Tuesday, May 8, 2012

'ओभर एज'


पछिल्ला दुई उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगिता चर्चामा रहे। उमेर समूहका अघिल्ला प्रतियागिताहरु जस्तै यस पटक पनि चर्चामा रहनुको एउटै कारण खेलाडीले उमेर ढाँटे भन्नु नै थियो। उमेर समूहका प्रतियोगिता विवाद बन्नुको प्रमुख कारण यही नै बन्दै आएको छ। प्रायः सवै देशमा उमेर समूहमा बढी उमेर' का खेलाडी खेलेको विवाद देखापरेको छ, नेपालमा यसले पछिल्ला वर्षहरुमा बढी नै विवाद निमत्याएको छ।
Photo Courtesy: Bikash Kari

नेपाली यु१६ टोली मलेसियामा गएर दुई हप्तापछि एसिसी इलाइट कप खेल्नेक्रममा छ। उमेर समूहमा विवाद देखिएपछि दुई हप्तामात्र प्रशिक्षण गरेर नेपाली मलेसिया खेल्न जाने तयारीमा छ। प्राय गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा नेपाली टोलीले महिना दिन सम्म प्रशिक्षण गर्ने परमपरा छ। यस पटक उमेरमा विवाद देखिएपछि नेपाली टोली आधा जस्तो मात्र तयारी गरेर खेल्न जाने छ।


खेलाडी छान्नका लागि नै भनेर नेपाल क्रिकेट संघ (क्यान) ले चैतको दोस्रो साता यु१६ राष्ट्रिय प्रतियोगिता आयोजना गर्‍यो। तर राष्ट्रिय प्रतियोगितामा खेलेका १ सय १२ खेलाडीमध्येबाट गरिएको उमेर परीक्षणमा ४४ खेलाडी १६ वर्षमुनि पाइयो। क्यानले ती सबै खेलाडीको उमेर परीक्षण रिपोर्ट एसियाली क्रिकेट परिषद् (एसिसी) मा पठाएकोमा त्यसमा ३४ खेलाडी सही उमेरका पाइयो। बढि उमेरको झन्झट आएपछि क्यानले तीन हप्तापछिमात्र प्रारम्भिक टोलीको घोषणा गर्न सक्यो। यसले नेपाली टोलीको प्रशिक्षणमै प्रमुख असर पार्‍यो।
प्रतियोगितामा बैतडी पहिलोपटक राष्ट्रिय विजेता बन्दा टोलीका भीम सार्की उत्कृष्ट बलर, वीरगन्जका अकिब अली अन्सारी उत्कृष्ट ब्याट्सम्यान र उपविजेता भैरहवाका इकलाख अहमद म्यान अफ द सिरिजमा चुनिएका थिए। बढी उमेरको पाइएपछि क्यानले एसिसी यु१६ इलाइट कपका लागि १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा उनीहरु फालिए। छानिएका दुई खेलाडीमा जग्दिश चन्द र दीपेन्द्र चन्द पनि छन्, जसलाई बैतडीबाट सँगै खेल्दा मैदानमा भीमले दाई भनेर बोलाउथे। एसिसीले खेलाडीको नाडीको हड्डी हेरेर उमेर परिक्षण गर्ने गरेको पाइएको छ।
यु१६ लगत्तै वाइवाई यु१९ राष्ट्रिय प्रतियोगिताको आयोजना भयो। यसअघि नै उमेर दर्ता भई तोकिएको मापदण्ड भन्दा बढी उमेरका खेलाडी नै खेलेपछि उमेर समूहको प्रतियोगिताले अर्को विवाद निमत्यायो। बढी उमेर भएर पनि खेलेका सुनाम गौतमलाई पहिलो दिनको खेलपछि क्यानले खेल्नमै रोक लगायो। अर्का खेलाडी हासिम अन्सारी बढी उमेरको पाइए पनि क्यानले अनुसान्धन जारी रहेको भनी उनलाई खेल्न खुल्ला छाडिदियो। 
नेपालको प्रतिनिधित्व गर्दै एसिसी यु१७ इलाइट कप खेल्न जाँदा नै सुनामको उमेर एसिसीमा दर्ता भएको थियो। सुनामको जन्ममिति एसिसीमा सन् १९८८ दर्ता गरिएको छ, जसअनुसार उनको हालको उमेर २४२५ वर्ष हुन आउँछ। उनले क्लब, जिल्ला हुँदै क्षेत्रको टोलीबाट यु१९ राष्ट्रिय प्रतियोगिताको एक खेल पनि खेले।
अघिल्लो वर्ष बंगलादेश भ्रमण र थाइल्यान्डमा भएको एसिसी यु१९ कपका लागि हासिमलाई १४ सदस्यीय नेपाली टोलीमा राखिएको थियो। तर उनले क्यानमा बुझाएको राहदानीमा जन्ममिति सन् १९९० भएको पाइएपछि बढी उमेरका कारण उनलाई नेपाली टोलीबाट हटाइएको थियो। उनको स्थानमा शिव तण्डुकारले बंगलादेश र थाइल्यान्डमा यु१९ टोलीबाट खेलेका थिए। एसिसी यु१९ मा १९ वर्षमुनिका तथा आइसिसी यु१९ विश्वकपमा एसोसिएट राष्ट्रका २१ वर्षमुनिका खेलाडीले खेल्न पाउने प्रावधान छ। पहिला मेरो पासपोर्ट बनाउँदा गल्तीले अर्को मिति लेखिदिएका थिए। अहिले सच्याएर मेरो वास्तविक जन्ममिति सन् १९९२ बनाइएको छ, यसमा मेरो केही दोष छैन,' हासिम भन्छन, …पहिला मेरो पासपोर्टमा मेरो जन्ममिति अर्कै लेखेपछि मैले आफैले केरमेट गरेर मिलाएको थिएँ, जुन मेरो गल्ती थियो।' उनले आफू गल्ती भएमा सजाय भोग्न तयार रहेको भनी क्यानमा निवेदन दिएका छन्।
उमेर समूहका विवादमा एसिसीले नेपाललाई यसअघि नै कारबाही गरिसकेको छ। सन् २००७ मा नेपाली टोली एसिसी यु१९ खेल्न श्रीलंका हुँदै मलेसिया जानेक्रममा थियो। श्रीलंकामा पुगेपछि शरद भेषावकरको उमेर बढी भएको भनी एसिसीले उनले खेल्न नमिल्ने बतायो। शरद श्रीलंका हुँदै मलेसियाबाट नेपाल फर्किए। उनको स्थान लिन क्यानले दीपेन श्रेष्ठको नाम सिफारिस गर्‍यो। उनी पनि बढी उमेरको पाइए पछि सुनाम नेपाली यु१९ टोलीमा समावेश भएका थिए। 
२००७ मा बढी उमेरको खेलाडी खेलाएको आरोपमा एसिसीले नेपालसहित ७ राष्ट्रलाई काठमाडौंमा भएको एसिसी यु१५ इलाइट कपको समूह चरण सकिएसँगै निष्काशन गरेको थियो। विदेशी खेलाडी हेर्दै तोकिएको उमेर भन्दा बढी देखिन्छन्। तर उनीहरुलाई खान पिन दरिलो भइ तङग्रिएको भनी सफाइ दिइन्छ। २००६ मा आइसिसी यु१९ विश्वकप खेल्न श्रीलंका जाँदा नेपाली खेलाडी विदेशीको जीउडाल देखेर तर्सिएका थिए। इङ्ल्यान्डसँगको पहिलो खेलमा टोलीका कप्तान मोइन अली झपक्क ढाकेको दारीसहित मैदानमा उत्रिएका थिए। उनकै ५४ रनमा इङ्ल्यान्डले नेपाललाई ७७ रनले पराजित गर्‍यो। 
२००५ मा एसिसी यु१५ खेल्न जाँदा अन्य टोलीका कलिला खेलाडी देखेर आफ्नो बढी उमेर देखेपछि नेपाली खेलाडी आफै लज्जित भएका थिए। युएईसँगको खेलमा लञ्च दौरान दुबई मैदानमा नेपाली खेलाडीलाई युएईका खेलाडीले अंकल जी' भनेर बोलाएका थिए। नेपाली टोलीका प्रशिक्षक रोय लुक डायससँगको वार्तालाप दौरान एसिसीका कार्यकारी प्रमुख अशरफुल हकले नेपाल र अफगानिस्तान फाइनल पुगेमा आफु हेर्नै नजाने घुर्की समेत दिए। प्रमुख अतिथिका रुपमा अबुधावी पुगेका हकले विजेता नेपाली टोलीलाई पुरस्कृत गरे। नेपालले वर्चस्व जमाएको सो प्रतियोगिताबाट 'एसिसी ड्रिम टिम' मा दीपेन श्रेष्ठलाई मात्र छानियो।
एसिसीले प्रत्येक टोलीका दुई खेलाडीको र्‍यान्डम टेस्ट' बाट उमेर परिक्षण गरेको थियो। नेपाली खेलाडी बढि उमेरका छन् भने प्राय सबै देशको विरोधपछि ८ नेपाली खेलाडीको र्‍यान्डम टेस्ट' गरिएको थियो। सागर खड्का, अमृत भट्टराईसहितका केही खेलाडीको छाितमा रौं नै देखिएको थियो। अन्य टोलीका खेलाडीले बल फाल्दा मुस्किलले विकेटकिपरसम्म पुग्थ्यो। नेपाली खेलाडीले थर्ड म्यान बाउन्ड्री वा वाउन्ड्रीबाट बल फाल्यो भने ओभर थ्रो नै हुन्थ्यो। एसिसीलाई उमेर बढी खेलाएको भन्ने दाबीमा सायद त्यही नै पर्याप्त आधार बन्यो।
(बैसाख १४ को शुक्रबार साप्ताहिक मा प्रकाशित)

4 comments:

  1. Badhai chha dai...welcome to the world of blogger...:-)

    ReplyDelete
  2. la tapai lai hridaya dekhi nai badhai dina chahan6u dai blogging zone ma tapai jasto knowledge vako patrakar lai follow garna paunu ni thulo kura nirantarta dinu hola hai blogging lai and you can watch mine blog too http://www.nepalipedia.blogspot.com/

    ReplyDelete
  3. Welcome Legend Nepali cricket journalsit in the blogging world .
    Love you dai

    ReplyDelete