Thursday, July 26, 2012

'खाली खुट्टा दौडिनेमा हामी नेपाली मात्र'

खेलकुद नतिजा मात्र होइन। कुनै यस्तो क्षणको दृश्यले कहिलेकाही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर हुन्छ। सन् १९५८ को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गरेका भूपेन्द्र सिलवालले एउटा त्यस्तै क्षणको सम्झना गरे, जुन नेपाली खेलकुदको इतिहास बन्यो। खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्बिर नेपाली खेलकुदकै चर्चित तस्बिर बन्यो। 

फाइल तस्बिरः ओलम्पिक संग्रहालय

सिलवाल नांगो खुट्टा दौडिएर सातौं भए। उनी त्यसको स्मरण गर्दै भन्छन्, 'म्याराथनमा सहभागी झन्डै ६० जना जतिमा म र अर्का नेपाली खेलाडी नरबहादुर गुरुङ मात्र खाली खुट्टा दौडिएका थियौं। तातो घामको रापले खाली खुट्टामा पूरै अलकत्रा टाँसिए पनि सातौं भएँ। डाक्टरलाई मेरो खुट्टाको अलकत्रा निकाल्न कति गाह्रो परेको थियो। उनीहरूले सुइराले घोपेर मेरो खुट्टाको अलकत्रा निकालिदिए। जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ। मेरो भाग्य नै अहिले अर्कै हुन्थ्यो। खाली खुट्टा दौडिएपछि जुत्ता किनिदेलान् भनेको त झन सेनाको मान्छे खाली खुट्टा दौडिन पर्छ भनेर पो भन्छन्।'
घुम्दै फिर्दै ६ वर्षपछि उनी टोकियो नै फर्के। यसपटक ओलम्पिक खेल्न। सन् १९६४ को ओलम्पिक नेपाली खेलाडीका लागि विशेष थियो। नेपाली खेलाडी पहिलोपालि ओलम्पिक  सहभागी हुँदै थिए। सिलवालसहितको टोलीले ओलम्पिकमा खेल्ने पहिलो नेपालीका रूपमा इतिहास बनाए। पहिलो पटक ओलम्पिक खेल्ने नेपाली खेलाडीमा सिलवालमात्र जीवित छन्। ओलम्पिक खेल्न लागेको आधा शताब्दी पुग्न लाग्दा सिलवाल पुनः ओलम्पिक हेर्न लन्डन जाँदैछन्। बिबिसी नेपाली सेवा लन्डनका डेस्क सम्पादक सुमन खरेलको अनुरोधमा एनआरएन युके र नेपाल खेलकुद पत्रकार मञ्चले सिलवालको लन्डन यात्राको चाँजोपाँजो गरेको हो।
गोदावरी महादेवडाँडा– ८ का ७८ वर्षे सिलवाल लन्डन ओलम्पिक हेर्न आतुर छन्। ४८ वर्षअघि ओलम्पिकमा पहिलो सहभागिता जनाउँदाको सिलवालको अनुभव : 



एसियाली खेलकुदमा नांगो खुट्टा दौडेर सातौं भएकाले मलाई ओलम्पिक पठाउने तयारी गरिएको रहेछ। एसियाली खेलकुद खेल्न जाँदा मेरो सेनामा जागिर थियो। गोरखबहादुर गणमा कार्यरत थिएँ। एसियाली खेलकुदमा सहभागिता जनाएर आएपछि ७५ दिन घर बिदा बसे। त्यसको एक वर्ष जति पछि मलाई नर शम्सेर राणाले सेनाको जागिर छाडि दे, खेलकुदमा आउनू र आफू पनि खेल्नु, अरुलाई पनि खेलाउनु भन्नुभयो।
आर्मीको जागिर छाडेर त आएँ, तर सदस्यसचिव कुमार खड्गविक्रम शाहले मलाई वास्तै गरेनन्। नर शम्सेरको कुरा पनि उनले सुनेनन्। मेरो हुँदाखाँदाको जागिर पनि गयो। केही समय घरतिरै बसे। ढुंगारोडाको काम गरिरहेको थिएँ। खड्ग विक्रमको स्थानमा आएका सदस्यसचिव सुशील शम्सेर राणाले घरमा चिठी पठाउनुभयो र त्यसमा लेखिएको थियो, 'भोलि दौडिने गरी खेलकुद परिषदमा आउनू।'
भोलिपल्ट गएर सुशील शम्सेरलाई भेटे। उहाँले रंगशाला, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, बिजुली अफिस, भोटाहिटी, त्रिपुरेश्वर हुँदै नागढुंगा पुगेर फेरि त्रिपुरेश्वर फर्किनुपर्ने दौडको रुट बताउनुभयो। पहिलो भए भने ओलम्पिक लैजान्छु भन्नुभयो। २४–२५ वर्षको थिएँ, जोशको कुनै कमी थिएन। २ घन्टा २१ मिनेट जतिमा दौड पूरा गरी पहिलो भएँ र ओलम्पिकलाइ छानिएँ। बागदरबारभित्र ओलम्पिकका लागि ६ महिना तयारी गरियो। यसपटक भने अभ्यासमै जुत्ता दिइएको थियो। लक्ष्मण शाह र मोहन (कोमल) पाण्डेले मलाई अभ्यास गराएका थिए। ओलम्पिक भन्ने सुनेको थिएँ, कस्तो होला के होला भन्ने थाहा थिएन। जे भए पनि ४२ किलोमिटर दौडिने हो भन्ने बुझेको थिएँ।
ओलम्पिकमा जाने भनेर बागदरबारमा भव्य बिदाइ गरिएको थियो। महेन्द्र राजाले चढ्ने प्लेन भन्थे त्यस्तै कुन हो प्लेन चढेर कोलकाता गइयो। ३–४ दिनको कोलकाता बसाइ पछि टोकियो लागियो। म्याराथनको ७–८ दिनअगावै हामी ओलम्पिकस्थल पुगेका थियौं। ओलम्पिक भिलेजमा म सँगै गंगाबहादुर थापा, चार बक्सिङ खेलाडी, सुशील शम्सेर, द्वारिकाराम माथेमा थिए। गंगाबहादुर मसँगै दौडिनेवाला थिए। प्रशिक्षक भने कोही थिएनन्। मेरो मनमा अरु कुरा खासै खेल्दैन्थ्यो, अरु सबैलाई जित्न पाए पुग्थ्यो भनेर सोचिरहन्थेँ। तर बजियाहरू असाध्यै तगडा। यसो पछाडि फर्केर हेर्‍यो भने आफूलाई छाडेर दुई हात अगाडि पुगिसकेका हुन्थे।
बिहान म्याराथ सुरु भयो। सबै विस्तारै दौडे। म आफ्नै हिसाबले दौडेँ। जित्छु नै भन्ने थियो। बल, तागत सबै थियो। प्रशिक्षण पनि राम्रो थियो। बिकिला (इथोपियन धावक अबेबे विकिला) सहित सबैलाई मैले १३–१४ किलोमिटर पुग्दा उछिनिसकेको थिएँ। ७ किलोमिटर जति पुग्दा मेरो पिडौला फर्कियो। त्यही बिकिलाले मलाई पनि उछिने। हब्सी अनि अग्ला भएकाले उनको स्पिड निकै राम्रो थियो। मलाई उछिनेपछि उनको रफ्तार देखेर म छक्क परेँ। मलाई उछिन्ने बेलामा खिस्स सेतो दाँत देखाएको एकैछिनमा त कहाँ पुगिसकेको रहेछ।
पिडौला फर्किएर म उभिन्न नसक्ने भइसकेको थिएँ। २ किलोमिटर बाँकी छँदा मैले दौड त्यागेँ। २ घन्टा ३४ मिनेट जस्तो लागेको थियो। गंगाले पनि दौड पूरा गर्न सकेनन्। उनले पनि २ किलोमिटर बाँकी छँदा दौड छाडेछन्। तर म दौडिँदासम्म त कोही मेरो अघि पछि थिएनन्। हब्सी (बिकिला) ले कुन मौका हेरिरहेको थियो, त्यो मलाई थाहा भएन। उनको रफ्तार कायम थियो। मेरो खुट्टा नबाउँडिएको भए, मैले पनि पदक जित्थेँ। बिकिला र म को अघि पछि भन्ने कुरामात्र बाँकी रहन्थ्यो। २ घन्टा १२ मिनेट जस्तोमा दौड पूरा गरेर उनी पहिलो भएँ। खेल सकेपछि पनि बिकिलाले मलाई अरुको हैन, नेपालको डर लागेको थियो भनेर भने। मेरा लागि टोकियो ओलम्पिकको सफलता त्यही नै थियो।



No comments:

Post a Comment