Wednesday, July 4, 2012

शिवराम र तारादेवी उत्कृष्ट


लोकप्रिय खेलाडी रमिला तन्डुकार, वर्षका उत्कृष्ट खेलाडीद्धय शिवराम श्रेष्ठ र तारादेवी पुन। तस्विर विकास कार्की
गल्फका शिवराम श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी बने। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १० संस्करणमा गल्फ र भारत्तोलन खेलाडीले मनोनयनमा परेको विधामा पहिलो पटक उपाधि हात पारे।
क्रिकेटका जगत टमाटा र पृथु बाँस्कोटा क्रमस वर्षको उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीमा चुनिए। भलिबलकी रमिला तन्डुकार लोकप्रिय खेलाडी बनिन्। नेपाल भारत्तोलन संघका अध्यक्ष रतन टन्डनले विशेष अवार्ड, एथ्लेटिक्सका शर्मिला लामिछाने प्यारा एथ्लेट तथा भुपेन्द्र सिलवाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड पाए।

पुरुष, महिला र लोकप्रिय विधाका विजेताले पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। अन्य ५ विधाका विजेतालाई ३० हजार नगद र ट्रफी प्रदान गरिएको थियो। त्यसका साथै विजेतालाई टाइमेक्स घडी, सामसुङ क्यामरा, जोन प्लेयर्सको गिफ्ट भौचर र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यद्वारा प्रायोजित कार्पेट प्रदान गरिएको थियो।

शिवराम श्रेष्ठ (गल्फ) – वर्षका उत्कृष्ट खेलाडी (पुरुष)
शिवरामले सुर्य नेपाल गल्फ टुरको ११ मध्येको ७ उपाधि जितेका थिए। २०६८ मा दुई पटक आयोजना भएको सुर्य नेपाल मास्टर्समा उनी दुवै पटक तेस्रो भएका थिए। प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा बिदेशीतर्फ दोश्रो हँदै शिवराम 'फुल कार्ड' लिन सफल भएका थिए। २०११–१२ को सिजनमा शिवरामले ९ लाख ९ हजार ६ सय रुपैंया पुरस्कारमा पाएका थिए।
शिवरामले वर्षको पुरुष खेलाडी बन्नेक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, पौडीका शैलेश राणा, एथ्लेटिक्सका तिलकराम थारु र घाड चढीका ध्रुवप्रसाद अर्याललाई उछिने। वर्षको उत्कृष्ट खेलाडी पुरस्कारमा यसअघि दुई पटक मनोनयनमा परेका शिवरामले तेस्रो प्रयासमा छलाङ मारेका हुन्।

तारादेवी पुन (भारत्तोलन) – वर्षको उत्कृष्ट खेलाडी (महिला)
तारादेवीले छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाउनुका साथै स्ट्रङगेस्ट वुमन घोषित भएका थिए। साथै उनले नेपालगञ्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण र प्रथम खुल्ला भारोत्तोलन ग्राँपिमा पनि राष्ट्रिय कीर्तिमानसहित पहिलो भएकी थिइन्।
पार्थ सारथी सेन गुप्ता पहिलो संस्करण २०५३ मा उत्कृष्ट प्रशिक्षक र २०६५ मा लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनु स्पोर्टस अवार्डमा भारत्तोलनको यसअघिको उपलब्धी थियो।

जगत टमाटा (क्रिकेट)– वर्षका उत्कृष्ट प्रशिक्षक
नेपाललाई आयरल्यान्डमा भएको विश्व यु–१९ छनोटमा उपविजेता बनाउदै छैटौं पटक आइसिसी यु–१९ विश्वकपमा छनोट गराएका टमाटा उत्कृष्ट प्रशिक्षक बने। सन् २००० देखि २००८ सम्ममा गरी नेपाल लगातार ५ पटक आइसिसी यु–१९ विश्वकपमा छनोट भए पनि २०१० मा छनोट हुन सकेको थिएन्। टमाटाकै प्रशिक्षणमा नेपाल आइसिसी यु–१९ विश्वकपको लयमा फर्कियो।
वर्षको उत्कृष्ट प्रशिक्षक हुने टमाटा क्रिकेटका दोस्रा हुन्। २०६३ मा श्रीलंकाली रोयलुक डायस क्रिकेटबाट पछिल्लो उत्कृष्ट प्रशिक्षक भएका थिए। टमाटाले क्रिकेटकै पुबुदु दासानायके र नवीन सिंह तथा जुडोका वीरवहादुर राना र पौडीका इश्वर कार्कीलाई पन्छाए।

पृथु बाँस्कोटा (क्रिकेट) – वर्षका उत्कृष्ट युवा खेलाडी
पृथु वर्षको युवा खेलाडीमा चुनिए। उनले कडा प्रतिस्पर्धामा क्रिकेटकै रुविना प्रधानसहित एथ्लेटिक्सका विश्वरुपा बुढा र सिद्धान्त अधिकारी तथा पौडीका सिरिस गुरुङलाई उछिने। २०६१ बाट सुरु भएको उत्कृष्ट युवा खेलाडीको ७ मा चौंथो पटक क्रिकेटले बाजी मारेको हो। कनिष्क चौगाई, पारस खड्का, केशरी चौधरीले पछयाएको पथमा पुग्न पृथुलाई तीन वर्ष लाग्यो। यसअघि दुई पटक मनोनयनमा परे पनि पृथु विजेता बन्न सकेका थिएनन्।
पृथुको कप्तानीमा नेपाललाई आयरल्यान्डमा भएको विश्व यु–१९ छनोटमा उपविजेता बनाई छैटौं पटक आइसिसी यु–१९ विश्वकपमा छनोट गराएका थिए, जहाँ उनले १ सय ५५ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। राष्ट्रिय टोलीका पनि नियमित सदस्य पृथुले नेपाल घरेलु भुमिमा एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा, विश्व ट्वान्टी–२० छनोटमा सातौं स्थानमा उक्लदा पनि प्रभावशाली प्रदर्शन गरेका थिए।

लोकप्रिय भलिबल
लोकप्रिय खेलाडीको पुरस्कार भलिबलकी रमिला तन्डुकारले जितिन्। तेस्रो पटक भलिबलले बाजी मार्दै नेपालको लोकप्रिय खेल बन्यो। यसअघिका चार लोकप्रिय खेलाडीमा फुटबल र भलिबलका खेलाडी २–२ पटक विजेता बनेका थिए। २०६४ मा पहिलो पटक राखिएको यो विधा फुटबलका जुमानु राईले जितेका थिए। त्यसपछि भलिबलकी मन्जु गुरुङ, फुटबलका सन्तोष साहुखल र भलिबलकी सिपोरा गुरुङ लोकप्रिय खेलाडी बनेकी थिइन्।
यस पटक पनि लोकप्रिय खेलाडी बन्न फुटबल र भलिबलकै मुख्य प्रतिस्पर्धा भयो। एसएमएस भोटिङबाट छानिएको उत्कृष्ट खेलाडीमा रमिलाले ४४ हजार २ सय ५४ भोट पाइन्। उनका प्रतिद्वन्द्वी फुटबलका भरत खबासले ३८ हजार ९ सय ५८ र क्रिकेटका शक्ति गौचनले २४ हजार १ सय ८६ भोट पाए। लोकप्रियको मनोनयनमा अन्य दुई खेलाडी एथ्लेटिक्सका सविता चौधरी र टेनिसकी अस्लेशा लिसानोभिच थिइन्।

शर्मिला लामिछाने (एथ्लेटिक्स) – वर्षका उत्कृष्ट पारा एथ्लिट खेलाडी
स्मरणशक्ति कमजोर भएकाले शर्मिला बौद्धिक अपाङ्गको कोटीमा पर्छिन्। अपाङ्गताकै कारण उनी पढाइमा जम्न नसके पनि खेलकुदमा भने अब्बल छिन्। आफूजस्तै बौद्धिक अपाङ्गहरुले सन् २०११ को जुन २५ देखि जुलाइ ४ मा  ग्रिसको एथेन्स शहरमा स्पेशल ओलम्पिकमा सहभागीता जनाउ“दा शर्मिलाले शटपुटमा स्वर्ण पदक जितेकी थिइन्। चितवनको मेघौलीमा जन्मिएकी उनी बुवा ऋषिराम र आमा सरस्वतीको छत्रछायामा हाल भरतपुर १० मा बस्दै आएकी छन्। नारायणी उच्च माविमा अध्ययनरत यी हसमुख युवती एथेन्स जादा दौडमा पनि पदक जित्ने आशा राखेकी थिइन् तर उनी चौथो स्थानमा चित्त बुझाउन बाध्य भइन्। शटपुटमा भने उनले स्पेशल ओलम्पिकको स्वर्ण नै हात पारेकी थिइन्।

रतन टण्डन (भारोत्तोलन) – स्पेशल अवार्ड
ब्यवसायका हिसावले एक उद्योगी भए पनि टन्डनको परिचय बढी खेलकुदमा खुल्छ। टण्डनलाई नेपाली खेलकुदको एक दानवीर भन्दा फरक पर्दैन। मध्यपश्चिमको शान राख्दै चौथो राष्ट्रिय खेलकुद नेपालगञ्जमा सम्पन्न गर्दा होस् वा गत वर्ष दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनशिप गर्दा होस् दुवै पटक टण्डनले ब्यक्तिगत लगानी गरेका थिए।
दुई दशक राष्टिय खेलकुद परिषदमा सदस्य रहेका उनी  एक कार्यकाल नेपाल ओलम्पिक कमिटीको पनि सदस्य थिए। हाल नेपाल भारोत्तोलन संघको अध्यक्ष रहेका टण्डन नेपालगञ्जमा आयोजना भएका र हुने भलिबल, फुटबल, ब्याडमिन्टन, सुटिङ्ग, कुस्ती आदी सबै प्रतियोगीतामा सक्रिय हुन्छन्।
आफ्नै ठाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना गर्न लगानी गर्नु उनको प्रमुख विशेषता हो। एक समय नेपाली ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगीता महेन्द्र मेमोरियल अन्तर्राष्टिय ब्याडमिन्टन, कृष्णगोपाल टण्डन प्राइज मनी ब्याडमिन्टन आयोजना गर्दा उनी प्रमुख सुत्रधार थिए। झण्डै डेढ दशक अवरुद्ध भएको राष्ट्रिय खेलकुदको चौथो संस्करण आयोजना गर्दा उनले ब्यक्तिगत पहलमा लाखौं खर्च गरेको देख्नेहरु अझै जिब्रो टोक्छन्।
खेलकुदको राजनैतिक कारण पछि हटेका टन्डन गत बर्ष नेपाल भारोत्तोलन संघको नेतृत्व सम्हाल्न अघि सरे र नेतृत्व लिएको ६ महिना नवित्दै नेपालगञ्जमा दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीपको आयोजना गरे र दक्षिण भारोत्तोलन महासंघमा उपाध्यक्ष हुन सफल भए।

भुपेन्द्र सिलवाल (एथ्लेटिक्स) – लाइफटाइम एचिभमेन्ट अवार्ड
नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेको ४८ वर्ष भयो। १९६४ को टोक्यो ओलम्पिकमा नेपालबाट पहिलो प्रतिस्पर्धा गर्ने सिलवाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए। नेपाल खेलकुद पत्रकार मञ्चको पहलमा सिलवाल यस पटक लन्डन ओलम्पिक हेर्ने जानेक्रममा छन्।
ललितपुर गोदावरी वरिपरिका डाँडाकाडाँमा दौडदा दौडदै सिलवाल २० वर्षको उमेरमा नेपाली सेनामा भर्ती भए। सेनाको जागिरसँगै सिलवालको खेलजीवनले औपचारिक गति लियो।
उनले १९५८ को टोक्यो एसियन गेम्समा खाली खुट्टा दौडिए। गर्मीको रापले डढेको झै भएको सिलवालको खाली खुट्टामा जापानी महिलाहरुले बाटोमा पानी हाली उनलाई दौड पुरा गर्न हौसाएका थिए। र उनले सातौं स्थानमा म्याराथन पुरा गरेका थिए। 'जोशमा दौडिहाले, पछि जापानी डाक्टरले सुइराले पैतालाको अलकत्रा निकाली दिए,' सिलवाल भने।


No comments:

Post a Comment