Tuesday, August 12, 2014

नेपाली प्रशिक्षक नै किन?

टिप्पणी
क्रिकेटका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको नेपाली क्रिकेटसँगको सम्बन्ध अन्योल रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले नेपाली प्रशिक्षकमै विश्वास देखाउनुपर्ने समय आएको बताएका छन्।
एसिसी यु–१६ प्रिमियर लिग खेल्न जान लागेको नेपाली टोलीको बिदाइमा उनले यस्तो धारणा राखेका हुन्। वसन्त शाही र राजु बस्न्यातको प्रशिक्षणमा नेपाली टोलीले मलेसियामा बिहीबार सुरु हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। पूर्वराष्ट्रिय खेलाडीद्वय शाही र बस्न्यात दुवैको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो प्रशिक्षण अनुभव हुनेछ।
प्रशिक्षक जगत टमाटा एसिसी यु–१९ एलिट कपका दौरान थाइल्यान्डमा
असार दोस्रो साता अन्योल भविष्य कारण अप्ठेरो मान्दै दासानायके क्यानाडा फर्किएका थिए। उनी नभएका कारण नेपाल क्रिकेट संघ (संघ) ले १७औं एसियाली खेलकुदमा वरिष्ठ प्रशिक्षक अरुण अर्याललाई जिम्मेवारी तोकेको छ। एसियाड अर्को महिना दक्षिण कोरियाको इन्चोनमा हुँदैछ।
झन्डै १० वर्ष नेपालको क्रिकेट प्रशिक्षकमा जिम्मेवारी निभाउँदा श्रीलंकाका रोय डायसले उमेर समूहदेखि राष्ट्रिय टोली सबै हेर्दा नेपाली प्रशिक्षकले कुनै अवसर नै पाएनन्। तीन वर्षअघि दासानायके आएपछि उनी राष्ट्रिय टोलीमा केन्द्रित भए। उनले दुईपल्ट यु–१९ बाहेक अन्यमा राष्ट्रिय टोली नै हेरिरहे। सोही कारण नेपाली प्रशिक्षकले अवसर पाउँदा मन्जुर आलमले दुई वर्षअघि एसिसी यु–१६ एलिटमा नेपाललाई फाइनलसम्म डोर्‍याए।
'नेपाली प्रशिक्षकलाई अवेहलना गर्नु हुँदैन। हामीले उनीहरूलाई अवमूल्यन गर्दै आएका छौं,' लामाले सोमबार भने, 'नेपाली प्रशिक्षकबाटै टिमले राम्रो प्रदर्शन गरे पनि सम्मान गर्ने गरिएको छैन। विदेशी प्रशिक्षकलाई हामीले चाहिनेभन्दा बढी सम्मान गर्ने गरेका छौं। खेलाडी उत्पादन गर्ने नेपाली प्रशिक्षकले हो। विदेशी प्रशिक्षक फाइनल टचका लागि मात्र चाहिन्छ।'
स्वदेशी प्रशिक्षकलाई अवसर दिनुपर्ने आवाज उठ्दै आए पनि लामाको यो भनाइ क्यानको बचाउसँग जोडेर हेरिएको छ। युवा तथा खेलकुद मन्त्रालय देशमा क्यान नरहेको भन्दै नयाँ बोर्ड बनाउने कसरतमा छ। तर लामाले परिषद्को बोर्ड बैठकबाट मात्र क्यानको निर्णय गर्नुपर्ने भन्दै अडान लिँदै आएका छन्।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) ले आर्थिक कारोबार रोकेका कारण संघमा रकम नभएको भनी क्यानले दासानायके ल्याउन नसक्ने जनाएको थियो। कप्तान पारस खड्काले दासानायके नआए आफूले नखेल्ने घोषणा गरेको भोलिपल्टै सरकारले क्यान टाट पल्टिएको भए दासानायकेको सबै खर्च बेहोर्ने बतायो।
तर आफूलाई नेपाल आउन बाटो सहज नभएको यथार्थ स्वयं दासानायकेले पनि बुझिसकेका छन्। क्यान उनलाई कुनै हालतमा ल्याउन चाहँदैन। सोही कारण मन्त्रालयले नै दासानायकेलाई भिœयाउन लागेको बारे क्यानले आफूलाई कुनै जानकारी नभएको बताउँदै आएको छ। क्यान अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्‍यालसहित ८ पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएको छ। अख्तियारमा क्यानविरुद्ध मुद्दा हाल्नेमा कप्तान पारससहित प्रशिक्षक दासानायकेको नाम पनि छ। क्यान दासानायकेसँग चिढिएको यसैमा हो।
यता दासानायकेलाई बोलाएर मन्त्रालयले आफ्नो मातहात राख्ने जनाएको छ। पुरुषोत्तम पौडेल खेलकुद मन्त्री भएदेखि मन्त्रालय र परिषदको जुहारी चलेको छ। पछिल्लो समय मन्त्री पौडेल र सदस्यसचिव लामाबीचको 'शीतयुद्ध' सकिएको जनाए पनि व्यवहारमा देखिएको छैन। परिषद र क्यानलाई कुनै स्थान नदिई मन्त्रालयले सिधै दासानायके बोलाउने निर्णयको काउन्टरमा लामाले नेपाली प्रशिक्षकलाई स्थान दिनुपर्ने धारणा बनाएको स्पष्ट हुन्छ।
दासानायके नेपाल आउने निश्चित रहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चूडामणि पौडेल बताउँछन्। उनका अनुसार अहिले केही कारणले गर्दा पछाडि सरेको र अगस्ट तेस्रो साता दासानायके नेपाल आउँछन्। लामाले सोमबार यु–१६ को बिदाइमा क्यान विवादको प्रसंग कोट्याए, 'खेलाडी र प्रशिक्षकले संघमाथि प्रश्नचिन्ह उठाउनु दुःखदायी हो।'
क्यानको पछिल्लो चित्तदुखाइ सदस्यसचिव लामासँगै थियो। खेलाडीहरू चैत अन्तमा क्यानमा थिति बसाल्नुपर्ने र आफ्नो तलब तथा सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए। यसलाई समाधान गर्न लामाको संयोजकत्वमा योजना निर्माण तथा अनुगमन समिति बनाइयो। ५ सदस्यीय समितिमा पारस र दासानायके नै थिए। प्रशिक्षक जस्तो मान्छेलाई समितिमा राखिएपछि दासानायकेसँग क्यानको सम्बन्ध थप चिसिएको थियो। समितिमा बसेकाले दासानायकेले पनि ठूलो आलोचना खेप्नुपर्‍यो।
नेपाल प्रिमियर लिगको आधिकारिकतामा विवाद बढ्दै जाँदा क्यानका अधिकांश पदाधिकारीले अध्यक्ष आङबुहाङमाथि अविश्वास प्रस्ताव दर्ता गराए। अविश्वासको प्रस्तावमाथि नलाग्न सदस्यसचिव लामाले आफूहरूलाई फोन गरेको क्यानका केही पदाधिकारीहरूले बताएका थिए।
आङबुहाङसहित क्यान पदाधिकारीप्रति भ्रष्टाचारको मुद्दा लाग्नु अनि मन्त्रालयले राजीनामा नदिएका कारण लामाको बेवास्ता गर्नुले उनीहरूलाई एकबद्ध भएका छन्। मन्त्रालयसँग डट्ने बहानामा जुटेका छन् लामा र क्यानका वर्तमान पदाधिकारी। त्यसैको संकेतमा आएको हो 'नेपाली प्रशिक्षक हुनुपर्ने' लामाको अभिव्यक्ति।
नेपाली प्रशिक्षकले नेपाली टोलीको प्रशिक्षण गर्नै नमिल्ने होइन। नेपाली प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम उतार्ने हैसियत छ कि छैन भनेर बुझ्नु जरुरी छ। नेपाली प्रशिक्षकको अनुभव देखिएन भने उनीहरूलाई त्यो वातावरण दिनु जरुरी छ। एसिसी लेभल ३ पास गरेका जगत टमाटा र विनोद दासजस्ता प्रशिक्षक यहाँ छन्। उनीहरूको आवश्यकता अनुभवमात्र हो। अनुभव नदिई सिधैं प्रशिक्षक बनाएमा दुर्घटना निम्तिन सक्छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ साउन २७ गते प्रकासित

No comments:

Post a Comment