Wednesday, October 22, 2014

दावेदार नेपाललाई सजिलो छैन डिभिजन ३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्व क्रिकेट लिग डिभिजन ३ युगान्डामा गर्ने तय गरिसकेको थियो। यस्तोमा नेपालले युएईमा त्यसका लागि तयारी गर्ने योजना बुन्दै थियो।
आइसिसीको ग्लोबल एकेडेमी मैदानमा नेपालले अभ्यास खेल खेल्ने सम्भावना बन्यो। तर युएईले एकदिवसीय विश्वकप तयारी भनेर दोस्रो टोलीमात्र नेपालसँग उतार्ने जनायो। आइसिसीले डिभिजन ३ मै खेल्ने बर्मुडासँग पनि अर्को अभ्यास खेल खेल्न भन्यो।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रशिक्षक पुबुदु दासानायकेले दुवै अभ्यास खेल खेल्न मानेनन्। नेपालसँग युएई नै पछिल्ला खेलहरूमा पराजित हुँदै आएकाले टोलीको दोस्रो टिमसँग खेल्दा कुनै तयारी नहुने र बर्मुडा आफ्नो स्तरअनुरुप नरहेकाले दासानायकेले त्यसलाई अस्विकार गरेका थिए। तर सुरक्षाका कारण युगान्डाबाट डिभिजन ३ मलेसियामा सरेपछि नेपालले अभ्यासका लागि श्रीलंका रोज्नुपरेको थियो।
युएईको दोस्रो टोली र बर्मुडा आफ्नो स्तरका नभएकाले दासानायके खेल्न नमानेकोले पुष्टि हुन्छ नेपाल बिहीबार मलेसियामा सुरु हुने डिभिजन ३ मा दाबेदार राष्ट्र हो भनेर। गत वर्ष मे महिनामा बर्मुडामा भएको डिभिजन ३ जितेकाले पनि नेपाललाई दाबेदार मानिएको हो।
'हामी प्रतियोगिता जित्नेमा आशावादी छौं, बढी आत्मविश्वासी छैनौं,' नेपाललाई दाबेदार मानिएको विषयमा प्रशिक्षक दासानायकेले भने। दासानायके सचेत हुनुको अर्को कारण बर्मुडामा नेपाल पहिलो दुई खेल हारेर पनि प्रतियोगिता जित्यो। धेरै हदसम्म नेपाललाई भाग्यले साथ दिएको थियो। अमेरिका र युगान्डासँग हारेको नेपालले त्यसपछिका चारै खेल जितेको थियो। फाइनलमा नेपालले युगान्डालाई नै पराजित गरेको हो।
तर जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि नेपाल रेलिगेसन परेको थियो। अन्तिम खेलमा युगान्डामाथिको विजय प्रतियोगितामा नेपालको सान्त्वनामात्र थियो।
डिभिजन ३ विजेताले जनवरीमा नामिबियामा हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्नेछ। डिभिजन २ मा केन्या, क्यानाडा, नामिबिया र नेदरल्यान्ड्स छन्। डिभिजन २ को फाइनल पुग्ने टोलीले प्रथम श्रेणीको क्रिकेट खेल्न पाउँछन्। दासानायकेको लक्ष्य प्रथम श्रेणी खेल्ने एसोसिएट राष्ट्रको शीर्ष टोली बन्नेछ।
त्यसका लागि डिभिजन ३ पन्छाउनु नेपाललाई अहिलेको टड्कारो आवश्यकता हो। नेपाल अन्य टोलीसँग परिचित टोली हो। अमेरिकासँग नेपालले पछिल्लो ६ वर्षमा ९ खेल खेलिसकेको छ। मलेसिया नेपालको परम्परागत प्रतिद्वन्द्वी हो। दुई वर्षअघि मलेसियामा सम्पन्न डिभिजन ४ मा नेपालले घरेलु टोलीलाई १० विकेट र सिंगापुरलाई सजिलै हार चखाएको थियो। बमुर्डा आफ्नै मैदानमा नेपालसँग घुँडा टेकेको छ।
विगत जस्तो यसपटक नेपालको तयारी राम्रो थिएन। अघिल्लो महिना दक्षिण कोरियामा एसियाली खेलकुद परेकाले नेपालले ५० ओभरको खेलमा खासै भिज्न पाएन। ट्वान्टी–२० स्वरुपको एसियाड तयारीमा पनि नेपालले डिभिजन ३ लाई ध्यानमा राख्दै ५० ओभरको खेलमा केन्द्रित गरेको दासानायकेले बताएका थिए। सोही कारण नेपाल श्रीलंकामा ३ अभ्यास खेल खेल्दै मलेसिया पुगेको हो। मेमा मलेसियामै एसिसी प्रिमियर लिग खेलेयता नेपालले श्रीलंकामा पहिलोपल्ट ५० ओभर खेलेको हो।
मलेसिया, अमेरिका र युगान्डा नेपालको ठूलो चुनौती हुनसक्ने अनुमान गरिएको छ। मलेसिया यस वर्ष डिभिजन ५ को फाइनलमा पुग्नुका साथै डिभिजन ४ जितेर राम्रो लयमा छ। एसिसी प्रिमियर लिगमा मलेसियाले अफगानिस्तानलाई नै पराजित गरी सनसनी मचाएको थियो। विश्व ट्वान्टी–२० छनोटक्रममा नेपाली टोलीका भिडियो एनालिस्ट श्रीराम सोमायाजुला अहिले मलेसियाली टोलीमा छन्। एसोसिएट राष्ट्रबारे उनी राम्रो जानकार हुनाले मलेसियाका लागि त्यो लाभदायी मात्र नभएर नेपालका लागि खतरा पनि हुनसक्छ।
अमेरिकाले नेपालसँग डिभिजन ५, ४ र ३ मा १–१ गरी ३ खेल जितेको छ। युगान्डासँग अघिल्लो वर्ष डिभिजन ३ को पहिलो खेलमै पराजित भएकाले मलेसियामा नेपाल ढुक्क हुने स्थितिमा छैन।
लावसन फ्याक्टर
वेस्ट इन्डिजबाट जेर्माइन लावसनले टेस्ट र एकदिवसीय दुवैमा प्रतिस्पर्धा गरिसकेका छन्। २००५ मा पछिल्लोपल्ट उनले क्यारेबियन टोलीबाट खेलेका थिए। न्युयोर्क टाइम्सले अघिल्लो महिना लेखेको थियो, '२०१० को अन्ततिर उनको खेलजीवन धर्मराउनुअघि लावसनले आफ्नो प्रदर्शनले क्रिकेटजगतमा तहल्का मच्चाएका थिए।'
सन् २००२ मा भारतविरुद्ध चेन्नईमा आफ्नो 'डेब्यु' टेस्टमा लावसनले राहुल द्रविड र सचिन तेन्दुलकरलाई बोल्ड गरेका थिए। एक वर्षभित्रमै लावसन विश्वका उत्कृष्ट तीब्र बलरमा गनिसकेका थिए। उनले आफ्नो तेस्रो टेस्टमै बंगलादेशविरुद्ध ३ रनमा दिएर ६ विकेट लिएका थिए। सोही वर्ष उनले एन्टिगुवामा अस्ट्रेलियाविरुद्धको टेस्टमा ७८ रन खर्चेर ७ विकेट लिँदै खेलजीवनको उत्कृष्ट प्रदर्शन दिए। लावसनको यो प्रयासमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको थियो।
अमेरिकाका बलर जेरमाइन लावसन। तस्विरः क्रिकइन्फो
कुल १३ टेस्ट खेल्नेक्रममा उनले ५१ विकेट लिए। वेस्ट इन्डिजबाट १७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका जमैकाका लावसनले १७ विकेट आफ्नो पोल्टामा पारेका थिए। २००४ मा च्याम्पियन्स ट्रफी खेल्न जाँदा उनी घाइते हुन पुगे। साथै उनको बलिङ एक्सनमा पनि आशंका उब्जिएपछि उनको खेलजीवन धर्मराउन पुगेको थियो।
यसअघि वेस्ट इन्डिजकै पूर्वटेस्ट खेलाडी निल म्याकगारेलको अनुभवअगाडि नेपाल पछिल्लो डिभिजन ३ मा अमेरिकासँग पराजित हुनपुगेको थियो। चार दशकको उमेर भए पनि उनले ३ विकेट लिएपछि गत वर्ष बर्मुडामा भएको डिभिजन ३ मा अमेरिकाले नेपाललाई ९४ रनले पराजित गरेको थियो।
'विपक्षीका कुनै व्यक्तिगत खेलाडीलाई लिएर हामी चिन्तित छैनौं,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले लावसनबारे भने, 'नेपाल एउटा टोलीका रूपमा कुनै पनि टोलीसँग खेल्न तयार छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक ५ गते प्रकासित

No comments:

Post a Comment