Thursday, October 23, 2014

युगान्डासँग निरन्तरताको लक्ष्य

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बिहीबार मलेसियामा सुरु हुँदा नेपाल र युगान्डाले पुरानै भेटलाई निरन्तरता दिने छन्। यसबाहेक अमेरिका, मलेसिया, बर्मुडा र सिंगापुरको चुनौती पनि यी दुई टोलीसामू छ।
गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए। नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो। 
नेपाली टोलीका कप्तान पारस खड्कासहित अन्य पाँच देशका कप्तान डिभिजन ३ ट्रफीका साथ । तस्विरः आइसिसी

तर जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नेपाल नवौं र युगान्डा दसौं भएपछि रेलिगेसनमा परेका थिए। १८ महिनाको अन्तरमा नेपाल र युगान्डा चौथोपल्ट एकअर्काविरुद्ध भिड्दै छन्। अमेरिका र बर्मुडा बिहीबारकै अर्को खेलका प्रतिस्पर्धा हुन्। पहिलो दिन घरेलु टोली मलेसियाले छिमेकी सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ।
क्वालालम्पुरस्थित किनरारा एकेडेमीमा युगान्डासँग खेलेको भोलिपल्ट नेपालले बर्मुडासँग खेल्नेछ। पछिल्लो डिभिजन ३ को विजेता पनि रहेकाले नेपाल दाबेदार मानिए पनि कप्तान पारस खड्का मलेसियामा सबै टोली डिभिजन २ मा उक्लन प्रयासरत रहेकाले कसैलाई कमजोर आँक्न नहुने बताउँछन्।
युगान्डा र बर्मुडासँगको पहिलो दुई खेलले नेपालको दाबेदारिता कुन स्थितिमा पुर्‍याउँछ भन्ने स्पष्ट हुनेछ। तर पारस र प्रशिक्षक पुबुदु दासानायके प्रत्येक खेलसँगै अगाडि बढ्ने बताउँछन्। 'प्रत्येक टोली अन्य राम्रो प्रदर्शन गर्न तयार भएर बसेका छन्। सबै राम्रो प्रदर्शन गर्न आतुर छन्, त्यसैले हामी एकपटकमा एउटै खेलप्रति केन्द्रित छौं,' पारसले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वेबसाइटसँग भने, 'हाम्रा लागि यो राम्रो अवसर हो। हामीले पछिल्लोपल्ट पनि डिभिजन ३ खेलेका थियौं, त्यसले यो उत्साहजनक चुनौती हो।'
युगान्डाका कप्तान फ्रान्क एनसुबुगोले नेपालसँग कठिन खेल खेल्नुपर्ने राम्रोसँग बुझेका छन्। उनले भने, 'मलाई लाग्छ यो खेल निकै कठिन हुनेछ। हामीले नेपालसँग तीनपटक खेलिसकेका छौं, त्यसैले नेपालसँगको खेल सहज नहुने बुझेका छौं। नेपालसँगको खेल हामीले पर्खेर बसिरहेका छौं र निकै मिहिनेत गरेर खेल्नुपर्छ।'
दासानायकेले अन्य टोलीको तयारीबारे अनभिज्ञता जनाए। उनले नागरिकसँग भने, 'अन्य टोलीको तयारीबारे मलाई केही थाहा छैन। तर हामी प्रतियोगिताको उत्कृष्ट टोली हौं र त्यसैले हामी यसपल्ट उत्कृष्ट प्रदर्शन गर्नेछौं।'
गत वर्ष डिभिजन ३ मा नेपालले बर्मुडालाई पराजित गरेको थियो। अमेरिका र युगान्डासँग पहिलो दुई खेल हारेको नेपालले फाइनलमा पुग्न अन्तमा बर्मुडाकै सहारा लिएका हो। बर्मुडाले समूह चरणको अन्तिम खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेपछि मात्र नेपालको फाइनल पक्का भयो।
त्यसैले कप्तान पारस यसप्रति सचेत छन्। नेपालले बर्मुडासँगको खेल सजिलै जित्ने अनुमान लगाइरहँदा पारसले भने, 'एउटा सामन्य पक्ष के भने हामीले राम्रो खेल्नुपर्छ। यहाँ धेरै राम्रा टोलीहरू छन्। क्रिकेटमा कसैलाई सजिलो लिनु हुँदैन। त्यसैले सबैले आफ्नो शक्ति लगाएर खेल्नुपर्छ। यदि हामीले आफ्नो शक्ति देखाउन सक्यौं भने नतिजा हाम्रो अगाडि सकारात्मक भएर आउँछ।' २००७ को विश्वकप खेलिसकेको भए पनि बर्मुडाको प्रदर्शन त्यसयता खस्कँदो छ।
नेपाललाई मलेसियाको मैदान दोस्रो घरेलु मैदानजस्तै हो। मे महिनामा मलेसियामा सम्पन्न एसिसी प्रिमियर लिगमा नेपालले विश्वकपमा छनोट भएको युएईलाई पराजित गरेको थियो। दुई वर्षअघि नेपालले डिभिजन ४ मा सबै खेल जित्दै उपाधि जितेको थियो। वसन्त रेग्मी २१ विकेट लिँदै म्यान अफ द सिरिजमा चुनिएका थिए। उनले विश्व क्रिकेट लिगको एकै प्रतियोगितामा सर्वाधिक लिने कीर्तिमान बनाएका थिए।
'अमेरिका, बर्मुडा र युगान्डाजस्ता राष्ट्र एसियाली भूमिमा खेल्न आउँदै छन्, जबकि यहाँको कन्डिसन हाम्रा लागि सुहाउँदो छ,' नेपाली खेलाडीले एसियाली वातावरणको फाइदा उठाउनेमा दासानायके आशावादी छन्।
डिभिजन ३ आइसिसीको प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहोदसीय कप र २०१९ को विश्वकपको छनोट प्रतियोगिता पनि हो। डिभिजन ३ का शीर्ष दुई टोली डिभिजन २ मा छनोट हुनेछन्। डिभिजन २ जनवरीमा नामिबियामा हुँदैछ, जहाँ नामिबियासहित, केन्या, नेदरल्यान्ड्स र क्यानडा डिभिजन ३ को शीर्ष दुई टोलीलाई पर्खेर बसिरहेका छन्। डिभिजन २ को फाइनलमा पुग्ने टोलीले २०१९ को एकदिवसीय विश्वकपको छनोट बाटो रहेको विश्व क्रिकेट लिग च्याम्पियसिपमा पनि खेल्न पाउनेछ।
'हामी आइसिसी अन्तरमहादेसीय कपमा खेल्न चाहन्छौं, यो माथिल्लो चरणमा पुग्ने खुड्किलो हो र यसको सुरुआत डिभिजन ३ बाट हुनेछ,' पारसले भने, 'मलाई लाग्छ त्यो स्तरमा पुग्न हामीसँग प्रतिभा र प्रदर्शन छ। हामीबाट धेरै आशा पनि गरिएको छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक ६ गते प्रकाशित


No comments:

Post a Comment