Friday, August 3, 2012

पहिलो सहभागितामै बनेको पहिचान

आइसिसी यु–१९ विश्वकपमा नेपाल
सन् २०००, श्रीलंका

आइसिसी यु–१९ विश्वकपमा छनोट हुने आशा बोकेर नेपाली टोली सिंगापुर यात्रामा निस्केको थियो। हङकङमा सन् १९९७ मा भएको युथ (यु–१९) एसिया कपमा नेपालको यात्रा समूह चरणभन्दा माथि उठ्न सकेको थिएन।
उमेर समूहको पहिलो सहभागिताले नेपाललाई धेरै पाठ सिकाएको थियो। अन्तर्राष्ट्रिय एक्सपोजरले खेलाडीको आत्मविश्वास बढाएको थियो। कप्तान विनोद दास र उपकप्तान राजु बस्नेत जस्ता खेलाडी दोस्रोपटक टोलीमा परेकाले नेपाली टोली अनुभवी पनि बनेको थियो।
सिंगापुरका शीर्ष दुई टोली यु–१९ विश्वकपमा छानिन्थे। बंगलादेशले टेस्ट खेल्न मान्यता पाइसकेको थिएन र एसिसीकै प्रतियोगितामा खेलिरहेको थियो। त्यसैले नेपालसहित अन्य टोलीले दोस्रो स्थानमै आँखा लगाएका थिए। मौसमले कसैलाई सजिलो हुन दिएन।


सुनोज भट्टराईको प्रशिक्षणमा रहेको नेपालले पनि प्रतिद्वन्द्वीसँग भन्दा मौसमसँगै जुझ्नुपर्‍यो। वर्षाले प्रभावित पारेको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो। सिंगापुर र पपुवा न्युगिनीसँगको खेल कुनै बल नखेली रद्द भएपछि नेपाल सेमिफाइनललाई छानियो।
वास्तविक परीक्षा नेपालका लागि सेमिफाइनल बन्यो, जहाँ नेपाल मलेसियामाथि १ विकेटको विजयसहित पहिलोपटक यु–१९ विश्वकपमा छानियो। उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भए पनि फाइनल पुग्दै विश्वकप छनोट भएर नेपालले सिंगापुर यात्राबाट उद्देश्य पूरा गरिसकेको थियो।
श्रीलंकामा यु–१९ विश्वकप खेल्नु ५ हप्ताअघि नेपालले विदेशी प्रशिक्षक पाकिस्तानका हारुन रशिदलाई झिकायो। नेपालको उमेर समूह हेर्न आउने उनी पहिलो विदेशी प्रशिक्षक थिए। अस्ट्रेलियाका महान हस्ती बब सिम्पसन पनि आइसिसीको कार्यक्रम लिएर काठमाडौं आउँदा नेपाली यु–१९ टोलीलाई १२ दिन हेरे। तोकिएको उमेरभित्र परेपछि युनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, दीपेन्द्र चौधरीजस्ता खेलाडीलाई नेपाली टोलीमा समावेश गरिएको थियो।
प्रतिकूल मौसमको फाइदा नेपालले यु–१९ विश्वकपमा पनि उठायो। दक्षिण अफ्रिका र पाकिस्तानसँगको समूह चरणको नेपालको खेल रद्द हुन पुग्यो। टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ज्याक रूडोल्फको १ सय ५६, ग्रिम स्मिथको ७४ र जोनाथन ट्रोटको ३९ रनमा ५ विकेट गुमाई २ सय ९५ रन बनायो। नेपालले १२ ओभरमा २४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। वर्षाले थप खेल हुन दिएन। पाकिस्तानसँगको खेल एक बल नै नफ्याँकी रद्द भएको थियो।
केन्यासँगको समूह चरणको अन्तिम खेल नेपालका लागि निर्णायक बन्यो। नेपालको इनिङ १ सय ७ रनमै समेटियो। महबुव आलमले बनाएको १५ रन नेपाली खेलाडीको उच्च स्कोर थियो। तिनै महबुव र विनोद दासले ३–३ विकेट लिएपछि केन्यालाई ९३ रनमा सीमित गरी नेपाल सुपर लिगमा छानियो। नेपाल सुपर लिगमा पुग्ने अहिलेसम्मकै एकमात्र टेस्ट नखेल्ने राष्ट्र हो।
सुपर लिगमा नेपाल तीनै खेलमा पराजित भयो। भारतसँग ८ विकेट, आयोजक श्रीलंकासँग ९ विकेट र इङ्ल्यान्डसँग ६४ रनले पराजित भयो। यु–१९ विश्वकप खेलेको त्यो टोलीका ११ खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे।
'पहिलो पटक खेल्न लागेकाले दबाब भन्ने केही थिएन, मलाई लाग्छ त्यो नेपालको यु–१९ को सबैभन्दा राम्रो टोली थियो। सोहीअनुरुप वरियताका हिसाबले नेपालले सबैभन्दा राम्रा नतिजा निकाल्यौं,' विनोद दास पहिलो विश्वकप खेलेको संस्मरण गर्दै भन्छन्, 'मैले त्यसपछि अर्को यु–१९ विश्वकप पनि खेलें। त्यतिखेर मैले सन् २००० मा हाम्रो तयारी नपुगे जस्तो महसुस गरे। हाम्रो हारमा अन्तर धेरै फराकिलो थियो।'

No comments:

Post a Comment