Thursday, July 5, 2012

मनकारी रतन


व्यवसायका हिसाबले एक उद्योगी भए पनि रतन टण्डनको परिचय बढी खेलकुदमा खुल्छ। टन्डनलाई नेपाली खेलकुदको एक दानवीरभन्दा फरक पर्दैन। मध्यपश्चिमको शान राख्दै चौथो राष्ट्रिय खेलकुद नेपालगन्जमा सम्पन्न गर्दा होस् वा गत वर्ष दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप गर्दा। दुवै पटक टण्डनले व्यक्तिगत लगानी गरेका थिए।
झन्डै डेढ दसक अवरुद्ध राष्ट्रिय खेलकुदको चौथो संस्करण आयोजना गर्दा उनले व्यक्तिगत पहलमा लाखौं खर्च गरेको देख्नेहरू अझै जिब्रो टोक्छन्। 'लगानी गरेपछि त्यसको प्रतिफल अवश्य पाइन्छ,' बुधबार नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस विशेष अवार्ड टन्डनले पाएपछि भने, 'मैले अहिले त्यसको प्रतिफल पाएको छु।'

नेपाली खेलकुदको लगानीमा लाखौं लाख खर्च गरिसकेका टण्डनका लागि पैसा ठूलो कुरा थिएन। अवार्डसँगै पाएको नगद ३० हजार उनले क्यान्सर रोगसँग जुझिरहेका ओलम्पियन एवं पूर्वभारोत्तोलक कीर्तिमानी खेलाडी सुरेन्द्र हमालका नाममा मञ्चकै बाँके शाखाले स्थापना गरेको खेलाडी कल्याण कोषमा थप रकमसहित जम्मा गरिदिने घोषणा गरे।
'कर्म गर फलको आश नगर, कर्म गरिरहे मीठो फल पाइँदो रहेछ,' टण्डनले अवार्ड पाएपछि भने, 'अहिले मैले कर्मकै फल पाइरहेको छु, मेरो ४० वर्षको खेलजीवन यात्रामा सम्भवत सबैभन्दा ठूलो पुरस्कार हो।' राज्यका निकाय खेलाडी तथा खेलकर्मी पुरस्कृत गर्ने सवालमा मौन रहेकोमा उनले असन्तुष्ट जनाए।
दुई दशक राष्ट्रिय खेलकुद परिषद्मा सदस्य रहेका उनी एक कार्यकाल नेपाल ओलम्पिक कमिटीको सदस्य पनि भए। हाल नेपाल भारोत्तोलन संघको अध्यक्ष टण्डन नेपालगन्जमा आयोजना भएका र हुने सबैजसो खेल प्रतियोगितामा सक्रिय हुन्छन्।
आफ्नै ठाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लगानी गर्नु उनको प्रमुख विशेषता हो। एकसमय नेपाली ब्याडमिन्टनमा प्रतिष्ठित प्रतियोगिता महेन्द्र मेमोरियल अन्तर्राष्ट्रिय ब्याडमिन्टन, कृष्णगोपाल टण्डन प्राइज मनी ब्याडमिन्टन उनैले सुरुआत गरेका थिए।
नेपाली खेलकुद राजनीति केन्द्रित भएपछि उनी केही समय निष्त्रि्कय भएर बसे। धेरैको अनुरोधपछि टन्डन गत वर्ष नेपाल भारोत्तोलन संघको नेतृत्व सम्हालेका थिए। टन्डनले लगत्तै नेपालगन्जमा दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपको आयोजना गरेर आफ्नो खेलप्रतिको मोहलाई जागरुक गराए। उनी दक्षिण भारोत्तोलन महासंघमा उपाध्यक्ष पनि हुन्।
सोही साफ भारोत्तोलन च्याम्पियनसिपमै स्वर्ण जितेकी तारादेवी पुन वर्षको उत्कृष्ट महिला खेलाडी बन्दा टन्डनले आफूलाई अझै बढी गौरवान्वित ठाने। 'आफ्नै पहलमा भएको प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा उत्कृष्ट महिला खेलाडी चुनिनुमा अझै गौवान्वित महसुस गरे,' ६६ वर्षे टन्डन भने, 'खेलकुदमा मेरो यात्रा रोकिँदैन।'
नागरिक राष्ट्रिय दैनिकमा बिहीबार प्रकासित

No comments:

Post a Comment