Friday, May 18, 2012

जमेनन् सुनिल नेपालमा


भारतीय फुटबल टोलीका कप्तान भए पनि सुनिल क्षेत्री नेपाल आउदा त्यसै तरङगित हुने गर्दछन्। सुनिलका बुवाआमा झापाको चारअली हुँदै भारत पसेका थिए। भारतीय सेनामा जागिरे थिए र सुनिल भारतमै हुर्किए। नेपाल आउदाँ सुनिल पनि 'बाबामम्मीको देश' मा आफुलाई विदेशी मान्दैनन्। सुनिलकी आमा सुशीलाले नेपालको यु१७ बाट फुटबल पनि खेलिसकेकी छिन्। 

तर नेपाल आउनु पाउँदाको जस्तो जोश सुनिलले मैदानमा देखाउन सकेनन्। पछिल्लो दुई महिनाको अन्तरमा नेपाल आएका सुनिल मैदानमा निकै निराश हुन पुगे। दुई महिना अघि उनको कप्तानमा भारत एएफसी च्यालेन्ज कप खेल्न नेपाल आएको थियो। सुनिलले पहिलो पटक आफ्नै कप्तानीमा छनोट गराएपछि भारत 'दावेदार' को हैसियतमा नेपाल आएको थियो। ३ खेलमा भारत एउटा गोल हान्न नसकी विपक्षीले दिएको ८ गोल लिएर भारत घर फर्किर्यो। 

दोस्रो पटक उनको कप्तानीमा मोहन बगान नेपाल च्याम्पियन नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल अघिल्लो साता काठमाडौं आयो। एसियाकै पुरानो तथा प्रतिष्ठित क्लबमा गनिने मोहान बगानलाई पुलिसले २० ले पराजित गरिदियो। खेल अगाडी परेको सिमसिमे पानीको फाइदा उठाएको पुलिसबाट सन्तोस साहुखल र भरत खबासले गोल गरे। पुलिसको टोलीमा साहुखल, खबास सहित किरण चेम्जोङ, विराज महर्जन र सन्दीप राई खेलेका थिए। अघिल्लो वर्ष सन्दीप छोटो समय मोहन बगानसँगै थिए। सुनिलले खेलमा राम्रो प्रभाव पारे। उनको एउटा सुन्दर प्रहार बारमा लाग्यो। उनको क्रसमा बगानका खेलाडीले गरेको हेड पनि बारमै लाग्यो।
भारत र नेपालमा मात्र नभएर दक्षिण एसियाको फुटबलमै सुनिल र वाइचुङ भुटिया स्थापित नाम हुन्। वाइचुङ भने नेपाली भुमिका सफल खेलाडी हुन्। सन् १९९५ मा वाइचुङको टोलीले दोस्रो वाईवाई कप जितेको थियो। त्यसको दुई वर्षपछि नेपालमै आयोजना भएको पहिलो साफ च्याम्पियनसीप फुटबलमा वाइचुङले चार खेलमा तीन गोल गरे। उनले पाकिस्तानसँगको सेमिफाइनलमा मात्र गोल गर्न सकेनन्। वाइचुङले भारतीय राष्ट्रिय टोलीबाट १ सय खेल खेली ४३ गोल गरी क्लब फुटबलमा मात्र केन्द्रित भइसकेका छन्। 
भारतबाट सर्वाधिक गोल गर्नेमा अगाडी रहेका वाइचुङलाई तत्काल कसैले उछिन्न सक्छन् भने त्यो सुनिल नै हुनेछन्। दुई वर्षअघि अमेरिकाको मेजर लिग सकरमा कान्सास सिटी विजार्डसबाट खेलेका सुनिलले ५८ खेलमा ३३ गोल गरिसकेका छन्। गत वर्षको डिसेम्बरमा उनले दिल्लीमा भएको साफ च्याम्पिनसीपमा सर्वाधिक ७ गोल गर्ने कीर्तिमान बनाए। १९९७ मा काठमाडौंमा भारतकै आइएम विजयनन्ले ६ गोल गरेका थिए। अव वाइचुङको कीर्तिमान धेरै टाढा नरहेको सुनिलले बुझेका होलान्। नेपाल आएर फेरी खेल्नु परे सुनिललाई त्यो कीर्तिमाननै पहाड बन्न सक्छ!


(जेठ ४ को शुक्रबार साप्ताहिक मा प्रकाशित)

1 comment: