Sunday, January 12, 2014

स्वर्णिम इतिहासको पर्खाइमा नेपाली क्रिकेट

नेपाली क्रिकेट इतिहासकै स्वर्णिम मोडमा पुगेको छ। यो मोड पार गरे नेपाली टोली विश्वकपमा पुग्नेछ। न्युजिल्यान्डमा सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सफल भएमा नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाउनेछ।
नेपाल ट्वान्टी–२० विश्वकपमा छानिएको २ महिना पनि भएको छैन। युएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै पाएको सफलताले नेपाललाई क्रिकेटको सबैभन्दा माथिल्लो स्तरमा पुर्‍याएको हो। न्युजिल्यान्डमा नेपाली टोली सफल भए विश्व ट्वान्टी–२० भन्दा माथिको उचाइमा पुग्नेछ।
अप्रिलमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा शक्ति गौचन युएईका खेलाडीको विकेट लिएपछि।                               फाइल तस्बिरः विकास कार्की
पछिल्ला समय पाएको सफलतासँगै कप्तान पारस खड्काले नेपाल एकदिवसीय विश्वकप खेल्न योग्य टोली भएको बताउँदै आएका छन्। प्रशिक्षक पुबुदु दासानायकेले पनि नयाँ चुनौती लिएर आफू नेपाललाई विश्वकपमा पुर्‍याउन आएको बताएका थिए। सुरुमा धेरैले यसमा विश्वास गर्न नसके पनि नेपाल अहिले विश्वकपभन्दा एक कदममात्र पछाडि छ।
दासानायकेले २९ महिना टोली सम्हालेयता नेपाल डिभिजन ४ र डिभिजन ३ जित्दै विश्वकप नजिक पुगेको हो। नेपालले सोमबार युएईसँग प्रतियोगिताको पहिलो खेल खेल्नेछ। त्यही युएईलाई २०१२ मा उसैको मैदान शारजहाँमा पराजित गर्दै दासानायकेले नेपाली टोली विश्वकपमा पुग्न सक्छ भन्ने विश्वास जगाएका थिए। नेपाल त्यसअघि युएईसँगको सबै ६ खेलमा हारेको थियो।  २०१२ को एसिसी ट्रफी इलिट फाइनलमा युएईसँगै 'टाइ' खेल्दै नेपाल संयुक्त विजेता बनेको थियो।
श्रीलंका र न्युजिल्यान्डमा स्थानीय टोलीसँग अभ्यास खेल खेली उच्च मनोबल बनाएको नेपाल पछिल्लो स्थितिमा दबाबमा परेकाले दासानायकेमाथि चुनौती थपिएको छ। कप्तान पारस खड्का र विकेटकिपर एवम् ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले युएईसँग खेल्नेमा अन्योल छ। एक साताअघि केन्टरबरी सेलेक्सन–११ सँगको अभ्यास खेलमा चोट बोकेयता पारस मैदान बाहिर छन्। ज्वरोका कारण सुवासले पनि पछिल्लो दुई खेल गुमाएका थिए। पारस र सुवासको अनुपस्थितिमा नेपाल आइसिसीले उपलब्ध गराएको अभ्यास खेलमा नामिबियासँग ४ रन र केन्यासँग १ विकेटले पराजित भइसकेको छ।
पारस टोलीका प्रमुख खेलाडी हुन्। सबै विपक्षी टोलीले पारसलाई आउट गरे नेपालसँगको खेल जित्ने आधार देख्छन्। न्युजिल्यान्डको पिच पारसको मध्यम गतिको बलिङ सुहाउँदो हुने हुनाले पनि पारसको उपस्थिति नेपाली टोलीका लागि जरुरी देखिन्छ। यसबाहेक पारसलाई एसोसिएट स्तरकै उत्कृष्ट मानिन्छ। पारसले युएईसँग खेल्ने सम्भावना रहेको बताइए पनि सुवासको स्थिति अझै निश्चित भएको छैन। ज्वरोले गलेका कारण उनले पहिलो खेल खेल्ने सम्भावना कम भएको बताइएको छ।
टिम कम्पोजिसन
पारससँगै ज्ञानेन्द्र मल्ल र शरद भेषावकर राम्रो फर्ममा छन्। बर्मुडामा नेपालले ८ महिनाअघि डिभिजन ३ जित्दा शरदले युगान्डाविरुद्धको फाइनलसहित २ अर्धशतक बनाएका थिए। उनले विश्व ट्वान्टी–२० छनोटमा 'म्याच फिनिसर' को अविश्वसनीय भूमिका निभाएका थिए। नेपालले जितेको निर्णायक खेलहरूमा उनले विजयी रन बटुलेका थिए। सोही प्रतियोगितामा २ सय १० रन बनाउँदै ज्ञानेन्द्रले राम्रो प्रभाव पारेका थिए। २ सय ३४ रनका साथ सुवास युएईमा नेपाल युएईमा सर्वाधिक रन बनाउने खेलाडी थिए। अस्ट्रेलियाको बाउन्सी विकेटमा गत वर्ष आइसिसी यु–१९ विश्वकपमा सुवासले राम्रो प्रदर्शन गरेकाले फिट भएमा यसपल्ट पनि उनीबाट त्यस्तै अपेक्षा गरिएको छ।
पछिल्ला समयमा आफ्नो स्थान सुरक्षित गर्न नसकेका अनिल मण्डलले अभ्यास खेलहरूमा ओपनिङबाट राम्रो प्रभाव पारेका छन्। नामिबिया र केन्यासँग खेल्दा मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्छ भन्ने नेपालले देखाएको सकारात्मक पक्ष थियो। विनोद भण्डारी र पृथु बाँस्कोटा यसका कारक थिए। नामिबियासँग अर्धशतक र केन्यासँग पनि विनोदले आक्रामक इनिङ्स खेलेका थिए। प्रदीपको ब्याट केन्याविरुद्ध राम्रोसँग चल्यो। एकदिवसीयको परिवर्तित नयाँ नियम ठूलो सट खेल्ने यी दुईलाई सुहाउँदो मानिन्छ।
प्रशिक्षक दासानायकेले ब्याटिङक्रममा तेस्रो नम्बरमा सागर पुुनलाई खेलाउने संकेत देखाएका छन्। पछिल्ला अभ्यास खेलहरूमा सागरले तेस्रो नम्बरमा खेलेका थिए। पारस अनुपस्थित भए ज्ञानेन्द्र चौथो नम्बरमा झर्नेछन्। फिट भएमा पारसले आफ्नो जमेको चौथो नम्बरमा खेल्ने निश्चित छ। उपयोगी क्रिकेटर मानिएका पृथु जुनसुकै स्थानमा खेल्न सक्छन्।
आधिकारिक 'डेब्यु' गर्ने तयारीमा रहेका सोमपाल कामीका कारण नेपालको तीब्र बलिङ सुधारिएको प्रस्ट छ। तर सोमपालको प्रदर्शन एकरुप हुनसकेको छैन। नामिबियाविरुद्ध ४ विकेट लिएका सोमपालले केन्यासँग ८६ रन खर्चेका थिए। उनलाई जितेन्द्र मुखिया र अविनाश कर्णको साथ छ। जितेन्द्रले युएईमा शानदार बलिङ गरेका थिए। न्युजिल्यान्डको सिमिङ विकेट अविनाशलाई महŒवपूर्ण बन्न सक्छ।
स्पिनरमा वसन्त रेग्मी, शक्ति गौचन, सागर र पृथु छन्। बलिङकै कारण वसन्त टोलीका प्रमुख खेलाडी हुन्। एकसमय नेपाली टोलीका प्रमुख ब्याट्सम्यान शक्ति अहिले १० नम्बरमा ब्याटिङ गर्छन्। अनुभवकै हिसाबले शक्ति अहिले पनि राम्रा अलराउन्डरमा मानिन्छन्।
कठिन समूह
नेपाल समावेश समूह समूह 'ए' निकै कठिन छ। नेपाल र युएईसँगै यो समूहमा स्कटल्यान्ड, क्यानाडा र हङकङ छन्। समूह 'बी' मा नेदरल्यान्ड्स, केन्या, नामिबिया, पपुवा न्युगिनी र युगान्डा छन्। प्रत्येक समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्ने छन्। त्यसबाट शीर्ष २ टोली विश्वकपमा छनोट हुनेछन्। तेस्रो र चौथो हुने टोलीले एकदिवसीय मान्यता पाउनेछ। त्यसपछिका दुई टोली अन्तरमहादेशीय कप चारदिवसीय प्रतियोगितालाई छानिने छन्।
युएई शीर्ष वरियताको टोली हो। नेपालको नवौं वरियता छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई एसोसिएट टोली आयरल्यान्ड र अफगानिस्तान अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा छनोट हुँदा युएई तेस्रो भएको थियो। युएईका प्रशिक्षक तथा पाकिस्तनका पूर्वतीब्र बलर अकिव जावेदको चिन्ता नेपालसँगकै खेलमा छ।
'समूह चरणमा हाम्रो ध्यान स्कटल्यान्ड र नेपालसँग राम्रो खेल्नु हो,' सन् १९९२ को विश्वकप विजेता पाकिस्तानी टोलीका सदस्य जावेदले केही दिनअघि आइसिसी बुलेटिनमा भनेका थिए, 'हङकङलाई पराजित गर्न हामीलाई खासै समस्या परेको छैन, क्यानाडालाई हामीले उही गएर हरायौं। तर अर्को दुई टोलीलाई हेर्ने हो भने पछिल्ला दुई वर्षमा हामी नेपालसँग ३ पटक हारिसकेका छौं, जबकि विश्वकप पुगिसकेको युएईलाई हामीले युएइमै पराजित गरेका थियौं। नेपालले भने हामीलाई दुःख दिँदै आएको छ।'
नेपालले अप्रिलमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल र विश्व ट्वान्टी–२० छनोटको तेस्रो स्थानको खेलमा पनि युएईलाई पराजित गरेको थियो। तर जावेदको भनाइ नेपाललाई दबाबमा पार्न 'माइन्ड गेम' भएको मान्नेहरू पनि छन्।
स्कटल्यान्ड विश्व ट्वान्टी–२० मा छनोट हुन सकेन। तर एकदिवसीय विश्वकपमै दुईपटक सहभागिता जनाइसकेको स्कटल्यान्डलाई प्रतियोगिताको अर्को दाबेदार टोलीमा हेरिन्छ। न्युजिल्यान्डमा स्कटल्यान्डको जस्तै माहोल र पिच हुने हुनाले ब्रिटिस टोलीको सम्भावना बलियो देखिएको हो। काउन्टी क्रिकेटका अनुभवी खेलाडीले भरिएको स्कटिस टोलीमा प्रेसटोन मोमसेल र पूर्वकप्तान गोर्डन ड्रुमोन्ड फर्किएका छन्। दुवै युएईको पछिल्लो प्रतियोगितामा थिएनन्। सो प्रतियोगितामा स्कटल्यान्डका म्याट माचनले सबैभन्दा बढी ३ सय ६४ रन बनाएका थिए।
युएई र स्कटल्यान्डले न्युजिल्यान्डमा दुवै आधिकारिक अभ्यास खेल जितेका छन्। युएईले युगान्डालाई ७३ रन र नेदरल्यान्डलाई ६ विकेट तथा स्कटल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेट र नामिबियालाई ६३ रनले पराजित गरी बलियो दाबेदारिता प्रस्तुत गरेका छन्। केन्यामाथि २ रनको विजय पाएका हङकङ पपुवा न्युगिनीसँग ४२ रनले पराजित भयो। नेपालले २००६ यता हङकङसँगको सबै अभ्यास खेल जित्दै आएको छ।
समूह 'ए' मा स्कटल्यान्डपछि क्यानाडा एकदिवसीय मान्यताप्राप्त टोली हो। २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा क्यानाडा उपाधि भिडन्तमा आयरल्यान्डसँग पराजित भएको थियो। यो सबै इतिहास भइसकेको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ८ टोलीमा टोली पुछारमा थियो। शुक्रबार र शनिबारको दुई अभ्यास खेलमा क्यानाडालाई नेदरल्यान्ड्सले ३९ रन र युगान्डाले ७१ रनले पराजित गरेको थियो।
क्यानाडालाई २०११ को विश्वकपमा पुर्‍याउने प्रशिक्षक दासानायके नेपाली क्रिकेटको पछिल्लो समयको सफलताका रणनीतिकार हुन्। २००७ मा पनि क्यानाडा विश्वकपमा छनोट हुँदा दासानायके खेलाडी थिए। विश्वकप पुर्‍याउन के गर्नुपछि भन्ने दासानायकेलाई राम्रोसँग थाहा छ। नेपाली टोलीले यो बुझेको छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० पुस २८ गते प्रकाशित

No comments:

Post a Comment