Saturday, April 26, 2014

महबुबको पुनरागमन

पुरानै लय फर्काउने अभियानमा जुटेका भेट्रान क्रिकेटर महबुब आलमलाई नयाँ ब्याटिङ शैलीमा देख्न पाइनेछ। 'बिचमा घाइते हुँदा क्रिकेटबाट ध्यान नै हराएको थियो,' एसिसी प्रिमियर लिग क्रिकेटका लागि १४ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएपछि महबुबले भने, 'पुरानो लयमै फर्कने तयारी गर्छु। त्यसका लागि मैले आफ्नो ब्याटिङ शैली नै परिवर्तन गरेको छु।'
एसिसी प्रिमियर मे १ देखि मलेसियामा मे १ देखि हुनेछ। नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, नरेश बुढाऐर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, आरिफ शेख, रामनरेश गिरी, राजकुमार प्रधान र महबुब छन्। पुष्प थापा, भुवन कार्की र यज्ञमान कुमाल वैकल्पिकमा परेका छन्।


नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा महबुब पनि थिए, तर उनी वैकल्पिकमात्र। क्यान सूत्रका अनुसार महबुब १४ सदस्यीय टोलीमा थिएनन्। १८ सदस्यीय टोलीमा रहेका अमृत भट्टराई प्रशिक्षणक्रममा घाइते भएपछि महबुबलाई अन्तिम टोलीमा राखिएको हो। अमृत वैकल्पिकमा पनि छैनन्।
मंगलबार कीर्तिपुर मैदानमा अभ्यासक्रम बलिङ गर्दा देब्रेहाते अमृतको घुँडा दोब्रिएको थियो। अमृतले अब डेढ महिना रिहाबमा बिताउनुपर्नेछ। तीन इन्जेक्सन लिनुपर्नेछ। उनलाई मैदानमा फर्कन दुई महिनाजस्तो लाग्न सक्छ। अमृत यसलाई आफ्नो दूर्भाग्य मान्छन्। उनले भने, 'अहिले अन्य बलर नहुँदा मैले पहिलो रोजाइमा खेल्ने पक्का जस्तै थियो। मैले आफूलाई फेरि एकपटक प्रमाणित गरेर देखाउँछु भनेको थिएँ। तर दूर्भाग्य अहिले म आफै खेल्न नसक्ने भएँ।'
महबुबले नेपाली टोलीबाट पछिल्लोपल्ट २०१२ को मार्चमा युएईमा विश्व ट्वान्टी–२० छनोटमा खेलेका थिए। प्रतियोगिताका ७ खेलमा ३४ रन बनाउनुका साथै १ विकेट मात्र लिएपछि उनलाई राष्ट्रिय टोलीबाट हटाइएको थियो। त्यसयता डिभिजन ४ मा रहेको नेपाल डिभिजन २ मा उक्लनुका साथै एसिसी ट्रफीमा संयुक्त विजेता बन्यो भने ट्वान्टी–२० विश्वकप पनि खेलिसकेको छ।
सन् २००० मा युएईमा भएको एसिसी ट्रफीदेखि टोलीमा रहँदै आएका महबुबले राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्नु अबको उद्देश्य भएको बताए। 'मलाई पुनरागमन गर्न सकिन्छ भन्ने विश्वास थियो। राम्रो अभ्यास गरिरहेको छु,' उनले भने, 'गृहनगर राजविराजमा आयुष श्रेष्ठसँग मिलेर क्रिकेट एकेडेमी खोलेको छु, सिक्न आउने खेलाडीसँगै आफै अभ्यास गरिरहेको हुन्छु।'
त्यसैअनुसार आफूले कञ्चनपुरमा अन्तरक्लब प्रतियोगितामा राम्रो गरेर म्यान अफ द सिरिज भएको महबुबले स्मरण गराए। उनले थपे, 'चितवनमा पनि राम्रो खेलेको थिएँ। भारतको विभिन्न स्थानमा खेलिरहेको थिएँ, प्रदर्शन राम्रो भएको थियो। यो सिजनमा धेरै स्थानीय स्तरका प्रतियोगिता खेलेकाले राम्रो भइरहे जस्तो लाग्छ।'
उनले आफू क्रिकेटमा अझै गम्भीर भएको बताए। 'पहिला ५० ओभर खेल्दा अलि अतालिन्थें। अहिले आफूलाई धेरै केन्द्रित गरेको छु। बाउन्ड्रीभन्दा पनि १–२ रनमा जोड दिएको छु। क्रिजमा बढी समय बिताएपछि रन बनिरहेको छ। राष्ट्रिय स्तरमा यसरी नै खेल्दा राम्रो भएको थियो,' महबुबले भने, 'यो प्रतियोगितामा धेरैले राम्रो गरेका थिए, मैले छुट्टै तयारी गरेर आएको थिएँ।'
१६ राष्ट्रिय खेलाडीले बहिष्कार गरेको राष्ट्रिय प्रतियोगितामा महबुबले झन्डै २ सय रन बनाउनुका साथै १० विकेट लिएका थिए। पहिलो चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दा म्यान अफ द सिरिजको दाबेदारमा रहेका महबुब समूह चरणको अन्तिम खेल र नेपाल एपिएफ क्लबसँगको सेमिफाइनलमा चुकेका थिए।
महबुबका अनुसार उनले अब विगतमा खेल्दै आएको आक्रामक शैलीभन्दा रक्षात्मक भएर खेल्ने छन्। त्यसमा उनले पहिलो रोजाइमा स्थान पाएमा मध्यपंक्तिबाटै खेल्ने छन्। साउदी अरेबियाविरुद्ध २०११ मा एसिसी ट्वान्टी–२० कपमा कीर्तिपुरमा २० बलमा पूरा गरेको अर्धशतक नेपाली खेलाडीको अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक हो।
यसै साता सम्पन्न राष्ट्रिय प्रतियोगितामा १६ वर्षे आरिफ म्यान अफ द सिरिजमा चुनिँदै राष्ट्रिय टोलीमा आएका हुन्। उनीसँगै रामनरेश पनि प्रतियोगिताका लागि म्यान अफ द सिरिजको दाबेदारमा थिए। गत वर्ष सिंगापुरमा भएको एसिसी इमर्जिङ टिम्स कपमा नेपाली टोलीमा रहे पनि रामनरेशले कुनै खेल खेल्न पाएका थिएनन्।
राजकुमार राष्ट्रिय प्रतियोगितामा कुल २० विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका थिए। २००८ मै मलेसियामा भएको एसिसी ट्रफी राजकुमारले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो। सन् २००२ देखि राष्ट्रिय टोलीमा रहँदै आएका ३८ वर्षे राजकुमार २००९ मा युएईमा भएको एसिसी ट्वान्टी–२० कपअघि वैदेशिक रोजगारीमा कतार लागेका थिए।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ वैशाख १३ गते प्रकासित

No comments:

Post a Comment