Thursday, May 23, 2013

डिभिजन ३ मेनिया

नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान पातलिएसँग डिभिजन ३ मेनिया सेलाउदै गएको छ। उपाधि जितेर काठमाडौं आएसँगै सुरु भएको नेपाली टोलीको सम्मानक्रम अहिले पनि जारी छ। पहिलो दिनको अवव्यस्थित सम्मानलाई छाडने हो भने नेपाली टोलीले नगदका हिसाबमा अहिले सम्मकै ठुलो सफलता पाएका छन्। सरकारले दिने निर्णय गरेर प्रदान गर्न बाँकी ३ लाख ५० हजारलाई जोड्ने हो भने प्रति खेलाडीको भागमा ५ लाख भन्दा बढी परेको छ।
सफलता हात पारेसँगै जय जय र त्यसपछि शुन्य विगतको स्थिति पनि लगभग दोहोरिएको छ। फाइनल पुगेर वा उपाधि जितेर आउदाको नेपाली क्रिकेट टोलीसँग जोडिएर आफ्नो प्रोफाइल बढेको ठान्नेहरु डिभिजन ३ मेनियाबाट टाढा भइसकेका छन्। विश्वकपमा छनोट भएर आउने नेपाली टोलीसँग फेरी जोडिने आशामा उनीहरुले सम्भावित मितीमा चिनो पनि लगाइसकेका छन्। त्यसपछि अर्को मेनिया सुरु हुनेछ। यस बीचको स्थिति शुन्य जस्तै।
तस्विर सौजन्यः रमन सिवाकोटी/क्यान


बर्मुडामा तीन हप्ता अघि पाएको सफलताले नेपाललाई विश्वकप छनोटसम्म पुर्‍यायो। व्यहबारिक पक्षमा नभए पनि नेपालले विश्वकप खेल्ने सपना अन्तर्राष्ट्रिय क्रिकेट खेल्न १७ वर्ष अगाडी देखि नै देख्दै आएको छ। सन् २००१ मा आइसिसी ट्रफी खेल्न क्यानाडा जाँदा विश्वकप सम्भावना अझ प्रवल देखिएको थियो। जबकी त्यो प्रतियोगितामा नेपालका लागि यात्रा यति कठिन थियो की त्यहाँबाट विश्वकपसम्म पुग्ने असमभव झै मानिन्थ्यो। नेपाललाई पराजित गर्दै नामिबियाले २००३ को विश्वकप नखेलेको भने होइन्।
फरक यती हो– विगतको तुलनामा यस पटक नेपालको विश्वकप सम्भावना नजिक छ। व्यहवारिक हिसाबमा यात्रा विगतकै जस्तै कठिन छ। राम्रो तयारी नगर्ने हो भने नेपालले यो राम्रो मौका चुकाउने छ। न्युजिल्यान्डको विश्वकप छनोट प्रतियोगितामा सहभागी १० टोलीमा कम्तिमा शीर्ष चारमा पुगेर एकदिवसीय मान्यता पाउनु नेपालको लक्ष्य हुनुपर्छ। युगान्डा बाहेक नेपालभन्दा माथीका टोली छन्। त्यही युगान्डासँग हार्दा नेपालको यात्रा बर्मुडामा झन्डै डिभिजन ३ मै सकिएको थियो।
'खेलाडीले जे गर्न सक्थे त्यो लगभग यति नै जस्तै हो, अब राम्रो योजना बनाएर रणनितिक हिसाबमा अगाडी बढ्नु पर्छ,' कप्तान पारस खड्काले बर्मुडाबाट काठमाडौं फर्केसँगै दिएको अभिव्यक्तिले नेपाली क्रिकेट बारे सवै छर्लङ पार्छ। अहिले सम्म जे जति गरे धेरै खेलाडी र वर्तमान प्रशिक्षक पुबुदु दासानायकेलाई नै मुख्य कारण मानिन्छ। अब गर्ने पालो नेपाल क्रिकेट संघको हो, योजनाबद्ध र रणनितिक हिसाबमा।
दुई महिना अघि एसिसी ट्वान्टी–२० कपको फाइनलपछि पारसले भनेका थिए, '१–२ खेल जित्दैमा र एउटा प्रतियोगिता जित्दैमा नेपाली क्रिकेटको स्त्तर उक्लिएको भन्नु भन्दा पनि माथिको स्तरमा पुगेर त्यसमा खेल्न कस्तो तयारी गर्ने भन्ने महत्वपूर्ण छ। त्यसैले तयारी राम्रो हुनु पर्‍यो। हामीले राम्रो टोलीहरुसँग खेलेर तयारी राम्रो गर्नुपर्छ।' पुरै खेलाडीको नेतृत्व गरेका पारसलाई विश्वास गर्ने हो भने क्यानले साँच्चै लक्ष्य विश्वकप अथ्वा एकदिवसीय बनाएको हो भने तयारी त्यसै अनुरुप गर्नुपर्छ। मुखैयामा आएको प्रतियोगिता जे छ नेपालको तयारी त्यही खालेमात्र छ। अझ पछाडी फर्केर हेर्ने हो भने खेलाडीको अर्को पुस्ता भेटाउन गाह्रो छ। त्यसैले अहिलेको टोलीलाई स्वर्णिम पुस्ता मान्ने हो भने तत्काल सोही अनुरुपको तयारी गर्न जरुरी छ। जस्तो नेपाल विश्वकप अथ्वा एकदिवसीय मान्यता प्राप्त राष्ट्र बनेमा अन्तर्राष्ट्रिय क्रिकेटबाट आउने जुन सहयोग बढ्ने छ, त्यसबाट अर्को पुस्ता पनि बलियो बनाउने खाका अगाडी ल्याएर सोही अनुरुप कार्य गर्नुपर्दछ।
आयरल्यान्ड र स्कटल्यान्डको सफलताको कथा खेलाडीलाई राम्रो 'एक्सपोजर' दिएकै कारण विश्वकपसम्म पुग्नु मानिन्छ। काउन्टी क्रिकेटसँग जोडिएका कारण आयरल्यान्ड र स्कटल्यान्डका खेलाडी सहजै इङ्ल्यान्डमा खेल्न पाउछन्। अहिले नेदरल्यान्ड, नामिबिया देखि हङकङका खेलाडीले इङलिस क्रिकेटमा पाइला टेकिसकेका छन्। नेपाली खेलाडीको पनि सम्भावना नदेखिएको होइन्। २००६ को एसिसी ट्रफी दौरान हङकङका प्रशिक्षक अफ्ताब हबिबले नेपालका कप्तान विनोद दास काउन्टीका लागि योग्य खेलाडी भएको बताएका थिए। त्यसको दुई वर्ष इङल्यान्डको मेरिलोबोन क्रिकेट क्लब विश्व भ्रमणका क्रममा नेपाल आउदा पारस, ज्ञानेन्द्र मल्ल र पृथु बाँस्कोटाको प्रतिभामाथी आँखा लगायो। तर नेपालीको इङ्लिस क्रिकेट सम्म जोड्ने पुल कहिल्यै बनेन्।
डेढ वर्ष अघि दासानायके आएपछि नेपाली क्रिकेटमा नया सञ्चार आयो। नेपाली खेलाडी प्रतिभाका हिसाबले कुनै कमि नरहे पनि 'म्याच एक्सपोजर' मा निकै कमजोर पाए। शक्ति गौचनलाई दासानायकेले नै राजस्थान रोयल्स सम्म ट्रायलको बाटो देखाए। पारस खड्का क्यानाडामा क्लब क्रिकेट खेल्न पुगे। अनिल मण्डल, ज्ञानेन्द्र र शरद भेषावकर भारतमा ब्याटिङका लागि विशेष अभ्यास गर्न गए। तीब्र बलरद्धय अमृत भट्टराइ र चन्द्र साउद श्रीलंकाको यु–२३ लिग खेल्न गए। पृथु र प्रदीप ऐरी क्लब क्रिकेट खेल्न भारत पुगे। यो सबै दासानायकेको व्यक्तिगत पहलमा सम्भव भएको थियो। नेपाली टोली भारतमा गएर साना साना टोलीसँग भए पनि खेल्दै आवश्यक 'एक्सपोजर' बटुल्न लाग्यो। नतिजा अगाडी थियो, नेपालले मलेसियाको डिभिजन ४ देखि, एसिसी ट्रफी इलिट, एसिसी ट्वान्टी–२० कप हुँदै बर्मुडा ट्रायएंगल पनि पार गर्‍यो।
नेपाल ट्वान्टी–२० र एकदिवसीय दुवैको विश्वकप छनोटको अन्तिम दौडमा छ। नेपाली टोलीले नै ट्वान्टी–२० मा सम्भावना बढी देखेको छ। पछिल्लो पटक दुई वर्षअघि भएको विश्व ट्वान्टी–२० खेल्दा सहभागी १६ टोलीमा नेपाल सातौं भएको थियो। यसपटक देखि शीर्ष ६ टोलीले खेल्न पाउने हुनाले नेपालको सम्भावना देख्नेहरु धेरै छन्।
एकदिवसीयमा विश्वकप पुग्नु सजिलो छैन्। १२ वर्ष अघि क्यानाडामा नामिबियाले पाएको सफलताले असम्भव केही छैन् भन्ने पुस्टि गरिसकेको छ। त्यसका लागि नामिबियाका तयारी विशेष थियो। विश्वकप खेल्न विशेष तयारी नै गर्नुपर्छ। नामिबियाले लामो समय इङ्ल्यान्डमा बसेर विश्वकप छनोटको तयारी गरेको थियो। क्रिकेटलाई दक्षिण एसियामा धर्म सरह मानिन्छ। नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको छिमेकी भएको फाइदा अझै उठाउन सकेको छैन्। वर्षमा हुने एक प्रतियोगितालाई आधार बनाएर खेलाडी छनोट गर्ने परमपरामा यथावत छौं।
दासानायकेले एकदिवसीय विश्वकपलाई लक्षित गरेर ६ महिना अगाडी तयारी सुरु गर्ने पर्ने बताइसकेका छन्। यही बीचमा नेपालले विश्व ट्वान्टी–२० छनोट पनि खेल्ने छ। प्रशिक्षकको खाका अनुरुप क्यानले कार्यक्रम बनाउन सकेन् भने नेपाल लक्ष्य सम्म नपुग्ने त छँदैछ, भएको स्थान पनि गुमाउनेछ। त्यस्तो अवस्थामा नेपाली टोली स्वदेश फर्किदा कुनै मेनिया हुनेछैन्। यसअघि सफलता पाएको समयमा नेपाली क्रिकेटसँग जोडिएर आफ्नो 'प्रोफाइल' बढाउनेहरु दृश्यमा कतै देखिने छैनन्। उनीहरुसँग लय मिलाउनेले नेपाली क्रिकेटको स्तर 'खस्केको' भनेर टिपणी पनि गर्लान्, त्यसलाई पनि सोझै अस्विकार गर्न मिल्दैन्।
शुक्रबार साप्ताहिकमा २०७० जेठ ९ गते प्रकासित
 

No comments:

Post a Comment