Sunday, January 5, 2014

महिला क्रिकेटमा आठ कीर्तिमान

पुरुष क्रिकेटमै नबनेका चार उपलब्धी
विनोद पाण्डे, काठमाडौं
विक्रम गिरी, महेन्द्रनगर

देशमा महिला क्रिकेट सुरु भएको १० वर्ष पनि पुगेको छैन। यति कम समयमा दुई खेलाडीले शनिबार चारवटा यस्ता कीर्तिमान राखे, जुन पुरुषको खातामा समेत छैन। बैतडीकी रेखा रावल र अञ्जली चन्दले शतकसहित महिला क्रिकेटमा आठ कीर्तिमान राखे, जसमध्ये चारवटा पुरुष राष्ट्रिय क्रिकेटमा समेत बन्न नसकेका कीर्तिमान हुन्।
राजधानीमा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा रेखा र अञ्जलीले शतक बनाउँदै अघिल्लो दिन नेरी थापाले देखाएको बाटो पछ्याए। नेपालगन्जकी नेरी शुक्रबार काठमाडौंविरुद्ध १ सय २१ रन बनाउँदै महिला राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउने खेलाडी बनेकी थिइन्।
अञ्जली चन्द र रेखा रावल शतक पुरा गरेपछि। तस्बिर विकास कार्की
रेखाको अविजित १ सय ३१ र अञ्जलीको १ सय ११ रनसहित बैतडीले पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा १ विकेट गुमाएर कूल ३ सय ६२ रन बनायो। पोखरालाई ३१.२ ओभरमा १ सय ३३ रनमा सीमित गर्दै बैतडीले २ सय २९ रनको विशाल विजय हात पार्‍यो। महिला क्रिकेटमा यो अहिलेसम्मकै ठूलो रन अन्तरको विजय हो।
एकै इनिङ्समा दुई शतक सम्भव भएको पनि पहिलोपटक हो। रेखाले अघिल्लो दिन नेरीले बनाएको व्यक्तिगत उच्च स्कोर पनि उछिनिन्। रेखाले द्रोपदी कुँवरसँग पहिलो विकेटमा १ सय १४ रनको साझेदारी गरिन्। महिला क्रिकेटमा पहिलो विकेटमा पहिलोपटक शतकीय साझेदारी बनेको हो।
रेखा र अञ्जलीले दोस्रो विकेटमा २ सय ४८ रनको अविजित साझेदारी गरे। यो महिला क्रिकेटकै ठूलो साझेदारी हो। रेखाले ७४ बलमै शतक पूरा गरेकी थिइन्। अघिल्लो दिन नेरीले १ सय ९ बलमा शतक बनाएकी थिइन्। रेखाले १९ र अञ्जलीको १५ चौका गरी बैतडीले खेलमा कूल ३६ चौका प्रहार गर्‍यो। नेपालगन्जले शुक्रबार यसअघि एकै इनिङ्समा सर्वाधिक २५ चौका प्रहार गरेको थियो।
यी आठ कीर्तिमानमध्ये २ सय ४८ रनको साझेदारी, बैतडीले बनाएको कूल ३ सय ६२ रनको स्कोर, २ सय २९ रनको विजय र एकै इनिङ्समा दुई शतक यसअघि पुरुष राष्ट्रिय क्रिकेटमा समेत बनेको थिएन।
क्षेत्रीय संरचनामा आएको १० वर्षसम्म पुरुष राष्ट्रिय क्रिकेटमा तीन शतक मात्र बनेका थिए। गत वर्ष मात्रै एकै राष्ट्रिय प्रतियोगितामा छ शतक बनेका थिए। यसमा वीरगन्जका अमित श्रेष्ठ एक्लैले दुई शतक बनाएका थिए।
कीर्तिमानी खेलाडीद्वय रेखा र अञ्जली बैतडीको दशरथ चन्द नगरपालिका–५ बस्कोटका हुन्। दुवैले गाउँकै दशरथ चन्द उमाविवाट पढाइ थाले। विद्यालय छेउकै मैदानमा उनीहरू क्रिकेटमा होमिए। खेलकै कारण रेखाले पढाइ त्यागिन्। अञ्जली भने बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत छिन्।
'खेल र पढाइ एकसाथ अघि बढाउन सकिनँ,' रेखाले नागरिकसँग भनिन्, 'क्रिकेटमा केही गर्न सकेकोमा पढाइको पछुतो छैन।'
२०६४ मा प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जिल्लामा महिला क्रिकेट टिम बनाएका थिए। रेखा र अञ्जली टिममा परे। 'दुवै निकै मेहनती थिए, त्यसैको फलस्वरुप राम्रो प्रदर्शन गर्न सकेका हुन्,' क्षेत्र नम्बर ६ बैतडीका प्रशिक्षक चन्दले भने, 'मैले गरेको मेहनत बल्ल देखियो।'
रेखा र अञ्जलीले पहिलोपल्ट २०६४ मा द्वारिकादेवी ठकुरानी क्षेत्रीय महिला क्रिकेट खेलेका थिए। त्यही वर्ष दुवै क्षेत्रीय टिममा परे। सिनियर राष्ट्रिय प्रतियोगिता खेलेकी रेखा राष्ट्रिय टोलीमा परिन्। उनले २०६५ मा पहिलोपल्ट थाइल्यान्डमा सम्पन्न एसिसी यु–१९ महिला क्रिकेट खेल्ने अवसर पाइन्। पहिलो सहभागितामै १४ विकेट लिएकी थिइन्। उनी त्यसयता चारपटक नेपाली टोलीमा परिसकेकी छन्।
अञ्जलीले पहिलोपल्ट सन् २०१० मा सिंगापुरमा एसिसी यु–१९ प्रतियोगिता खेलिन्। उनले तीनपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकिन्। दुवै बैतडीका अलराउन्डर हुन्।
पछिल्लो समय बैतडीको क्रिकेट कमजोर बन्दै गएको थियो। अझ महिला क्रिकेट टोलीले कमजोर प्रदर्शन गर्दै आएको अवस्थामा रेखा र अञ्जलीको प्रदर्शनले आशा पलाएको बैतडीका अध्यक्ष तथा क्यान उपाध्यक्ष चतुरबहादुर चन्दले बताए।
'रितु कनौजिया र सोनु खड्का एपिएफमा आबद्ध हुँदा क्षेत्र कमजोर बनेको थियो,' उनले भने, 'अब अन्य खेलाडीलाई हौसला मिलेको छ।' बैतडी टुक्रिएर दुई क्षेत्र बन्दा सुदूरपश्चिमको क्रिकेट कमजोर बनेको स्थितिमा रेखा र अञ्जलीको प्रदर्शनले उत्साह ल्याएको चन्दको बुझाइ छ।
नेपाली क्रिकेटका कम्प्युटर एनालिस्ट तथा अम्पयार रमन सिवाकोटीले फरक संरचनाका कारण महिला खेलाडी खुलेर खेल्न थालेको बताए।
'मौका नपाएर हुन सक्छ, लामो ओभरको खेल खेल्न पाएपछि खेलाडी खुलेर खेल्न थालेका छन्,' उनले नागरिकसँग भने, 'नेपाली पुरुष टोली एकपछि अर्को राम्रो नतिजा दिँदै विश्वकपमा पुगेको छ, यसले महिला खेलाडीको जोश बढाएजस्तो देखिन्छ। राम्रो खेल्ने हो भने विश्वकप सम्भव छ भनेर महिला खेलाडीले महशुस गरेको हुनुपर्छ।'
नेपाली क्रिकेटको संरचना परिवर्तन गर्दै पहिलोपटक महिला क्रिकेट ४०–४० ओभरको खेलाइएको हो। महिला राष्ट्रिय क्रिकेटका यसअघिका ६ संस्करण २५ ओभर वा ट्वान्टी–२० संरचनाको हुने गर्थ्यो। कीर्तिमानको ओइरो लाग्नुको मुख्य कारण सिवाकोटी यसैलाई मान्छन्।
'गौरवान्वित' बैतडी
बैतडीका दुई खेलाडीले कीर्तिमान राखेपछि त्यहाँका अन्य महिला खेलाडी पनि उत्साहित बनेका छन्। 'आज म धेरै खुसी छु, मेरा साथीहरूले इतिहास रचेका छन्,' बैतडीबाट क्रिकेटमा पाइला टेकेकी रितु कनौजियाले भनिन्। रेखा र अञ्जलीले शतक बनाउँदा बैतडीकी पूर्वकप्तान रितु सशस्त्र प्रहरीको एपिएफ क्लबबाट जनकपुरविरुद्ध भक्तपुरमा खेलिरहेकी थिइन्।
'मैदानमै रेखा र अञ्जलीको शतकको चर्चा सुनेँ,' रितुले खुसी व्यक्त गर्दै भनिन्, 'हतारहतार भक्तपुरको सैनिक मैदानबाटै रेखालाई बधाई दिएँ।' रितु चार वर्षदेखि एपिएफ क्लबमा आबद्ध छिन्।
रेखा, अञ्जली र रितुले एकसाथ बैतडीमा क्रिकेट थालेका हुन्। उनीहरू दशरथ चन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा सँगै अभ्यासमा जुट्थे। एपिएफमा आबद्ध हुनुअघिसम्म रितुले बैतडीको कप्तानी सम्हालिन्। 'रेखा र अञ्जलीको खेलले उत्साह बढेको छ,' रितुले भनिन्, 'स्रोतसाधनको अभावसँग जुधेर पनि केही गरेर देखाए।'
उनले प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। 'म पनि बैतडीकै टिममा राम्रो गर्न चाहन्थेँ। तर आर्थिक अवस्था कमजोर हुँदा एपिएफमा आबद्ध हुनुपर्‍यो,' उनले दुःखेसो पोखिन्, 'साथीहरूसँग मैदानमै खुसियाली बाँड्न नपाउँदा दुःख लागेको छ।'
रितुकै कप्तानीमा बैतडीले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपल्ट महिला क्रिकेटको ट्रफी उचालेको थियो। लगत्तै रितुले नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने मौकासमेत पाइन्।
रेखा र अञ्जलीको प्रदर्शनबारे माया रावतले महेन्द्रनगर घरमै खबर पाइन्। राष्ट्रिय टोलीबाट तीनपल्ट खेलिसकेकी बैतडीकी पूर्वउपकप्तान मायाले दुवैको शतकले उत्साही पारेको बताइन्।
'हामीलाई अझै केही गर्ने हौसला मिलेको छ,' उनले भनिन्, 'खस्कँदै गएको सुदूरपश्चिमको महिला क्रिकेट बलियो पार्न बल मिलेको छ।' घरमै रहेकी उनलाई राजधानीमा रहेकी महेन्द्रनगरकी कप्तान रोशनी बोहराले खबर सुनाएकी थिइन्। 'सुरुमा विश्वासै लागेन,' मायाले भनिन्, 'म पनि शतक हान्थेँ जस्तो मनमा उत्साह जागेको छ।'
महिला क्रिकेटको सुरुआत
माओवादी द्वन्द्व क्रममा नेपालगन्ज सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक थियो। २०६२ सालमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको अगुवाइमा प्लान इन्टरनेसनलको सहयोगमा नेपालगन्जमा महिला क्रिकेटको सुरुआत भयो।
त्यसअघि भैरहवामा पनि महिला क्रिकेटका प्रदर्शन खेल खेलिएका थिए। तर सबै चर्चा नेपालगन्जमा भएको स्कुल महिला क्रिकेटपछि नै भयो। नेपालगन्जको यो प्रयासलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले २००६ मा 'बेस्ट वुमन्स क्रिकेट इनिसिएटिभ' नामक ग्लोबल अवार्ड नै प्रदान गर्‍यो।
एसियाली क्रिकेट परिषदले २००७ मा महिला क्रिकेट प्रतियोगिताको सुरुआत गरिने जनाइसकेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले त्यसैलाई लक्ष्य गरेर २०६३ मा प्रदर्शनी प्रतियोगितामार्फत नेपालमा महिला क्रिकेटको सुरुआत गर्‍यो। नेपालगन्ज, भैरहवा र काठमाडौंले प्रतियोगिता खेल्ने निश्चित भइसकेको थियो। बैतडी स्वस्फुर्त रूपमा अन्तिम समयमा सहभागी हुन आएको हो।
त्यही प्रदर्शन प्रतियोगिताबाट मलेसियामा २००७ मा भएको एसिसी वुमन्स च्याम्पियन्सका लागि महिला टोली बनाइयो। १४ सदस्यीय नेपाली टोलीमा नेपालगन्जका ७ र बैतडीका ४ खेलाडीले स्थान पाए। नेपाल पहिलो प्रयासमै एसिसी प्रतियोगिताको फाइनलमा पुग्यो। त्यो नै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको पहिलो र अन्तिम फाइनल हो। एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपको पहिलो ३ संस्करणै नेपालले जितेको छ।
हरेक वर्ष महिलाको राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ। सहभागी टोली बढेर १० पुगेका छन्। क्यानले तोकेको ९ क्षेत्रीय टोली र सशस्त्र प्रहरी बलले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। भर्खर नयाँ क्षेत्र पाएको महेन्द्रनगरले यसै प्रतियोगिताबाट महिला क्रिकेटमा पाइला टेक्दै छ।
वर्षमा एक पटकमात्र आयोजना हुने राष्ट्रिय प्रतियोगिताका कारण महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रदर्शन नतिजाका आधारमा ओरालो लाग्दो छ। नयाँ संरचना र जारी प्रतियोगितामा देखाएको खेलाडीको जोशिलो प्रदर्शनले महिला क्रिकेटले पुरुष क्रिकेटले देखाएकै बाटो समाउने विश्वास धेरैको छ।

कीर्तिमानको ओइरो
– एकै इनिङ्समा दुई शतक (पुरुषमा समेत)
– रेखा र अञ्जलीद्वारा २ सय ४८ रनको साझेदारी (पुरुषमा समेत)
– कूल ३ सय ६२ रनको स्कोर (पुरुषमा समेत)
– २ सय २९ रनको फराकिलो विजय (पुरुषमा समेत)
– ओपनिङ जोडीद्वारा पहिलोपटक शतकीय साझेदारी
– रेखाद्वारा ७४ बलमै शतक पूरा गरी सबभन्दा छिटो शतक
– १ सय ३१ रन बनाई रेखाद्वारा उच्च व्यक्तिगत स्कोर
– सबभन्दा बढी ३६ चौका प्रहार

नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस २१ गते प्रकाशित
(गिरी नागरिक राष्ट्रिय दैनिकका महेन्द्रनगर संवादाता हुन)

No comments:

Post a Comment