Sunday, May 20, 2012

गुमेको अबसर

नेपालले यस पटक जस्तो एसिसी यु१६ इलाइट कप जित्ने अबसर फेरी नपाउला। मलेसियामा भएको प्रतियोगितामा नेपाल उपाधि जितेर एसियाली क्रिकेट परिषद (एसिसी) को प्रतियोगितामा 'क्लीन स्वीप' तर्फ अगाडी बढेको थियो। फाइनल खेल्नु अगाडी नेपालले समूह चरणका चार र सेमिफाइनल गरी सवै ५ खेल जितेको थियो। मलेसियालाई समूह चरणमा पराजित गरिसकेकाले नेपालले उपाधि जित्ने धेरैको अनुमान र विश्वास थियो। 

नेपाल लगातार दोस्रो पटक उपविजेता रहे पनि नूरध्वज सेन सहित केही खेलाडीले भविष्यको लागि आशा जगाएका छन् ।
तस्वीर सौजन्य : एसीसी


किनरारा मैदानमा टस जितेको नेपाल ३३ ओभरमा १ सय १७ रनमा अलआउट भयो। ओपनर विरनद्धिप सिंहले अविजित अर्धसतक बनाएपछि मलेसियाले ३९.१ ओभरमा १ सय २० रन बनाउदै लक्ष्य पुरा गर्‍यो। मलेसियाले समूह चरणमा नेपालसँग पाएको १ विकेटको पराजयको बदलामात्र लिएन एसिसीको पहिलो उपाधि पनि हात पार्‍यो। उमेर समूहमा मलेसियासँग नेपालको यो पहिलो हार हो। 
दुई वर्षअघि काठमाडौंमा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भएको थियो। सिंगापुरलाई नेपालले सेमिफाइनलमा १ सय १ रनले किनारा लगायो। सन् २००९ यता नेपालले उमेर समूहको पुरुष क्रिकेटमा उपाधि जित्न सकेको छैन्। पछिल्लो उपाधि एसिसी यु१७ को उपाधि जित्दा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो। ४ पटक यु१९, दुई पटक यु१७  र एक पटक यु१५ प्रतियोगिता जितिसकेको नेपालले एसिसीको उमेर समूहमा क्लीन स्वीप' गर्ने मौका गुमाउन पुग्यो।
फाइनल अघि नेपाली खेलाडीहरु जगदीश चन्दले दुई तथा कप्तान दीपेन्द्र चन्द, नुरध्वज सेन, आदिल खान र अकाश विष्टले ११ अर्धसतक बनाएका थिए। मलेसिया भन्दा तुलनात्मक रुपमा बलियो मानिएको नेपालले उपाधि जित्ने धेरै अनुमानको त्यति बेला गलत सावित भयो, जब नेपालका माथिल्लोक्रमका ब्याट्सम्यान पालै पालो पवेलियन फर्के। आकाशले ३५ रन बनाई नेपाललाई चुनौतीपूर्ण स्कोरमा पुर्‍याए। 

नेपालले खेल अन्तिम ओभर सम्म नलम्बाएको होइन्। नेपाली टोलीका व्यवस्थापक सन्जीव पाण्डेका अनुसार फाइनलमा नेपालको दिन थिएन्। 'ब्याटिङ अपेक्षा गरिएनुरुप चल्न सकेन्। अघिल्लो रात पानी परेकाले विकेटमा शीत थियो। अघिल्लो दिन मिटिङमा कप्तानसँग केही खेलाडी र मेरो पहिला बलिङ लिने सहमति भएको थियो। तर प्रशिक्षकको निर्णयनुरुप कप्तानले ब्याटिङ गर्ने निर्णय गरे, जुन सही भएन्,' उनले भने। 
प्रशिक्षक विना नै फाइनल खेलको रणनिति बनाउनु नेपाली  टोलीका व्यवस्थापक, कप्तान लगायतको गल्ती थियो। व्यवस्थापकको भनाईलाई आधार मान्ने हो भने टस अघि सम्म त्यसको बारेमा आफ्नो टोलीसँग छलफल नगर्नुमा प्रशिक्षक मन्जुर आलम खान पनि उत्तिकै दोशी देखिन्छन्। १६ वर्ष मुनिको प्रतियोगिता भएकाले कप्तान दीपेन्द्रलाई पनि पुरै अधिकार नहुन सक्छ। त्यसैले टस अघि के गर्ने भन्नेमा उनी आफै अन्यौल भएका हुन सक्छन्। 
आकाश म्यान अफ द सिरिजमा चुनिए। उनले १ सय ९ रन बनाउनुका साथै प्रतियोगिता भरी १७ विकेट लिए। ६ खेलमा ४३.४ ओभर बलिङ गरेका उनले प्रतिओभर २.४८ मा मात्र रन दिएर ६.३५ औषतको प्रदर्शन गरे। १ सय ८२ रन बनाएका नुरध्वज उत्कृष्ट ब्याट्सम्यानमा चुनिए। उनको औषत ३०.३३ रह्यो। 
उमेर समूहमा देखिएको विवादका कारण नेपालको तयारी राम्रो हुन सकेको थिएन्। २ हप्तामात्र प्रशिक्षण गरेर नेपाली टोली मलेसिया हानिएको थियो, उपाधि जित्ने सपना देखेर। लगातार दोस्रो पटकको हारले खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीलाई समयमै झस्काइदिएको छ। 


नोट: शुक्रबार साप्ताहिकमा जेठ ४ गते प्रकाशित

No comments:

Post a Comment