Wednesday, April 23, 2014

प्रतिभालाई निर्खादै आरिफ

नेपाल एपिएफ क्लबका फिल्डरहरूले असुहाउँदो फिल्डिङ गरिरहेका थिए। उनीहरूले यो अवसर दिँदा पनि वीरगन्ज सुरक्षित स्थितिमा थिएन। टोलीलाई दोस्रोपल्ट पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न एउटा साहसिक इनिङ्स खाँचो थियो।
३१–४ को अवस्थामा वीरगन्जलाई सोमबार एपिएफविरुद्ध फाइनलमा २ सय १४ रनको लक्ष्यसम्म पुग्नु थियो। युवा क्रिकेटर आरिफ शेखले त्यो साहस देखाए। उनले अमित श्रेष्ठसँग मिलेर आकर्षक ब्याटिङ गरेपछि वीरगन्ज विजेता बन्यो। राष्ट्रिय खेलाडीहरूले बहिष्कार गरेको अवस्थामा वीरगन्ज र आरिफले मौका छोपे।

राष्ट्रिय प्रतियोगितामा आरिफ म्यान अफ द सिरिज ट्रफीका साथ । तस्विर :  विनोद पाण्डे
आरिफले आफूलाई प्रतिभावान् भएको देखाउँदै आएका थिए। राष्ट्रिय प्रतियोगिताबाट उनले त्यसलाई थप पुष्टि गरे। आरिफले फाइनलमा बनाएको ७० रन राष्ट्रिय प्रतियोगितामा युवा खेलाडीले खेलेको एक उत्कृष्ट इनिङ्स थियो। 'म खुसी यस कारण छु कि मेरो इनिङ्सले टोली विजयी भयो,' सालिन स्वभावका आरिफ भन्छन्, 'हाम्रो टोली सन्तुलित थियो, स्थिति अनुसार खेल्दै गयौं। प्रतिद्वन्द्वी कस्तो छ भनेर हेरेनौं।'
वीरगन्जलाई उपाधि दिलाउनु आरिफको पहिलो खुसी मात्र थियो। फाइनलमै देखाएको उत्कृष्ट प्रदर्शनले उनलाई म्यान अफ द सिरिजको पुरस्कार दिलायो। १७ वर्ष पुग्नै बाँकी आरिफजस्ता खेलाडीका लागि राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी हुनुको अर्थ बेग्लै थियो। अझ उनको यो केवल तेस्रो राष्ट्रिय प्रतियोगिता थियो। आफूले म्यान अफ द सिरिज पाउँछु भनेर सोच्दा पनि नसोचेको उनले बताए।
लगातार आफ्नो प्रदर्शन तिखार्दै आएका आरिफलाई मलेसियामा हुने एसिसी प्रिमियर लिगमा नेपालको १८ सदस्यीय टोलीमा राखिएको छ। यो नेपालको प्रारम्भिक टोली भए पनि उनको मलेसिया निश्चितजस्तै भइसकेको छ। 'सक्दो राम्रो खेल्न मैले प्रयास गरिरहेको छु। एसिया कपदेखि नै मैले राम्रो खेल्दै आएको छु,' आरिफले भने, 'जुन हिसाबमा राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरिरहेको थिएँ, त्यसअनुसार एकदिन राष्ट्रिय टोलीमा पर्छु जस्तो लाग्थ्यो। तर अहिले नै १८ सदस्यको सूचीमा परें भनेर विश्वास लागेको छैन।'
वीरगन्ज मुरलीका आरिफ डिसेम्बरमा एसिसी यु–१९ एसिया कपको नेपाली टोलीमा समावेश गरिएपछि चर्चामा रहे। उनको पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो। युएईमा आरिफले अनुभवी खेल प्रदर्शन गरे। नेपालबाट ३ खेलमा सबैभन्दा बढी १ सय १३ रन बनाए। उनले पाकिस्तानविरुद्ध २५, भारतविरुद्ध ४० र युएईविरुद्ध ४८ रन बनाएका थिए। यही प्रदर्शन उनले राष्ट्रिय प्रतियोगितामा निरन्तरता दिएका हुन्।
आरिफले पोखरामा समूह चरणका ४ खेल र काठमाडौंको सेमिफाइनल र फाइनल गरी ६ खेलमा २ सय ६१ रन बनाए। उनको औसत ५२.२० र स्ट्राइक रेट ६९.९७ थियो। उनले तीन अर्धशतक बनाए। त्यसमा फाइनलमा बनाएको ७० रन उच्च स्कोर थियो। बलिङमा उनले १५.३६ को औसतमा ११ विकेट लिएका थिए, जसमा इकोनोमी ३.४७ थियो। आरिफले भैरहवासँग सेमिफाइनलमा २५ रन बनाउनुका साथै ३ विकेट लिएका थिए।
आरिफको मनपर्ने खेलाडी शरद भेषावकर हुन्। 'शरद दाइ पनि मध्यपंक्तिमा ब्याटिङ गनुहुन्छ, म पनि,' शरदलाई मन पर्नुको कारण भन्छन् उनी। मिडअनमा स्लग गर्ने शरदको सट आरिफलाई धेरै मनपर्छ। आरिफ आफै भने ब्याक फुटमा पन्च गरेर मिडअनमा एक रन निकालेको सट खेल्न बढी रुचाउँछन्। शरदसँग मध्यपंक्तिमा मलेसियामा ब्याटिङ गर्ने उनले नयाँ सपना देखेका छन्।
ब्याटिङ अलराउन्डर आरिफलाई अहिले नेपाली क्रिकेटकै ठूलो प्रतिभा मान्न थालिएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको पनि यसमा खासै फरक मत छैन। 'आरिफ निकै प्रतिभावन खेलाडी हुन्, उनले छिट्टै आफ्नो खेल माथिल्लो स्तरमा पुर्‍याउने विश्वास लिएको छु,' उनले भने। आरिफको ब्याट कमसल देखेर दासानायकेले मंगलबार मात्र उनलाई नयाँ ब्याट उपहार दिएका छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ वैशाख १० गते प्रकासित

No comments:

Post a Comment