Saturday, January 11, 2014

नेपाललाई सजिलो छैन न्युजिल्यान्डमा खेल्न

नेपालको सबै आशा न्युजिल्यान्डमा शक्ति गौचनको ब्याटिङमा थियो। शक्तिले कस्तो ब्याटिङ गर्छन् त्यसैमा सन् २००२ को आइसिसी यु–१९ विश्वकपमा नेपालको प्रदर्शन निर्भर रहने अनुमान र विश्लेषण धेरैको थियो।
सन् २००१ मा घरेलु मैदानमा सम्पन्न एसिसी यु–१९ कपले शक्तिलाई स्टार बनायो। माल्दिभ्सविरुद्ध शक्तिले पुल्चोक मैदानमा विपक्षीलाई कुनै अवसर नदिई शतक बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो केवल दोस्रो शतक थियो। शक्तिको यही रवाफमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै नेपालले न्युजिल्यान्डको विश्वकप यात्रा तय गरेको थियो।
तस्विर सौजन्यः क्रिकेटिङनेपालडटकम
न्युजिल्यान्डमा पाकिस्तान र बंगलादेशलाई पराजित गरेको नेपालले प्लेट फाइनलसम्म यात्रा तय गर्‍यो। तर शक्ति ब्याटिङ अनुमान गरे जस्तो विशेष भएन। उनले औसतअनुरुप प्रदर्शन गर्न सके। उनले ८ खेलमा १ सय १६ रनमात्र बनाउन सके। सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचिमा उनी वरदान चालिसे, कनिष्क चौंगाइ, यशवन्त सुवेदी र विनोद दासभन्दा पछाडि थिए।
१२ वर्षअघि न्युजिल्यान्ड जाँदा वसन्त रेग्मी नेपाली टोलीका वैकल्पिक ओपनिङ ब्याट्सम्यान र सिम बलर थिए। वसन्तको इन स्विङ बल विशेष नै मानिन्थ्यो। वसन्तले पूरा प्रतियोगितामा १ खेलमात्र खेल्न पाए। अहिले एकदिवसीय विश्वकप छनोट खेल्न नेपाली टोली न्युजिल्यान्ड पुगेको छ। २००२ मा न्युजिल्यान्ड यु–१९ विश्वकप खेलेको टोलीका शक्ति र वसन्तमात्र वर्तमान टोलीमा छन्। न्युजिल्यान्डको माहोलमा खेल्न सजिलो नभएको उनीहरू जति नेपाली टोलीमा अरुले कमै बुझेका होलान्।
घाँसे विकेट र सिमिङ ट्र्याकमा खेल्नु नेपाली ब्याट्सम्यानलाई नभई कुनै पनि ब्याट्सम्यानलाई सजिलो हुने छैन। शुक्रबार नामिबियासँग अभ्यास खेलपछि नेपाली खेलाडीले यो पक्ष अझ गहिरिएर बुझ्ने अवसर पाएको हुनुपर्छ। नामिबियालाई नेपालले २ सय ३१ रनमै रोक्यो। वर्तमान परिवर्तन नियमानुसार यो लक्ष्य खासै ठूलो होइन। तर नेपाल लक्ष्यभन्दा ४ रनले पछाडि रह्यो। बढीमा ४ जना फिल्डरमात्र ३० यार्ड बाहिर राख्न पाउने नया नियम गत वर्षदेखि लागू भएपछि ठूला स्कोरहरू बन्दै आएका छन्।
अभ्यास खेलमा नेपालमात्र नभई अन्य टोलीले पनि ठूलो स्कोर बनाउन नसक्नुको मुख्य कारण न्युजिल्यान्डको मैदानको वातावरण नै हुनसक्छ। क्यानाडाले दाबेदार मानिएको नेदरल्यान्ड्ससँगको अभ्यास खेल २ सय १२ रन बनाउँदै जितेको थियो। नेदरल्यान्ड्स १ सय ७३ रनमै खुम्चियो। पपुवा न्युगिनीले स्कटल्यान्डसँग १ सय ७१ रनमात्र बनाउन सक्यो। हङकङले २ सय ४२ रनमात्र बनाउन सके पनि केन्यासँगको खेल २ रनले जित्यो।
न्युजिल्यान्डको पिचको भूमिकामा खेल्न कठिन हुने बुझेरै नेपाली टोली दुई साताअघि नै त्यहाँ पुगेको हो। न्युजिल्यान्डको पिचसँग अभ्यस्त भएर खेल्न नसकेमा ब्याट्सम्यानलाई मात्र नभई तीब्र बलरलाई पनि गाह्रो हुने अनुभव पूर्वकप्तान विनोद दासको छ। उनकै कप्तानीमा नेपालले न्युजिल्यान्डमा लगारतार ६ खेल जितेर जिम्बावेसँग यु–१९ विश्वकपको प्लेट फाइनल खेलेको थियो।
'यु–१९ विश्वकप हामीले यही मौसममा खेलेका थियौं, अहिले त्यहाँ सुख्खा हुन्छ, खासै सिमिङ हुँदैन। हावामा पनि बल खासै मुभ हुँदैन, घाँसे विकेटमा अफ द विकेट भने राम्रो हुन्छ र बल मुभ हुन्छ। त्यो अनुसार बल फाल्न सक्नुपर्छ, फास्ट बलरले कुन ठाउँमा बल पिच गराउने हो त्यो सुरुमै बुझ्न जरुरी छ,' विनोद न्युजिल्यान्डको आफ्नो अनुभव सुनाउँछन्। न्युजिल्यान्ड यु–१९ विश्वकपमा विनोदले ११ विकेट लिँदा अर्का दुई तीब्र बलर मञ्जित श्रेष्ठले ८ खेलमा ५ र प्रमोदले ६ खेलमा १ विकेट लिनमात्र सकेका थिए।
शक्तिले सो प्रतियोगितामा ब्याटिङमा राम्रो प्रभाव देखाउन नसक्दाको स्थिति वर्तमान टोलीसँगै जोड्दै उनी भन्छन्, 'हाम्रो यहाँको विकेटजस्तो बल सिधै ब्याटमा आउँदैन। बल रोकिएर आउँछ, त्यही भएर छिटो स्ट्रोक खेल्ने ब्याट्सम्यानलाई गाह्रो हुन्छ। ब्याकफुटमा गएर खेल्नेलाई राम्रो अवसर हुन्छ। ब्याट्सम्यानले बुझेर खेल्न जरुरी छ।' स्पिनरको पनि राम्रो सम्भावना देख्दै विनोद तीब्र बलरलाई फाइदा हुने न्युजिल्यान्डको विकेट भएकाले नयाँ बलरले सुरुआतमै विकेट लिएर सजिलो बनाउनुपर्ने बताउँछन्।
न्युजिल्यान्डमा खेल्दा आधारभूत पक्षमै जोड दिनुपर्ने प्रशिक्षक पुबुदु दासानायके बताउँछन्। 'हाम्रा खेलाडीहरू न्युजिल्यान्डको मैदानको माहोलसँग परिचित छैनन्, न्युजिल्यान्डमा बल धेरै मुभ हुने गर्छ, जहाँ ब्याट्सम्यानले स्विङ र सिमलाई काउन्टर दिन सक्नुपर्छ। यसका लागि हेरेर खेल्नुपर्छ र बललाई चाँडै बुझ्नुपर्छ,' दासानायकले आइसिसीसँग भनेका छन्, 'त्यसैले ब्याट्सम्यानले थप मेहनत गर्नुपर्छ। बलरले नयाँ बल जतिसक्दो घुमाएर त्यसको उपयोग गर्नुपर्छ।'
युएईका कप्तान खुराम खानको चिन्ता पनि न्युजिल्यान्डको विकेट लिएर नै छ। उनले प्रतियोगिताअघि भनेका छन्, 'युएईमा खेलेको भन्दा न्युजिल्यान्ड धेरै फरक छ। हामी प्रायगरी युएईमा सुख्खामा अभ्यास गर्छौं र खेल्छौं। न्युजिल्यान्डमा स्विङ र सिमिङ हुने गर्छ। त्यसैले हाम्रा ब्याट्सम्यानलाई खुलेर खेल्न चुनौती छ। त्यसबाहेक तीब्र बलरले दबाब झेल्नुपर्ने हुन्छ।' युएईका प्रशिक्षक अकिब जावेद न्युजिल्यान्डको विकेटमा खेल्नुपर्ने भएकाले थप तयारी गर्नुपरेको बताउँछन्। उनले भने, 'हाम्रो ब्याटिङ पक्ष राम्रो छ, तर घाँसे र सिमिङ विकेटमा त्यसअनुरुप प्रदर्शन हुन सकेको छैन।'
स्पिनरका लागि सुहाउँदो विकेट नभए पनि शक्ति गौचन र वसन्तको अनुभव नेपाली टोलीका लागि महŒवपूर्ण हुनसक्छ। वसन्त तीब्र बलर त्यागी स्पिनर बनिसकेका छन्। न्युजिल्यान्डको यु–१९ विश्वकपमा सीमित अवसर पाएका वसन्त पछिल्लो भूमिका अंगाल्दा नेपालका प्रमुख खेलाडी बनिसकेका छन्। शक्तिसँगै उनको देब्रेहाते बलिङमै नेपालले ठूलो आशा राखेको छ। न्युजिल्यान्डको विकेट तीब्र बलरलाई उपयोगी हुने भए पनि शक्तिले १२ वर्षअघि स्पिनर भएर १० विकेट लिँदै आफ्नो स्टार छविमा न्याय गरेका थिए।
नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस २७ गते प्रकाशित

No comments:

Post a Comment