Sunday, August 4, 2013

धनगढी क्रिकेटको नयाँ क्षेत्र

धनगढीले नेपाली क्रिकेटमा नयाँ क्षेत्रको मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) को हालै बसेको बैठकले धनगढीलाई ९ नम्बर क्षेत्रको मान्यता दिएको हो। धनगढी बैतडी (६ नम्बर) क्षेत्रबाट छुट्टिएको हो। दीपक साउदको अध्यक्षतामा धनगढीले क्षेत्रीय मान्यता पाएको छ।
क्षेत्रका अन्य पदाधिकारी भने तोकिएको छैन। साउद राष्ट्रिय खेलकुद परिषद्का सदस्य र सुदूरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष पनि हुन्। धनगढी क्षेत्रमा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहने छन्। बैतडी क्षेत्रमा डडेलधुरा, बैतडी, दार्चुला र बझाङ रहने बताइएको छ। क्षेत्रीय सीमांकन भने अझै भइसकेको छैन। 
सुदुर पश्चिम एकेडेमीले आयोजना गर्ने द होटल डिभोटी एसपिए कप देशकै सवैभन्दा ठुलो नगद पुरस्कार राशी भएको प्रतियोगिता हो। गत वर्ष उपाधि जितेको पेन्टागनका नरेश बुढाऐर प्रतियोगितामा म्यान अफ द सिरिजको पुरस्कार लिदैं।


'८ जिल्ला एउटा क्षेत्रमा धेरै हो, मिलाउन कठिन भइरहेको थियो। भौगोलिक विकटताका कारण त्यसै पनि गाह्रो थियो, 'बैतडी क्षेत्रका क्यान सदस्य धीरेन्द्र साउदले भने,  'यो क्षेत्रमा पहिलादेखि नै खेलाडी छनोट विवाद निकै आइरहेको हुनाले पनि आपसी सहमतिमा क्षेत्र छुट्याउन क्यानमा आग्रह गरिएको थियो। क्रिकेट विकासका हिसाबमै निर्णय भएको हो।'
बैतडीबाट हाल केन्द्रमा चतुरबहादुर चन्द, दीपक साउद, धीरेन्द्र साउद, रतन कठायत, विपतराम चौधरीले प्रतिनिधित्व गर्छन्। चन्द उपाध्यक्ष हुन् भने अन्य सदस्य हुन्। असार २८ मा डडेलधुरामा बसेको क्षेत्रको पछिल्लो बैठकले पनि क्रिकेट विकासका हिसाबमा बैतडी र धनगढीलाई फरक क्षेत्र बनाउनुपर्ने निर्णय गरेको थियो।
२०५८ मा क्यानले घरेलु क्रिकेटलार्य नयाँ संरचनामा ल्याउँदै ५ क्षेत्रीय क्रिकेट विकास समिति बनाएको थियो। त्यसमा विराटनगर (क्षेत्र १), वीरगन्ज (क्षेत्र २), काठमाडौं (क्षेत्र ३), भैरहवा (क्षेत्र ४) र नेपालगन्ज (क्षेत्र ५) थिए। नेपालगन्जबाट छुट्टिएर २०६१ मा बैतडी (क्षेत्र ६) बनेको थियो। २०६७ मा क्षेत्रीय क्रिकेट विकास समिति थप विस्तारित हुँदा जनकपुरधाम (क्षेत्र ७) र पोखरा (क्षेत्र ८) थपिएका थिए।
२०६५ मा बैतडीले पाँचौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटबाट स्वर्ण जितेको थियो। २०६८ को वाइवाइ यु–१९ प्रतियोगिता बैतडीले जितेको पहिलो राष्ट्रिय प्रतियोगिता हो। गत वर्ष बैतडी पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी–२० राष्ट्रियको फाइनल पुगेको थियो।
बैतडीका धीरेन्द्र चन्द, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद र भुवन कार्कीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्। भुवनको कप्तानीमा नेपालले यसै वर्ष मलेसियामा एसिसी यु–१९ इलिट कपमा खेलेको थियो। महिला राष्ट्रिय टोलीमा बैतडीका रोशनी बोहरा र सोनु खड्का छन्।
दुई वर्षअघि धनगढी र कञ्चनपुरमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदसँगै धनगढी र बैतडीलाई अलग बनाउने चर्चा चलेको थियो। राष्ट्रिय खेलकुदमा बैतडी क्षेत्रीय क्रिकेट विकास समितिका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट प्रतिस्पर्धा बैतडीमै लान खोजेका थिए। कञ्चनपुरमै क्रिकेटका प्रतिस्पर्धा भएपछि चन्दले सहयोग नगरेको आरोप राष्ट्रिय खेलकुद परिषद्को थियो।
धनगढी अध्यक्षमा चुनिएका साउद छैटौं राष्ट्रिय खेलकुदका स्थानीय समितिका अध्यक्ष थिए। त्यसयता राखेप सदस्यसचिव युवराज लामाले नै धनगढीलाई नयाँ क्षेत्रीय टोली बनाउन जोड दिँदै आएका थिए। हालै क्यानका केही प्रतिनिधिसँग भेट्दा सदस्यसचिवले वैज्ञानिक हिसाबमा अझै क्षेत्र थपे पनि हुने भन्दै सहमति जनाएको क्यानका एक पदाधिकारीले बताए।
नागरिक राष्ट्रिय दैनिकमा २०७० साउन २० गते प्रकासित

No comments:

Post a Comment