Tuesday, August 5, 2014

तयारी कम, उत्साह बढी

यु–१६ एसिसी प्रिमियर लिग
एसिसी यु–१६ नेपालले जित्न नसकेको क्रिकेट प्रतियोगिता हो। मलेसियामा अर्को साता सुरु  एसिसी प्रिमियर लिगको तयारी हेर्ने हो भने नेपालले यसपल्ट पनि जित्ने सम्भावना कम देखिन्छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकटमा रहेको जनाउँदै यु–१६ को राष्ट्रिय प्रतियोगिता नै गरेन। राष्ट्रिय प्रतियोगिताबिनै नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेको पहिलोपल्ट हो। आ–आफ्नो जिल्लामा खेलेको अनुभवमै अन्तर्राष्ट्रिय प्रतियागितामा क्षमता देखाउने जिम्मेवारी यु–१६ टोलीले पाएको छ।
स्पिनर आशिष पोखरेल इन्डोर अभ्यासका क्रममा बलिङका लागि तयार हुँदै।

 तीन हप्ताभन्दा कम समयको बन्द प्रशिक्षण। त्यसमा वर्षाको प्रभाव। नेपालको तयारी सोचेभन्दा कमजोर छ। मनसुनका कारण नेपालीले टोलीले अधिकांश समय जिममा बिताएको छ। टर्फ विकेटमा ब्याटिङ र बलिङ गर्न पाउनु यु–१६ का खेलाडीलाई त्यसै नौलो भएको छ। वर्षाले प्रभावित हुँदा कीर्तिपुरको खुला इन्डोरमा म्याट बिछ्याएर बलिङ र ब्याटिङ गर्नमा सीमित छ नेपाली टोली। सोमबार पुल्चोक मैदानमा तय भएको टोलीको प्रशिक्षण वर्षाका कारण कीर्तिपुरको इन्डोरमा सर्‍यो।
क्यानले क्षेत्रबाट सिधै ६–६ खेलाडी मगाएर छनोट प्रक्रिया पूरा गरेको थियो। त्यसमा पनि ५९ खेलाडीको हड्डीको एक्सरे रिपार्ट पठाइएकोमा एसियाली क्रिकेट परिषद (एसिसी) ले २७ जनालाई मात्र १६ वर्षमुनिको भनी योग्य ठहर्‍याएको थियो। त्यसैबाट अन्तिम १४ खेलाडी छानेर नेपाल यु–१६ प्रिमियर लिग खेल्न मलेसिया जाँदैछ।
'तयारी जुन किसिमले हुनुपर्ने हो त्यस्तो भएको छैन, जेनतेन गरिरहेका छौं,' प्रशिक्षक वसन्त शाहीले नागरिकसँग भने, 'मौसमका कारण प्रशिक्षण गर्न समस्या छ, मैदान पनि व्यवस्थित छैन। ग्रान्ड फिल्डिङ अझै गर्न पाएको छैन, हाम्रो कमजोरी फेरि त्यसैमा देखिएको छ। यु–१६ भनेको सुरुआती कदम हो। तर खेल्न वातावरण छैन।'
आशावादी प्रशिक्षक
विभिन्न समस्या बाबजुद प्रशिक्षकद्वय शाही र राजु बस्न्यात नेपालले राम्रो गर्नेमा आशावादी छन्। 'यु–१६ मा यतिको टोली धेरै राम्रो हो,' बस्न्यात भन्छन्, 'राष्ट्रिय प्रतियोगिता नभई यतिको खेलाडी देखिएको छ। राष्ट्रिय प्रतियोगिता र अन्य ग्रासरुटको कार्यक्रम भए अझ राम्रा खेलाडी पाउन सकिन्थ्यो।'
प्रशिक्षक शाही त्यसमा सहमत हुँदै नेपालभर खुलेका एकेडेमीले गर्दा बनिबनाउ खेलाडी पाइएकोमा भाग्यमानी ठान्छन्। उनी भन्छन्, 'नभए अहिले यु–१६ मै गाह्रो हुन्थ्यो। हामीले ग्रासरुटमै विचार गर्नुपर्छ। विकासको दायरा फराकिलो बनाउनुपर्छ।'
एसिसीले नै हड्डी एक्सरे रिपोर्टका आधारमा खेलाडी छनोट गरे पनि आफूहरूले सन्तुलित टोली पाएकोमा शाही उत्साहित छन्। 'यसका बाबजुद पनि टिम मिलेको छ,' युवा खेलाडीहरू सिक्न उत्सुक रहेको तर्क दिँदै शाही भन्छन, 'फिल्डिङ सेटअप, गेम प्लान र रणनीतिक पक्षबारे खेलाडीले ज्ञान पाएका छन्। क्रिकेट भनेको ब्याटिङ, बलिङ र फिल्डिङमात्र होइन भन्ने उनीहरूले अहिले आएर बुझे।'
राष्ट्रिय टोलीका पूर्वदेब्रेहाते स्पिनर बस्न्यातले यु–१६ टोलीको विशेषता भनेकै स्पिन आक्रमण रहेको बताए। शाहीले ब्याटिङमा पनि भरोसा देखाए। 'हाम्रो बलियो पक्ष ब्याटिङ हो। तर म्याच अनुभवको कमी छ। स्पिन बलिङ राम्रो छ, मिडियम पेसमा अझै मिहिनेत गर्नुपर्छ,' उनले भने।
सकारात्मक लक्ष्य
शाही बन्द प्रशिक्षण कम्तीमा दुई महिना हुनुपर्ने बताउँछन्। तर त्यसको ५ हप्ता कम भए पनि नेपालले मलेसियामा अगस्ट १२ बाट हुने प्रतियोगितामा सकारात्मक लक्ष्य राखेको छ। २०१० मा काठमाडौंमा भएको यु–१६ इलिट कपको पहिलो संस्करणमा नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भयो। दुई वर्षपछि प्रतियोगिताको अर्को संस्करण मलेसियामा भयो। नेपालले भाग्य परिवर्तन गर्न सकेन। आयोजकसँग नेपाल फाइनलमा १ विकेटले पराजित भयो, जुन मलेसियाको एसिसीमा पहिलो उपाधि पनि थियो।
प्रशिक्षक वसन्त शाही

एसिसीले यस वर्षदेखि आफ्नो सम्पूर्ण प्रतियोगिताको संरचना परिवर्तन गर्दै इलिट र च्यालेन्ज हटाएर प्रिमियर र इलिटमा आयोजना गरिरहेको छ। नेपालले राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा थाइल्यान्डसँगै आयोजक मलेसिया, ओमान, सिंगापुर र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
'हामी सकारात्मक सोचसाथ मलेसिया जाँदैंछौं,' शाहीले कारण दिन्छन्, 'हाम्रा खेलाडीमा जुन प्रतिभा छ, त्यो अगाडि ल्याउन सकिन्छ। खेलाडीहरू पनि राम्रो प्रदर्शन गर्न निकै उत्साहित छन्। जिल्ला, क्षेत्र र एकेडेमीमा बसेर खेलिरहेकाले खेलाडी राम्रो फर्ममा देखिएका छन्।'
उनले मलेसियालाई नै नेपालको ठूलो चुनौती मानेका छन्। उनले मलेसियामा अनुभवी खेलाडी रहेको सुनेका छन्। आसिफ शेख नेपाली टोलीका एकमात्र अनुभवी खेलाडी हुन्। दुई वर्षअघि मलेसियामै उनले एसिसी यु–१६ इलिटमा सहभागिता जनाएका थिए।
वर्षाले प्रभावित पारे पनि तीन अभ्यास खेल खेलाउँदा सिनियर राष्ट्रिय टोलीका आरिफ शेखका भाइ आसिफले एकमा अविजित १ सय २ रन बनाएका थिए। अर्कोमा नेपालगन्जका पुनित थापाले अविजित ८२ रन बनाए। काठमाडौंका सुमित महर्जनले ५२ रन जोडे। प्रशिक्षक शाही ब्याटिङमा आशावादी हुनुका कारण यही नै हो।
नेपालले १९९६ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाका महŒवपूर्ण सदस्य हुन् शाही। मलेसियामा पहिलो एसिसी ट्रफीमा उनले नेपालबाट सबैभन्दा बढी ८ विकेट लिएका थिए। नेपालले यसपटक यु–१६ को उपाधिको खडेरी पुर्छ भन्ने प्रश्नमा शाहीले रोमान्चित हुँदै भने, 'हिजोका दिनमा राम्रो तयारी भएर जाँदा पनि नेपालले यु–१६ प्रतियोगिता जित्न सकेको थिएन जस्तो लाग्छ। यसपल्ट हाम्रो तयारी राम्रो छैन, त्यसैले जित्छौं होला।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ साउन २० गते प्रकासित

No comments:

Post a Comment