Friday, June 22, 2012

पाकिस्तान र भारतलाई पनि सजिलो हुन्न

ठूलो महत्वाकांक्षा राख्नु हतार होला। भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीकै समूहमा परेकाले नेपालले खासै ठूलो लक्ष्य बनाएको छैन। मलेसियामा शनिबार सुरु एसिसी यु–१९ एसिया कपमा नेपालको लक्ष्य प्रत्येक खेलसँग अगाडि बढ्नु हुनेछ।
भारत र पाकिस्तानमध्येको कुनै एक खेलमा अप्रत्याशित नतिजा निकाल्न नसकेमा मलेसिया समावेश समूहबाट नेपालको यात्रा पहिलो चरणमा समाप्त हुनेछ। त्यसको अर्थ दुई महिनाभन्दा कम समय बाँकीको अवस्थामा नेपालले यु–१९ एसिया कपलाई अस्ट्रेलियामा हुने आइसिसी यु–१९ विश्वकपको तयारी मानेर चित्त बुझाउने छ।
सहभागि आठ देशका कप्तानहरु ट्रफीका साथ। तस्वीर :  एसिसी


एसिसी यु–१९ एसिया कप एसियाली क्रिकेट परिषद् (एसिसी) ले आधुनिक संरचनामा गर्न लागेको पहिलो प्रतियोगिता हो। भारत र पाकिस्तानसहित टेस्ट खेल्ने श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने छ। अफगानिस्तान, नेपाल र कतार अघिल्लो वर्ष थाइल्यान्डमा भएको एसिसी यु–१९ इलाइट कपमा पहिलो तीन स्थान हात पार्दै प्रतियोगितालाई छनोट भएका थिए। मलेसियालाई आयोजकको हिसाबले सहभागिता गराइएको हो।
एसिसीले १९९७ देखि २००३ सम्म गरी चारपटक यु–१९ एसिया कपको आयोजना गरेको थियो। पहिलो दुई संस्करण खेल्दा बंगलादेश टेस्ट खेल्ने राष्ट्र बनिसकेको थिएन। एसिसीको सदस्यमात्र रहेको पपुवा न्युगिनी पहिलोपटक फाइनलमा पुगेको थियो। त्यसैले नेपालसहित एसोसिएट एन्ड एफिलेटेड राष्ट्रका लागि पनि नयाँ संरचनाको प्रतियोगितामा सबै ढोका खुला छ।
'हामीसँग अवसर छ र यो हाम्रो परीक्षण पनि हो। भारत र पाकिस्तान बारे सबलाई थाहा नै छ,' नेपालका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायाकेले मलेसिया जानुअघि यु–१९ एसिया कपको बारेमा भनेका थिए, 'त्यसैले हामी प्रत्येक खेलसँगै अगाडि बढ्ने छौं। अहिले नै जित्छौं भनेर भन्न सकिन्न। तर अन्य टिमलाई पनि नेपालसँग खेल्न सजिलो हुन्न।' ब्याटिङमा पूरा ५० ओभर ब्याटिङ गर्नु र नियन्त्रित बलिङ गर्नुसहित उनले नेपाली टोलीमा केही सुधारको आशा गरेका छन्। 'हामीले आफ्नो खेलमा केही सुधार गर्ने हो भने अप्रत्याशित नतिजा निकाल्न सक्छौं। भारत र पाकिस्तानमध्ये एकलाई पराजित गर्ने हो भने हाम्रो दोस्रो चरण पुग्ने सम्भावना बलियो रहन्छ।'
भारतीय कप्तान उन्मुक्त चन्द दिल्ली डेरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेलिसकेका छन्। विकेटकिपर–ब्याट्सम्यान सन्जु सामसन कोलकाता नाइट राइडर्सका हुन्। तर उनले अघिल्लो महिना सम्पन्न आइपिएलमा एउटै खेल खेल्न पाएका थिएनन्। अर्का ब्याट्सम्यान सन्दिपन दास बंगालबाट खेल्छन्। मलेसिया आउनुअघि भारतीय यु–१९ टोलीले अस्ट्रेलियाले चार देशसम्मिलित एकिदवसीय प्रतियोगिता खेलेको थियो। पहिलो चरणका सबै खेलमा पराजित भए पनि पछि भारतले अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्डसम्मिलित प्रतियोगिता नै जितेको थियो।
नेपालले शनिबार पाकिस्तानसँगै खेल्दैछ। पाकिस्तानी टोलीमा उसमान कादिर र अख्तर वाहिद गरी दुई लेग स्पिनर छन्। उसमान पाकिस्तानका पूर्व स्पिनर अब्दुल कादिरका छोरा हुन्। उनी २००९ देखि पाकिस्तानी यु–१९ टोलीमा छन्। जनवरीमा उनले दक्षिण अफ्रिका भ्रमण र त्यहाँ भएको त्रिकोणात्मक शृंखलामा गरी १० खेलमा १५ विकेट लिएका थिए। ब्याट्सम्यान बाबर आजमले पाकिस्तान ब्लुजबाट घरेलु प्रतियोगितामा खेलेका थिए।
अनुभवका हिसाबले नेपाल पनि बलियो टोली हो। कप्तान पृथु बाँस्कोटा, प्रदीप ऐरी, कृष्ण कार्की, राहुल विश्वकर्मा, नरेश बुढाऐर र सुवास खकुरेल गरी ६ खेलाडीले नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। प्रदीप र सुवासले गत वर्ष काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपमा नेपाली ब्याटिङ सुरुआत गरेका थिए। यी ६ खेलाडीसहित अविनाश कर्ण, भुवन कार्की, सागर पुन, राजेश पुलामी र फैजल खानसँग एसिसी यु–१९ इलाइट कप र आइसिसी यु–१९ विश्वकपमा गरी १५ भन्दा बढी खेल खेलेको अनुभव छ।
समूह …ए' को अर्को टोली आयोजक मलेसिया हो। एसिसी यु–१९ इलाइट कप लगातार चारपटक जित्दा नेपालले मलेसियालाई तीन फाइनल र एक सेमिफाइनलमा पराजित गरेको थियो। यु–१९ स्तरका सबै खेलमा नेपालले मलेसियालाई पराजित गर्दै आएको छ। उपाधि अभियान नेपालले श्रीलंकाली रोय लुक डायसको कालमा सुरु गरेको थियो। डेढ वर्षअघि नेपाल छाडेका डायस अहिले मलेसियाका मुख्य प्रशिक्षक हुन्। उनको स्थान दासानायाकेले लिएका हुन्।
पाकिस्तानविरुद्ध मैदानमा उत्रँदा नेपालसँग प्रेरणाका लागि विगतको नतिजा हुनेछ। सन् २००० मा श्रीलंकामा भएको आइसिसी यु–१९ विश्वकपमा पाकिस्तानसँगको खेल वर्षाका कारण नेपालले एक बल पनि फ्याँक्न नपाई सकाएको थियो। दक्षिण अफ्रिकासँग पनि त्यस्तै भाग्यमानी बनेको नेपालले पछि केन्यालाई पराजित गरी सुपर लिगमा छनोट भएको थियो। नेपाल यु–१९ विश्वकपको सुपर लिगमा पुग्ने एक्लो गैर टेस्ट राष्ट्र हो।
२००२ को अर्को विश्वकपमा नेपालले पाकिस्तानलाई पराजित गर्न भाग्यको सहारा लिनुपरेन। बरदान चालिसेले म्यान अफ द म्याच प्रदर्शन गरेपछि नेपालले न्युजिल्यान्डमा पाकिस्तानमाथि ३७ रनको स्मरणीय विजय हात पार्‍यो। यु–१९ विश्वकपकै यसलाई अप्रत्याशित नतिजा मानिन्छ। नेपालको हकमा त्यो सुरुआत मात्र थियो।
नागरिक राष्ट्रिय दैनिकमा असार ९ गते शनिबार प्रकाशित

No comments:

Post a Comment