Tuesday, May 28, 2013

झापाले दिलाएको विराटनगरको सफलता

क्षेत्रीय छनोटमा मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्ला सहभागी नै भएनन्। जबकि तयारी वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विराटनगर (क्षेत्र १) का लागि थियो। सप्तरीको पनि सहभागिता ठेगान थिएन। प्रशिक्षक बिरु श्रेष्ठ र रुबिना क्षेत्री डग्मगाएका थिएनन्।
राष्ट्रिय प्रतियोगिता हुने खबरसँगै उनीहरूले आफ्नै हिसाबले विशेष तयारी गरिसकेका थिए। त्यो झापा जिल्ला क्रिकेट टोली बनाउन थियो। खेलाडी सबै काँकडभिट्टाका थिए। अन्तमा यही टोलीले झापाको मात्र नभई विराटनगर क्षेत्रकै प्रतिनिधित्व गर्नुपर्ने स्थिति आयो। बन्द प्रशिक्षण सुरु हुँदै गर्दा सप्तरीका चार खेलाडी काँकडभिट्टा पुगे। दुईले विराटनगर टोलीमा स्थान पाए, बाँकी सबै झापाबाट खेल्ने आशामा रहेका काँकडभिट्टाका खेलाडी थिए। पहिलो ११ मा यही टोलीले प्रतियोगिताका पूरै खेल खेल्यो।


उपाधि जितेपछि विराटनगरको टोली। तस्विर : विकास कार्की
प्रशिक्षक श्रेष्ठ र नेपाली महिला टोलीकी कप्तान रुबिनालाई 'केही गरेर देखाउँछौं' भन्ने विश्वास थियो। विराटनगरको टोलीमा व्यवस्थापकको भूमिकामा बाँधिए पनि रुबिनाले श्रेष्ठलाई प्रशिक्षणमा सघाइन्। २० दिनअघिदेखि काँकडभिट्टामा गरेको तयारीको प्रतिफल थियो, राजधानीमा सोमबार सम्पन्न महिला यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि।
२०६५ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा फाइनलमा पुग्नुबाहेक महिला क्रिकेटमा विराटनगरले अझै ठूलो छाप छाड्न सकेको थिएन। यु–१९ राष्ट्रिय क्रिकेटको सफलताले विराटनगरलाई महिला क्रिकेटमा पहिलो उपाधि मात्र दिलाएन्, भविष्यमा आशाका किरण पनि देखाइदियो। 'राम्रो तयारी गर्ने हो भने अझै ठूलो नतिजा आउन सक्छ र क्रिकेटको विकास पनि हुन्छ,' प्रशिक्षक श्रेष्ठ फाइनल पुग्ने आशामा थिए। उपाधि उनका लागि पनि बोनस थियो।
श्रेष्ठ र रुबिनाले मिलन क्रिकेट क्लबमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका थिए। त्यसमा यही टोलीका धेरै खेलाडी दुई वर्ष र केही ६ महिनादेखि प्रशिक्षणरत थिए। झापा हुँदै विराटनगर क्षेत्रको प्रतिनिधत्व गर्ने सबै १२ खेलाडी त्यही मिलन क्लबका हुन्। उनीहरूलाई देवकोटा पार्क र काँकडभिट्टा मैदानमा दिइने प्रशिक्षण अन्यभन्दा फरक थियो। 'खाना खानलाई हामी बीचमा १ घन्टामात्र छुट्टी दिन्थ्यौं, त्यो बाहेक बिहान ६ बजेदेखि साँझ नपरेसम्म हाम्रो अभ्यास जारी हुन्थ्यो,' रुबिनाले सुनाइन्, 'त्यो मेहनत अहिले आएर बल्ल खेलाडीले बुझे।'
पछिल्लो एक दशकमा मीन बस्नेत पूर्वाञ्चल फुटबल टोलीका प्रमुख गोलरक्षकमा रहे। राजधानीको 'ए' डिभिजन टोलीबाट खेलेका बस्नेत गृहनगरमा महिला क्रिकेट टोलीको तयारी देखेरै छक्कै परेका थिए। मुनाल क्लबबाट राजधानीमा जारी गोर्खा कप खेल्न आएको मौका छोपेर सोमबार कीर्तिपुरमा फाइनल हेर्न पुगेका मीनले भने, 'मैले यत्रो फुटबल खेले, यो क्रिकेट टोलीले जस्तो अन्य कुनै खेलको टोलीले मैले तयारी गरेको देखिनँ। उनीहरू छनोट खेल खेलेर फेरि अभ्यास गरिरहेका हुन्थे। घामपानी केही नभनी उनीहरू तयारी गरिरहेका हुन्थे।'
पूर्वराष्ट्रिय खेलाडी मनोज कटुवाल झापाले विराटनगरलाई दिलाएको सफलताको श्रेय प्रशिक्षक श्रेष्ठलाई दिन्छन्। विराटनगरको टोली छनोट गरेका कटुवालले भने, 'केही आशा नगरी उनले निरन्तर अभ्यास गराइरहन्थे। उनी खेलाडीको शारीरीक पक्षमा बढी ध्यान दिन्थे। बडी मात्र बनाउने हो भनेर उनको कुरा काट्ने पनि त्यहाँ धेरै थिए।'

अन्तरस्कुल क्रिकेट प्रतियोगिता गराएर खेलाडी खोज्नेक्रम सुरु गरिएको बताउँदै रुबिनाले यी खेलाडीलाई निखार्न लहानसम्म गएर अभ्यास खेल्ने गरेको जानकारी गराए। काँकडभिट्टा हुँदै झापाबाट अर्की रुबिना क्षेत्री नेपाली क्रिकेटले पाउँछ त? रुबिनाले सटिक जवाफ दिइन्, 'निश्चय नै। यही टोलीका खेलाडी उत्कृष्ट खेलाडीदेखि उत्कृष्ट बलर र प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका छन्। त्यसैले राम्रा खेलाडी सबैका अगाडि आइसकेका छन्। मेरो नामले होइन उनीहरू आफ्नै नामले चिँनिदैछन्।' 
प्रशिक्षक बिरु श्रेष्ठ र रुविना क्षेत्री । तस्विर : विकास कार्की

विराटगनरको यो कथा दुई वर्षअघि यही प्रतियोगिताको पहिलो संस्करणमा जनकपुरधामकै जस्तै छ। जनकपुरले महिला क्रिकेटमा जितेको त्यो पहिलो राष्ट्रिय उपाधि थियो। जनकपुरका अधिकांश खेलाडी सिराहाका थिए। त्यही जनकपुरलाई विराटगनरले यसपल्ट सेमिफाइनलमै किनारा लगाइदियो। उपाधि जितेको जनकपुर टोलीका ५ खेलाडी नेपाली यु–१९ टोलीमा परेका थिए। अहिले विराटनगरको आशा पनि त्यही हो। अर्को वर्ष एसिसी यु–१९ महिला च्याम्पियनसिप हुँदैछ, सम्भवत नेपालमै। त्यसका लागि अर्को यु–१९ महिला राष्ट्रिय प्रतियोगिता हुनेछ। प्रशिक्षक श्रेष्ठ एसिसी यु–१९ महिला च्याम्पियनसिपका लागि विराटनगरले कम्तीमा ४–५ खेलाडी अहिले नै तयारी पारिसकेको दाबी गर्छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७० जेठ १४ गते प्रकासित

No comments:

Post a Comment