Friday, January 10, 2014

न्युजिल्यान्ड यात्राः अर्को पहिचानको खोजि

पहिलोपल्ट न्युजिल्यान्ड पुग्दा नेपाली क्रिकेट टोली र प्रशिक्षक रोय डायसलाई बढी सोधिएको प्रश्न थियो– 'पहाडै पहाड भएको देशमा क्रिकेट कहाँ खेल्छौं।' न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँगै तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर पहिलोपटक सफल आरोहण गरेकाले धेरैको सोचाइ नेपाल हिमालै हिमाल भएको देश भन्ने थियो।
सन् २००२ मा आइसिसी यु–१९ विश्वपकपले नेपाललाई अन्तर्राष्ट्रियजगतमा पहिलोपल्ट क्रिकेट खेल्ने देश भनेर चिनाएको थियो। पाकिस्तान र बंगलादेशजस्ता राष्ट्रलाई पराजित गर्दै नेपाल प्लेट फाइनल पुगेको कारण पनि नेपाली क्रिकेट चिनिएको हो। पहाडमात्र होइन, सीमित सुविधाका साथै मैदान पनि भएको भनेर नेपालको चिनारी दिनुपरेका डायस यही नतिजाका कारण नेपालले १० वर्षपछि माथिल्लो लेभलको क्रिकेट खेल्ने बताएर फर्केका थिए। झन्डै १० वर्ष बसेपछि डायस नेपाल छाडेर गए। 
१२ वर्षपछि खोला फर्किन्छ भन्ने नेपाली उखानै छ। नेपाली टोली अहिले न्युजिल्यान्डमा छ। नेपाली टोली अहिले अर्को पहिचान बनाउन न्युजिल्यान्ड पुगेको हो। पहिचान एकदिवसीय विश्वकपको। सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटको फाइनल पुगे नेपालले त्यो पहिचान बनाउने छ।
ट्वान्टी–२० विश्वकपमा छनोट भएसँगै एकदिवसीयमा पनि नेपालको विश्वकप सम्भावना देखिएको छ। बलिया टोली मानिएका नेदरल्यान्ड्स, स्कटल्यान्डलाई पछाडि पार्दै नेपाल विश्व ट्वान्टीलाई छनोट भएको थियो। अफगानिस्तानसँग सेमिफाइनलमा रोकिएको नेपाल तेस्रो भयो। नेदरल्यान्ड्स पाँचौं हुँदा स्कटल्यान्ड विश्व ट्वान्टी–२० मा छनोट हुनै सकेन। समूह चरणमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग नेपाल पराजित नभएको होइन।
नेपालले मार्चमा गएर विश्व ट्वान्टी–२० मा सहभागिता जनाउँदै छ। नेपाल पहिलो पटक विश्व क्रिकेटको प्रमुख प्रतियोगितामा उत्रन लागेको हो। डिसेम्बरमा युएईमा सम्पन्न विश्व ट्वान्टी–२० छनोटको सफलतालाई प्रशिक्षक पुबुदु दासानायके क्षणिक मान्छन्। 'ट्वान्टी–२० विश्वकपमा छनोट हुनु ४ महिनाको सफलता हो, हामी अब ४ वर्षको सफलता पाउन खेल्दैछौं,' दासानायके आत्मविश्वासका साथ भन्छन्।
समूह चरणबाट उक्लने सके मात्र नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अनुदान र प्रतियोगिताहरू ओइरिने छ। सुपर सिक्समा पुगेमा कम्तीमा प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चारदिवसीय प्रतियोगितामा छनोट हुनेछ। शीर्ष ४ भित्र परे एकदिवसीय मान्यता र शीर्ष २ मा पुगे विश्वकप र एकदिवसीय मान्यता पाउने छ। प्रथम श्रेणी र एकदिवसीय चार वर्षको हुनेछ।
नेपाल समूह 'ए' मा स्कटल्यान्ड, युएई, क्यानाडा र हङकङ छन्। समूह 'बी' मा नेदरल्यान्ड्स, नामिबिया, केन्या, पपुवा न्युगिनी र युगान्डा छन्।
बंगलादेशको क्रिकेट १५ वर्षअघि नेपालकै स्थितिमा थियो। जतिखेर उनीहरू सन् १९९७ मा मलेसियामा विश्वकप छनोटलाई आधार मानिएको आइसिसी ट्रफी खेलिरहेका थिए। 'क्रिकेट विश्वकप छनोटले कुनै पनि देशमा क्रिकेट क्रान्ति ल्याउन सक्छ, मैले त्यो प्रत्यक्ष भोगेको छु। १९९७ मा आइसिसी ट्रफीमा पाएको सफलताले बंगलादेशमा क्रिकेट हेर्ने जनमानसको दृष्टिकोण नै परिवर्तन गरेको थियो,' बंगलादेशका पूर्वविकेटकिपर खालिद मसुदले हालै आइसिसीको बुलेटिनमा भनेका थिए, '१९९७ मा हामी असफल भएको भए अहिले बंगलादेशको क्रिकेटमा जुन व्यावसायिक संरचना, उत्साह र उमंग छ, त्यो देख्न पाइने थिएन।'
त्यो प्रतियोगितामा बंगलादेश क्रिकेटको कप्तानी गरिरहेका अक्रम खानको पनि विश्वकप छनोट खेल्दाको अनुभव त्यस्तै छ, 'त्यति बेला फुटबल नम्बर एक खेल थियो भने अन्तर्राष्ट्रिय स्तरमा सफलता हात नपारेकाले क्रिकेट आफ्नो अस्तित्वका लागि नै संघर्ष गरिरहेको थियो। यो पीडा सम्पूर्ण बंगलादेश क्रिकेटले महसुस गरिरहेको थियो।'
नेपालले १९९६ मा मलेसियामा एसिसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेक्दा पहिलो खेलका विपक्षी कप्तान खानले भने, 'यस्तै पृष्ठभूमिमा आइसिसीले १९९७ को प्रतियोगिताबाट ३ टोलीलाई विश्वकपमा स्थान दिने उत्कृष्ट निर्णय गर्‍यो। यो निर्णयले हामीलाई अगाडि बढ्न विश्वास जगायो। त्यही निर्णयले बंगलादेश क्रिकेटकै स्वरुप परिवर्तन गर्‍यो। हामी सफल नभएको भए बंगलादेशमा क्रिकेट नै सकिने अवस्था थियो।'
आइसिसीले चार एसोसिएट राष्ट्रलाई यसपल्ट विश्वकप खेल्ने अवसर दिएको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई एसोसिएट टोली आयरल्यान्ड र अफगानिस्तान अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा छानिसकेका छन्। न्युजिल्यान्डबाट थप दुई टोली छानिने छन्। २०११ को विश्वकपमा ६ एसोसिएट टोलीलाई अवसर प्रदान गरेको आइसिसीले २०१९ मा हुने विश्वकपमा टेस्ट खेल्ने राष्ट्र बाहिरको टोली सहभागिताबारे स्पष्ट गरेको छैन। त्यसैले न्युजिल्यान्डको वर्तमान प्रतियोगिताबाटै पाएको अवसर उपयोग गर्न नेपाली टोली लालयित छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस २६ गते प्रकाशित

No comments:

Post a Comment