Thursday, July 19, 2012

समस्याग्रस्त तयारी

अन्तर्राष्ट्रिय स्पर्धामा खेल्न जानुअघि नेपाली क्रिकेटसँग समस्यामात्र हुन्छ। आइसिसी यु–१९ विश्वकप र विश्व क्रिकेट लिग डिभिजन ४ जस्ता मुख्य प्रतियोगिता अघि नेपालसँग योजना धेरै छन्। मनसुनले गर्दा अभ्यास गर्न नपाउनु र राष्ट्रिय प्रतियोगिताबिनै मुख्य प्रतियोगिता खेल्न लाग्नु नेपालको यसपटकका मुख्य समस्या हुन्। 
साउने झरीले १० दिनदेखि बन्द प्रशिक्षणमा रहेको यु–१९ टोलीले राम्रोसँग अभ्यास गर्न पाएको छैन। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको विकेट कभरले छोपिएको छ। बाँकी मैदान पानी जमेर हिलो भएको छ। अस्ट्रेलियामा अगस्ट ११ बाट सुरु हुने यु–१९ विश्वकपको समय छोट्टिदै आउँदा नेपाली टोलीको जिममै धेरै समय सीमित छ। 

'म यसमा खासै गुनासो गर्दिन। थोरै भए पनि अभ्यास गरिरहेका छौं। सुख्खा भएको भए हाम्रो तयारी छुट्टै हुन्थ्यो। राम्रो तयारी हुन सकेको छैन, त्यसको मतलव शून्य नै हो भने पनि होइन्,' प्रशिक्षक पुबुदु दासानायकेले भने, 'हामी उत्कृष्ट रुपमा तयारी गर्न चाहन्थ्यौं। यही मौकामा मानसिक तयारी गरिरहेका छौं। सामान्य स्थिति भएको भए नेटमा अभ्यास गरेर राम्रो तयारी गर्ने थियौं।' 
उनले अस्ट्रेलिया जानुभन्दा केही समयअघि श्रीलंका गएर तयारी गर्ने योजना भिसा आवेदनका लागि तीन हप्ता लाग्ने भएपछि परित्याग गरिएको जनाए। यु–१९ टोलीले अहिले आठ दिनअघि अस्ट्रेलिया जाने तयारी गरेको छ। क्यानाडेली प्रशिक्षक दासानायके भन्छन्, 'डर्बिनमा गएर त्यहाँको स्थानीय क्लबसँग २ अभ्यास खेल खेल्ने छौं र ५ दिन अभ्यास गर्नेछौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)  र एसियाली क्रिकेट परिषद (एसिसी) ले त्यसको खर्च बेहोर्ने छन्।' प्रशिक्षक निर्देशक रोस टर्नरले यसको व्यवस्था मिलाएका हुन्। आइसिसीका डेभलपमेन्ट अफिसर एवंम क्रिकेट अस्ट्रेलियाको टोलीमा बसेर काम गरिसकेका टर्नर मूलपानी क्रिकेट एकेडेमी निर्माणको खाका बनाउँदा यसअघि नेपाल आवतजावत गरिरहेका व्यक्ति हुन्। 
तस्वीर: रमन शिवाकोटी


डर्बिनको अभ्यासपछि आइसिसीले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले पपुवा न्युगिनीसँग अगस्ट ७ र न्युजिल्यान्डसँग ८ मा खेल्ने छ। यु–१९ विश्वकपमा नेपाल समावेश समूहमा आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड र आयरल्यान्ड छन्। नेपालले अगस्ट १३ मा अस्ट्रेलिया, आयरल्यान्डसँग १५ मा र इङ्ल्यान्डसँग १६ मा खेल्नेछ। 
राष्ट्रिय प्रतियोगिताबिना १९९६ पछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नेछ। गत वर्षको जेठयता राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन्। धनगढीमा म्याटिङमा विकास क्षेत्रको आधारमा खेलाइएको प्रतियोगितालाई पनि समेट्दै खेलाडी छान्न लागिएको छ। २०१५ को विश्वकप छनोट आधार पनि मानिएको डिभिजन ४ सेप्टेम्बर ३ बाट मलेसियामा सुरु हुँदैछ। अगस्ट २४ सम्म विश्वकपका लागि नेपाली युवा टोली अस्ट्रेलियामा हुनेछ। जब कि एक महिनाअघि नै डिभिजन ४ खेल्ने टोलीको छनोट गरिसक्नुपर्नेछ। 
'यु–१९ विश्वकपमा राम्रो खेल्यो भने उनीहरुलाई डिभिजन ४ का लागि राष्ट्रिय टोलीमा राखिने अबसर पनि हामीसँग छैन्। त्यसैले खेलाडी छान्दा एसिसी यु–१९ एसिया कप हेर्नुपर्ने हुन्छ। कप्तान पृथु बाँस्कोटासहित प्रदीप ऐरी, सुवास खकुरेल गरी यु–१९ का ४–५ खेलाडी राष्ट्रिय टोलीमा परिहाल्छन्,' दासानायके भन्छन्, 'राष्ट्रिय प्रतियोगिता भए त्योबाट खेलाडी छानेर क्याम्पमा राखेर खेलाउनु सबैभन्दा उत्तम हो। तर हामीसँग अहिले विकल्प छैन्। पुरानै प्रतियोगितालाई हेरेर टिम छान्नुपर्छ, त्यसमा दुबईमा विश्व ट्वान्टी–२० छनोट, भारतीय दूतावास कप र धनगढी राष्ट्रियलाई आधार मानेर खेलाडी छनोट गर्नुपर्छ, हामीसँग त्यही एक विकल्पमात्र छ।' 
राष्ट्रिय प्रतियोगिता नभएकाले उनले विकेटकिपर महेश क्षेत्री जस्ता खेलाडी डिभिजन ४ मा नसमेटिन सक्ने संकेत गदै भने, 'महेश क्षेत्रीको खेल मैले ट्वान्टी–२० को क्याम्प हुँदा हेरेको थिए। ५० ओभरको खेलमा हेर्न पाएको छैन्। राष्ट्रिय प्रतियोगिता भएको भए महेशलाई पनि राम्रोसँग हेर्न पाउथे। उनले भारतीय दुताबास कप र धनगढी राष्ट्रिय पनि खेलेका थिएनन्। महेशमात्र होइन राष्ट्रिय प्रतियोगिता भए अरु खेलाडी पनि हेर्न पाइन्थ्यो।' 
प्रशिक्षक दासानायकेले माथिल्लोक्रमका मुख्य ब्याट्सम्यानहरु अनिल मण्डल, शरद भेषावकर र ज्ञानेन्द्र मल्ललाई भारतको कुनै एकेडेमीमा छोटो समयका लागि पठाउने योजना बनाएका छन्। क्यानाडामा खेलिरहेका कप्तान पारस खड्का अगस्टको दोस्रो हप्ता नेपाल आइपुग्ने छन्।  
'शक्ति गौचन र बसन्त रेग्मी जस्ता बलर भएकाले म बलिङमा त्यत्ति चिन्तित छैन्। ब्याटिङ मुख्य समस्या हो, त्यसैले मुख्य ब्याट्सम्यानलाई भारत पठाउने योजना बनाएको छौं,' उनले भने, 'त्यसपछि राष्ट्रिय टोली क्याम्पका लागि २ हप्ता अगाडी श्रीलंका जाने तयारी गरेका छौं। यु–१९ बाट छानिएका खेलाडी अस्ट्रेलियाबाट त्यही आउन पनि सक्छन् वा नेपाल आएर श्रीलंका जाने सम्भावना हुन्छ। त्यहाँबाट हामी मलेसिया जानेछौं।'
नागरिक राष्ट्रिय दैनिकमा साउन ४ गते प्रकासित

No comments:

Post a Comment