Sunday, April 13, 2014

आन्दोलित खेलाडीलाई वार्तामा आउन क्यानको अनुरोध

एक साता भित्रै तलब र भत्ता उपलब्ध गराइने बाचा
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।
क्रिकेट खेलाडीहरूले करिब आठ महिनादेखिको तलबभत्ता तत्काल दिनुपर्ने, क्यानको व्यवस्थापन परिवर्तन गर्नुपर्ने लगायत माग राख्दै बुधबार सुरु राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेपछि क्यान दबाबमा परेको थियो। त्यही दबाबका कारण क्यानले शनिबार आकस्मिक बोर्ड बैठक डाकेर सात दिनभित्र खेलाडीहरूको तलब र सबै भत्ता दिने निर्णय गरेको हो। बैठक झन्डै पाँच घन्टा चलेको थियो।
पत्रकार सम्मेलनमा क्यानका पदाधिकारीहरु। तस्विर सौजन्यः दीनेश गोले
ट्वान्टी–२० विश्व क्रिकेटमा ऐतिहासिक प्रदर्शन गरेका क्रिकेट खेलाडीले राष्ट्रिय प्रतियोगिता नै बहिष्कार गरेपछि क्यानले बोर्ड बैठकलगत्तै शनिबार राति एकाएक पत्रकार सम्मेलन गरी खेलाडीको माग पूरा गर्ने निर्णयमा पुगेको जानकारी दिएको छ। क्यानका महासचिव अशोकनाथ प्याकुरेलले साउनदेखि तलब नदिएको स्वीकार गरेका छन्।
'खेलाडीको तलब दिन २–३ महिना ढिला भएकै हो। सामान्यतया पहिला पनि हामी ६–६ महिनामा तलब दिन्थ्यौं,' उनले पत्रकार सम्मेलनमा भने, 'एकदिवसीय र ट्वान्टी–२० विश्वकप छनोट तथा विश्व ट्वान्टी–२० ले गर्दा ढिलाई हुन गएको हो, नदिने नियत होइन।'
क्यानले शनिबारको बोर्ड बैठक नयाँबानेश्वरस्थित आफ्नै कार्यालयमा गर्ने भने पनि राष्ट्रिय क्रिकेट टिमका प्रशंसकहरूले विरोध गरेपछि ललितपुरको एक रेस्टुरेन्टमा गरिएको थियो। क्यान बैठक आइतबार पनि जारी रहनेछ।
बैठकले खेलाडीहरूले राखेका मागमा उचित सुनुवाइ हुने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ। 'यो आन्दोलनले देशको सम्पूर्ण क्रिकेट संरचनामै नकारात्मक असर पार्छ, हामी खेलाडीहरूलाई वार्तामा आउन आग्रह गर्छौं,' महासचिव प्याकुरेलले भने, 'खेलाडीहरू जिम्मेवार व्यक्ति हुन्, वार्तामा आउनुहुन्छ भन्ने आशा राखेका छौं।'
क्रिकेटको संरचना सुधारका साथै खेलाडीहरूले राखेका माग सम्बोधन गर्न क्यान उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा वार्ता टोली गठन गरिएको उनले जानकारी दिए। वार्ता टोलीमा ठाकुरप्रताप थापा र दीपक साउद छन्। दुवै क्यान सदस्य हुन्। वार्ता समितिलाई 'निश्चित क्षेत्राधिकार' दिइएको क्यानले जनाएको छ। क्षेत्राधिकारबारे प्याकुरेलले खुलाएनन्।
क्यानको निर्णयबारे प्रतिक्रिया जनाउँदै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्य खेलाडीसँग छलफल गरेरमात्र वार्तामा बस्ने–नबस्ने निर्णय लिने बताएका छन्। 'वार्तामा बस्ने भए पनि सरकार र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि हुनैपर्छ,' उनले शनिबार राति नागरिकसँग भने। अघिल्लो दिन पारसले क्यानसँग वार्ता नै नगर्ने बताएका थिए।
खेलाडीहरूले राखेका मागमध्ये ट्वान्टी–२० विश्वकपमा छनोट भए ५० हजार डलर दिनेबारे कुनै निर्णय नभएको क्यान अध्यक्ष टंक आङबुहाङले दाबी गरे। खेलाडीहरूले भने विश्वकपमा छनौट भए ५० हजार अमेरिकी डलर दिने भनिएको बताएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वकपमा पुगेपछि प्रदान गरेको २ लाख ५० हजार डलरबाट खेलाडीलाई ५० हजार दिने भनेकोमा कुनै सुनुवाई नभएको उनीहरूको आरोप थियो।
'हामीले विश्वकप पुगेपछि आइसिसीबाट प्राप्त रकममध्ये ५० हजार डलर खेलाडीका लागि खर्च गर्नुपर्छ र त्यो आइसिसीकै कार्यविधिअनुसार सन् २०१५ सम्म दिइसक्नुपर्छ,' आङबुहाङले भने, 'आइसिसीले हामीलाई अहिलेसम्म ५० हजार डलरबाहेक अन्य रकम पठाएको छैन। रकम आउनेबित्तिकै एउटा प्रक्रिया बनाएर खेलाडीलाई दिनेछौं।'
क्यानले खेलाडीहरूले उठाएको आर्थिक पारदर्शीताको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुषन्धान आयोगलाई चाहिने जुनसुकै सहयोग गर्न तयार रहेको बताएको छ। 'दोषी ठहर नभएसम्म राजीनामा दिनुपर्ने कारण छैन,' अध्यक्ष आङबुहाङले भने। खेलाडीहरूले क्यानमा आर्थिक पारदर्शिता नभएको कुरा उठाएपछि अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको छ। यही क्रममा अख्तियारले क्यान अध्यक्ष आङबुहाङ, महासचिव प्याकुरेल र कोषाध्यक्ष राजुबाबु श्रेष्ठलाई शुक्रबार आफ्नो कार्यालयमा बोलाएको थियो।
खेलाडीले क्यानका सबै पदाधिकारीको राजीनामा माग्दै नयाँ व्यवस्थापन माग गरेको विषयमा महासचिव प्याकुरेलले भने, 'क्यानको विधान र खेलकुद ऐनबमोजिम अहिलेको निर्वाचित संघ एकमात्र आधिकारिक र सर्वोच्च निकाय हो। बैठकले पनि यही ठहर गरेको छ।' त्यस्तै, खेलाडीहरूले सार्वजनिक रूपमा क्रिकेट व्यवस्थापनको आलोचना गर्नुलाई 'अनुशासन उल्लंघन' भन्दै क्यानले सचिव उत्तम कर्माचार्यको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ। यसमा ठाकुर पहारी, किरण राणा, सञ्जीव पाण्डे र दिवाकर घले सदस्य छन्।
तीन महिनाअघि न्युजिल्यान्डमा एकदिवसीय विश्वकप खेल्न जाँदा घाइते भएका खेलाडी पृथु बाँस्कोटाको विषयमा भने सूचना आदानप्रदानमा समस्या देखिएको महासचिव प्याकुरेलले प्रस्टीकरण दिए। 'हामी पृथुसँग निरन्तरत सम्पर्कमा छौं, यसअघि पनि भारतमा उपचार गराउँदा पृथुको सबै खर्च क्यानले बेहोरेको थियो,' उनले भने, 'अहिले पनि क्यानकै पहलमा अस्ट्रेलियामा उपचार गराउने प्रक्रिया अघि बढेको छ। पृथुलाई ७–८ दिनअघि नै तत्काललाई ५ हजार अस्ट्रेलियन डलर दिने निर्णय भएको थियो।'
खेलाडीहरूले भने पृथुको उपचारमा क्यानले ५ लाख रुपैयाँ दिने मौखिक जानकारी गराए पनि जिम्मेवारी नलिएको आरोप लगाएका थिए। पृथुलाई उपचार निम्ति आवश्यक पर्ने झन्डै १५ हजार डलरमध्ये आफैंले केही रकम उठाएर दिन लागेको उनीहरूले बताएका थिए।
खेलाडीको हितका हिसाबले नेपाली क्रिकेटलाई खेलकुद सामग्री उपलब्ध गराएको बिएस स्पोर्टससँग बैठक गर्ने क्यानले जनाएको छ। क्यानले चार महिनाअघि खेलाडीको पोसाकलगायत विषयमा सिंगापुरस्थित बिएस स्पोर्टससँग सम्झौता गरेको थियो। खेलाडीले प्रयोग गर्ने ब्याटमा पनि बिएस स्पोर्टसकै लोगो लगाउने सम्झौता गरिएकोमा खेलाडीहरूले विरोध गरेका छन्। खेलाडीले ब्याटमा कुन लोगो राख्ने भनी छान्ने अधिकार आफ्नो भएको बताएका छन्। क्यानले खेलाडीसँग कुनै सल्लाह नगरी बिएस स्पोर्टससँग सम्झौता गरेर खेलाडीको व्यक्तिगत प्रायोजक खोसेको कप्तान पारसले पत्रकार सम्मेलनमा बताएका थिए।
राष्ट्रिय प्रतियोगिता गलत समयमा नगरिएको पनि क्यानको दाबी छ। 'राष्ट्रिय प्रतियोगिता क्यानले वर्षमा एकपटक आयोजना गर्नुपर्छ, त्यसैअनुसार गरिएको हो, प्रायोजकसँगको प्रतिबद्धताका कारण हामीले यो प्रतियोगिता आयोजना गर्नुपर्छ,' प्याकुरेलले भने, 'राष्ट्रिय प्रतियोगिता एसिसी प्रिमियर लिगका लागि खेलाडी छनौटको आधारमात्र नभएर एक वर्षसम्मको अन्तर्राष्ट्रिय प्रतियोगितालाई खेलाडी खोज्ने र प्रतिभा खोज्ने अवसर पनि हो।' ट्वान्टी–२० विश्वकपलगत्तै खेलाडीलाई आराम दिएकाले समय अभावका कारण अहिले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
राष्ट्रिय प्रतियोगिता बुधबारदेखि काठमाडौं र पोखरामा सुरु भएको छ। त्यसको भोलिपल्ट बिहीबार एसिसी प्रिमियर लिगमा खेलाडीको नामावली पठाउनुपर्ने थियो। खेलाडीले भने क्यानले छनौट प्रतियोगिता भनेर ढाँटेको आरोप लगाएका छन्। 'एसिसीसँग खेलाडी नामावली बुझाउन केही समय मागिएको छ, पहिला पनि हामीले ढिला हुँदा माग्ने गरेका छौं,' प्याकुरेलले भने।
एसिसी प्रिमियर लिगको एक साताअघि मात्र राष्ट्रिय प्रतियोगिता सकिने भएकाले त्यसको औचित्य नभएको खेलाडीहरूको दाबी छ। 'एक साताको तयारीमा कसरी अफगानिस्तान, युएई र हङकङजस्ता टोलीसँग राम्रो नतिजाको आशा गर्न सकिन्छ,' कप्तान पारसले भने।
नागरिक राष्ट्रिय दैनिकमा २०७० चैत ३० गते प्रकासित

No comments:

Post a Comment