा पुर्‍याइ दियो। उनले ४ विकेट लिदा नेपालले पहिलो खेलमा श्रीलंकालाई ५८–४ को स्थितिमा पुर्‍याइदिएको थियो। प्रशिक्षक अरबिन्द डी सिल्भा र प्रतियोगितामा श्रीलंकाको खेल हेर्न आएका अर्का पूर्वकप्तान अर्जुना रणतुंगा नेपाली टोली र तीब्र बलर अमृतको खेलबाटै पूरै प्रभावित थिए। नेपालले खेल जित्न नसके पनि रणतुंगाले अमृतको बारेमा खेलपछि भनेका थिए, 'यति राम्रो देब्रेहाते तीब्र बलर यु–१९ मा श्रीलंकामै छैन।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ असोज २७ गते प्रकासित

No comments:

Post a Comment