Thursday, May 31, 2012

झरीमा विदेशी लिग

वर्षाले लागेपछि नेपाल क्रिकेट ४–५ महिना निस्त्रि्कय नै हुन्छ। जेठमा राष्ट्रिय क्रिकेट हुने परमपरा नै बसिसकेको छ। यस पटक त असार नै छुनेछ। जेठ–असारको झरीमा आयोजित प्रतियोगिताले विवाद निमत्याउने गरेको पनि छ। झरीबाट प्रभावित नेपाली क्रिकेट लगभग दशैं–तिहार सम्म बगाए जस्तै हुन्छ। 

पुबुदु दासानायके नेपाली खेलाडीहरुसँग
तस्वीर सोमेश वर्मा

नेपाली खेलाडी पनि यो समयलाई विदाको उपयुक्त अवसर मान्छन्। दशैं–तिहार पछि सुरु हुने ब्यस्त सत्र अगाडीमात्र नेपाली क्रिकेट ब्युत्ने प्रयास गर्छ। यो रुटिङमा ढलिसकेको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडीमात्र जाग्ने प्रयास गर्दछ। वर्षायाममा पनि खेलाडीलाई अभ्यस्त नबनाए नेपाली क्रिकेटले गति समात्न गाह्रो हुने श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायाकेले बुझेका छन्। 


वर्षायामको पनि फाइदा उठाउनु पर्छ भन्ने उनको मान्यताले अहिले नेपाली क्रिकेट एकाएक चलायमान भएको छ। उनकै पहलमा शक्ति गौचन इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्समा 'ट्रायल' दिन गएका थिए। कप्तान पारस खड्का अहिले क्यानाडामा व्यवसायिक क्रिकेट खेलिरहेका छन्। हाल क्यानाडामा स्थापित भइसकेका दासानायाकेले नै पारसलाई ओन्टारियो क्रिकेट एकेडेमी एन्ड क्लबसम्म डोर्‍याएका हुन्। 
तीब्र बलर अमृत भट्टराई र चन्द्र साउद श्रीलंकामा खेल्ने जाने तयारीमा छन्। श्रीलंकाली क्रिकेट बोर्डले आयोजना गर्ने श्रीलंकाली यु–२३ लिगमा उनीहरुले कोलम्बोको टोली श्रीलंका पोर्ट अथोरिटी क्रिकेट क्लबबाट खेल्ने छन्। टोलीका प्रशिक्षक साजिथ फर्नान्डो र दासानायाकेले एक समय श्रीलंकामा सँगै खेलेका थिए। त्यही नातामा दासानायाकेले अमृत र चन्द्रलाई श्रीलंकाको क्रिकेटमा पुर्‍याएका हुन्। 
'श्रीलंकामा बिहान ७ बजे देखि अभ्यास सुरु हुन्छ, यसले हाम्रा खेलाडीलाई क्रिकेट संस्कार बुझ्न सजिलो बनाउने छ,' श्रीलंकामा खेलाडीले धेरै सिक्ने दासानायाकेको बुझाई छ। उनले भने, 'श्रीलंकाली यु–२३ लिग निकै कठिन प्रतियोगिता हो। पिच राम्रो पनि हुन्छ र कडा पनि। शुक्रबार देखि आइतबार सम्म तीनदिवसीय लिग र बुधबार एकदिवसीय खेल्नु पर्छ।'
सेप्टेम्बरको अन्तमा प्रशिक्षण सम्हालेपछि उनले नेपाली टोलीको खेल्ने शैलीमै परिवर्तन गरेका छन्। परमपरागत क्रिकेटमा नेपाल स्पिनरमाथी भर परेको टोली थियो। उनले नेपाल बलिङ धारलाई अहिले मिश्रीत बनाई दिएका छन्। डिसेम्बरमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० मा उनले शक्ति गौचन र मार्चमा भएको आइसिसी विश्व ट्वान्टी–२० छनोटमा राहुल विकलाई टोलीबाट हटाई दासानायाकेले नेपाली टोली स्पिनरमा मात्र भर नरहेको प्रस्ट पारेका थिए।
शक्ति र राहुल नेपालका स्पिन हतियार हुन्। नेपाली टोलीका मुख्य आशा शक्तिले विश्व ट्वान्टी–२० छनोटमा राष्ट्रिय टोलीको पहिलो हयाट्रिकसहित १६ विकेट लिई अझै स्पिनमा दम रहेको देखाए। २०१० मै काठमाडौंमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन ५ को फाइनलमा अमेरिकाविरुद्ध ७ विकेट लिएका राहुलले नेपाललाई आइसिसी यु–१९ विश्वकपमा छनोट गराउदा कुल ४२ विकेट लिएका थिए। उनले थाइल्यान्डमा एसिसी यु–१९ इलाइट कप र आयरल्यान्डमा विश्व यु–१९ छनोट प्रतियोगितामा समान २१ विकेट लिई एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान बनाएका थिए। 
दासानायाके एक राम्रो तीब्र बलर हुने भने खेलमा धेरै परिवर्तन हुने मान्छन्। दासानायाकेले विश्व ट्वान्टी–२० छनोट खेल्नुअघि भनेका थिए, 'एउटा एकदमै द्रुत गतिको बलर हुने हो भने धेरै फरक पर्छ, तीब्र बलरलाई खासै अनुभव चाहिँदैन। उसको गतिले नै ब्याट्सम्यानलाई अधिनमा राख्न सक्छ।' त्यसका लागि उनले नेपाली तीब्र बलरको गति थाहा पाउन श्रीमतीसँग क्यानाडाबाट 'स्पीड गन' मगाइ 'टयालेन्ट हन्ट' सुरु गरेका थिए। खेल जीवनलाई टुंगाउनेक्रममा पुगिसकेका चन्द्रको तीब्र गति दासानायाकेको नजरमा परे। 
त्यसपछि उनी एकै पटक राष्ट्रिय टोलीमा परे। चन्द्रले पनि दासानायाके छनोटलाई सही सावित पारिदिए। नेपालका सबैभन्दा तीब्र बलर मानिएका चन्द्रले विश्व ट्वान्टी–२० मा हङकङसँगको पहिलो खेलमै ४ विकेट लिई प्रतियोगितामा १० विकेट लिए। राष्ट्रिय टोलीबाट लामो समय खेलेका विनोद दासलाई स्थानानतरण गरेका चन्द्र र अमृत दुबैको बलिङ गती झन्डै १ सय ३० किलोमटिर प्रति घन्टा छ। 'उनीहरु दुबै श्रीलंकाली लिगमा खेल्न योग्य खेलाडी हुन्, उनीहरुले खेल्ने टोलीमा एकमात्र तीब्र बलर छन्। दुबैले एकैसाथ मौका पाउन पनि सक्छन्। कम्तिमा एकले पहिलो रोजाइबाट खेल्ने निश्चित जस्तै छ,' दासानायाकेले भने। 
'श्रीलंकामा खेलेर नेपाली खेलाडी परिपक्व बनुन' दासानायाकेको मुख्य भनाई यही नै हो। श्रीलंकामा नेपाली खेलाडीको ब्यवसायिक सम्झौता होइन्। खेलाडीलाई त्यहाँ बस्ने व्यवस्थामात्र मिलाइएको छ। आते जाते प्लेन टिकट र त्यहाँ बस्दा खाने खर्च खेलाडी आफैले बेहोर्नु पर्छ। श्रीलंकामा तीन महिना खेल्दा ६ सय डलरको हाराहारामी खर्च हुने अमृत बताउछन्। नेपाल क्रिकेट फ्यान अन फेसबुकले अमृत र चन्द्रको सहयोगका लागि अपिल नै गर्‍यो। अहिले सम्म ६३ हजार दिने भनेर प्रतिबद्धता जनाएको त्यसका संयोजक विराट राय बताउछन्। गोल्डेन गेट कलेज उनीहरुको प्लेन टिकट प्रायोजनलाई सकरात्मक रहेको बताइएको छ। 
२३ वर्षका ६ खेलाडीलाई दासानायाकेले श्रीलंकामा खेलाउने तयारी गरेका थिए। 'ज्ञानेन्द्र मल्ल घरासायी कारण देखाइ जान नसक्ने बताए। अनिल मण्डल अर्को हप्ता विवाह गर्दैछन्, त्यसपछि मैले विनोद भण्डारीलाई तयार भएर बस्न भनेको छु,' दासानायाकले भने, 'यु–१९ का खेलाडीले एसिया कप र विश्वकप गरी दुई महत्वपूर्ण प्रतियोगिता खेल्नु पर्ने भएकाले उनीहरु यसैमा व्यस्त हुने भए।'
दासानायाकेको वर्षायाममा विदेश खेलाडी पठाउने योजना अक्टोबरमा युएईमा हुने एसिसी ट्रफी र डिभिजन ४ को तयारीको क्रम हो। प्रतियोगिता अगाडीको १–२ महिनाको अभ्यासले मुख्य प्रतियोगिताको तयारी पुरा नहुने उनी बताउछन्। 'पहिला डिभिजन ४ जुन–जुलाई तिर हुन्छ भनिएको थियो। त्यही भएर प्रतियोगिता नजिक आइसेककाले विदेशमा गएर क्लब क्रिकेट खेल्ने सम्भावना थिएन्। तर अहिले डिभिजन ४ वर्षको अन्तमा वा अर्को वर्षमात्र हुने भयो। अलि अगाडी नै डिभिजन ४ को निर्णय भएको भए शरद भेषावकर, बसन्त रेग्मी जस्ता खेलाडीलाई पनि इङ्ल्यान्ड, क्यानाडासहितको देशमा खेल्ने व्यवस्था मिलाउन सकिन्थ्यो। बसन्त जस्ता खेलाडीका लागि विदेशमा गएर खेल्नु जरुरी छ। उनी नेपालमा बस्दा खाली समय त्यतिकै बिताउछन्, जिममा जादैनन्।'
दासानायाकेले क्यानाडालाई २००७ को विश्वकपमा छनोट गराएका थिए। नेपाल आउँदा उनले नेपाल र विश्व वरियताक्रमलाई ध्यान दिदैं अगाडी बढाउने बताएका थिए। उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक एसिसी ट्वान्टी–२० को सेमिफाइनल पुगेर विश्व ट्वान्टी–२० लाई छनोट भयो। अहिले उनको व्यवसायिक सोचले नेपाली क्रिकेटमा ठुलै परिवर्तन ल्याएको छ। एसिसी ट्रफी र डिभिजन ४ मा यसको प्रभाव देखिन् सक्छ।


शुक्रबार साप्ताहिकमा जेठ १८ मा प्रकाशित

No comments:

Post a Comment