Thursday, May 24, 2012

डिभिजन ४ गुमाउनुको कारण

विगतका अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकले गरेको उपद्रो व्यवहार नै नेपालले डिभिजन ४ को गुमाउनुको मुख्य कारण हो। नेपाली क्रिकेटलाई नियाल्ने धेरैको निचोड यही छ। त्यो बाहेक अन्य कुनै कारण भए नेपाली क्रिकेटसँग जोडिएकालाई आश्चर्य लाग्नसक्छ। 
गत वर्ष काठमा‌डौमा भएको एसिसी ट्वेन्टी २० कपको युएइस‌ँगको खेलमा नेपाल पराजय नजीक पुगेपछि उपद्रा दर्शकले मैदानमा ढुँगा प्रहार गरेका थिए ।
तस्वीर सौजन्य: बिकास कार्की
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी किरण राणा पनि दर्शकको व्यवहार नै नेपालले डिभिजन ४ आयोजना नपाउनुका कारण मान्छन्। मलेसियालाई आयोजना अवसर दिएकोमा आश्चर्यचकित छन्, नेपाल क्रिकेट संघ (क्यान) का सदस्य राणा। अझ डिभिजन ४ को आयोजना दिने विषयमा आइसिसीले पछिल्लो समयमा दुईपटक नेपाललाई पत्राचार पनि गरेको थियो।



'उनीहरूले पहिलोपटक पत्राचार गर्दा सुरक्षाको कुरा उठाए,' राणाले भने, 'नचाहेका दर्शक नआउन भनेर टिकट सिस्टम गर्ने, टिनको पाताले पुरै मैदान घेरिदिने र माथिल्लो भागमा तार लगाउने, एकातिरका दर्शक अर्कातिर नजाउने व्यवस्था मिलाउने, गेटमै मेटल डिटेक्टर राखेर चेक गर्छौं भनी सुरक्षा प्रत्याभूति दिएका थियौं। त्यसलाई केही समय माग गर्‍यौं। त्यसमा उनीहरू सकारात्मक थिए।'
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अघिल्लो हप्ता थाइल्यान्डमा बसेको बैठकबाट नेपाललाई जिल्याउँदै मलेसियाले पेप्सी विश्व क्रिकेट लिग डिभिजन ४ को आयोजना गर्ने अधिकार पाएको थियो। डिभिजन ४ मा नेपाल र मलेसियासहित अमेरिका, डेनमार्क, सिंगापुर र तान्जेनियाले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता सन् २०१५ को विश्वकप छनोट आधार पनि हो। त्यस्तै बर्मुडालाई डिभिजन ३ को जिम्मेवारी दिइएको छ। तर आर्थिक पक्ष टुंगो लागेपछि मात्र यसको पूर्ण निर्णय हुने आइसिसीले जनाएको छ। 
आयोजनाको अधिकार पाएको भए नेपाल विश्व क्रिकेट लिग दुईपटक आयोजना गर्ने दोस्रो राष्ट्र बन्थ्यो। सिंगापुरले २००९ मा डिभिजन ६ र यसैवर्षको फेब्रुअरीमा डिभिजन ५ आयोजना गरेको थियो। नेपालले २०१० को फेब्रुअरीमा डिभिजन ५ को आयोजना गरेको थियो, जुन नेपालले आयोजना गरेको आइसिसीको पहिलो र पछिल्लो प्रतियोगिता थियो। डिभिजन ४ मा नेपाललाई उछिनेपछि मलेसिया पनि विश्व क्रिकेट लिग दुईपटक आयोजना गर्ने राष्ट्रमा सूचीकृत हुनेछ। मलेसियाले गत सेप्टेम्बरमा डिभिजन ६ गरेको थियो।
पहिला नेपाल र अमेरिकालाई डिभिजन ४ को आयोजना गर्न दिने सम्भावना बलियो मानिएको थियो। तोकिएको मापदण्ड पूरा नगरेको भनी आइसिसीले अमेरिकामा डिभिजन ४ हुन नसक्ने यसअघि नै बताइसकेको थियो। आयोजना दौडमा रहेको तान्जेनियाले आर्थिक भार देखाएर पछि हटेको थियो। 'टर्फ' पिच नै नभएकाले डेनमार्क आयोजनाको पक्षमा रहेन। 
यसै वर्ष डिभिजन ५ आयोजना गरिसकेकाले आइसिसीको नदोहोर्‍याउने परम्परामा सिंगापुर पनि आयोजना दौडमा थिएन। आयोजनाको होडमा नेपाल त्यसपछि एक्लो दाबेदार भए पनि आइसिसीले डिभिजन ५ बाट बढुवा भएको मलेसियालाई आयोजना अधिकार दिएको हो। प्रतियोगिता कहिले हुने भनेर निर्णय भइसकेको छैन। एसिसी यु–१९ एसिया कप जुनमा, आइसिसी यु–१९ विश्वकप अगस्टमा र एसिसी ट्रफी इलाइट कप अक्टोबरमा हुने भएकाले डिभिजन ४ यस वर्ष नहुन पनि सक्छ र भइहालेमा नोभेम्बर वा डिसेम्बरमा मात्र मिति जुर्न सक्छ।
मलेसियालाई आयोजना गर्न दिनुको एउटा कारण भौतिक पूर्वाधार पनि हो। अर्को महिना एसिसी यु–१९ एसिया कप आयोजना गर्नेक्रममा रहेको मलेसियाले २००६ मा भारत, अस्ट्रेलिया र वेस्ट इन्डिजसम्मिलित एसिया कप तथा २००८ मा आइसिसी यु–१९ विश्वकप आयाजना गरेर व्यवस्थापनमा अब्बल सावित गरिसकेको छ। नेपालसँग भने त्रिवि मैदान कीर्तिपुर र पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानबाहेक तेस्रो मैदान छैन। सैनिक स्कुल भक्तपुर र ल्याब स्कुल कीर्तिपुरलाई तेस्रो मैदानमा राख्ने हो भने यसलाई सुरुआतदेखि बनाउन थाल्नुपर्ने बाध्यता छ। त्यसका बाबजुद नेपालको खेल ढुक्कसँग यी दुई मैदानमा गर्न सक्ने स्थिति पनि छैन। 
मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मैदान खाली नै रहने गर्दछ। त्यसविपरीत नेपालमा घरेलु टोलीको खेल हुँदा दर्शक अटाउने स्थिति हुँदैन। नेपाली क्रिकेट संस्कार मलेसियाभन्दा धेरै राम्रो छ। त्यही राम्रो संस्कारका कारण उर्लिएको दर्शक भीडलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता टाढिँदै छन्। 
२०१० को डिभिजन ५ को खेलदौरान नेपाल र अमेरिकाको खेलमा दर्शकले ढुंगामुढा र बोटल फालेर केही समय अवरुद्ध पारे। सो घटनामा सिंगापुरको गुनासोपछि आइसिसीले केही समय त्रिवि मैदानलाई केही समय अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नपाउने प्रतिबन्ध लगाएको थियो। गत डिसेम्बरमा कीर्तिपुरमा भएको एसिसी ट्वान्टी–२० कपमा युएईसँगको खेलमा नेपाल पराजयको मुखमा पुगेपछि खेल केही समय प्रभावित हुन पुग्यो, जसका कारण अन्तर्राष्ट्रिय क्रिकेट नेपालको आयोजनाप्रति पुनः झस्कियो।
एसियाली क्रिकेट परिषद् (एसिसी) नेपाललाई डिभिजन ४ को आयोजना तत्कालै दिन नहुने पक्षमा रहेको बताइएको छ। दर्शकको पछिल्लो उग्र रूपले एसिसीलाइ पनि अप्ठ्यारोमा पारेको थियो। त्यससँग कुनै सम्बन्ध नभएको बताए पनि एसिसीले सन् २०१२ मा नेपाललाई कुनै प्रतियोगिता आयोजनाको अवसर दिएन। त्यसविपरीत मलेसियाले २०१२ मा एसिसीका दुईसहित तीन प्रतियोगिता आयोजना गर्दैछ। २००५ देखि लगातार एसिसीको प्रतियोगिता आयोजना गर्दै आएको नेपाललाई यस वर्ष कुनै प्रतियोगिता गर्ने पाएन। २०१० मा नेपालले डिभिजन ५ सँगै एसिसी यु–१६ इलाइट कप गरेको थियो।
नेपाललाई कुनै मुख्य प्रतियोगिता आयोजना दिनुअघि एसिसी मैदानसँग सम्बन्धित सुरक्षा सुधारको खाँचोमा विश्वस्त हुन खोजिरहेको छ। त्यसका लागि एसिसीले यसै वर्ष नेपालले नखेल्ने एक प्रतियोगिता आयोजना गर्न दिएर 'ट्रायल' गर्ने र त्यसपछि मात्र नेपाललाई मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता दिने निर्णयमा रहेको बताइएको छ।
क्रिकेट कूटनीतिमा नेपाली क्रिकेटको सर्वोच्च निकाय पछाडि पर्नु नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता गमाउनुको अर्को कारण मानिएको छ। निर्वाचित भएको ५ महिना बितिसक्दा पनि टंक आङबुहाङको क्यान नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेटसँग बेखबरजस्तै छ। छिट्टै नै आइसिसीको वार्षिक बैठकमा आङबुहाङ र क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले सहभागिता जनाउने तयारी गरिरहेका छन्। त्यसपछि क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा ढोका खोल्ने विश्वास लिइएको छ।
शुक्रबार साप्ताहिकमा जेठ ११ गते प्रकाशित

2 comments:

  1. Yes, truly. Diplomacy is certainly not spot on.

    ReplyDelete
  2. Ramro xa dai
    एसियाली क्रिकेट परिषद् (एसिसी) नेपाललाई डिभिजन ४ को आयोजना तत्कालै दिन नहुने पक्षमा रहेको बताइएको छ।
    yesma icc ra acc ko yetro relation hunxa ra program laijanea kura ma dai yo chai thaha thia na molai yesto ma relation hudaina jasto lagthiyoo

    ReplyDelete