Wednesday, August 20, 2014

नेपाली यु–१६ टोली इतिहास रच्न केन्द्रित

नेपाल र मलेसियाबीच किनरारा ओभलमा हुने खेल एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेल हो। तर यसले उपाधि छिनोफानो गर्ने हुनाले फाइनलसरह भएको छ।
नेपालले मलेसियामै जारी प्रतियोगितामा चार खेल जितिसकेको छ। बहराइनसँग पहिलो खेलमा वर्षाका कारण निराशा भोगेको मलेसिया पनि बाँकी ३ खेल जितेर उपाधि मुखमा उभिएको हो। प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने छ।
कप्तानद्धय मलेसियका वीरनदिप सिंह र नेपालका सुमित महर्जन। तस्विरः एसिसी
दुई वर्षपछि नेपाल र मलेसिया फेरि निर्णायक खेलमा उभिएका हुन्। यसअघि 'एसिसी यु–१६ एलिट' नामले प्रतियोगिताको अन्तिम संस्करण २०१२ मा मलेसियामै हुँदा नेपाल फाइनलमा घरेलु टोलीसँग १ विकेटले पराजित भयो, जुन मलेसियाको उमेर समूहमा एसिसीको पहिलो उपाधि थियो।
नेपालले एसिसीको उमेर समूहमा जित्न नसकेको यही एउटा प्रतियोगिता हो। एसिसी यु–१६ एलिटको पहिलो संस्करणमा काठमाडौंमै हुँदा नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भयो। नेपालले एसिसी यु–१५ दुईपल्ट, यु–१७ एकपल्ट र यु–१९ चारपल्ट जितिसकेको छ।
'मलेसिया पनि बलियो प्रतिस्पर्धी टिम हो, तर हाम्रा खेलाडीले राम्रो गरिरहेका छन्, त्यसैले हाम्रो ध्यान जित्नेमा केन्द्रित छ,' नेपालका सहायक प्रशिक्षक राजु बस्न्यातले भने, 'यसअघि नेपाल दुईपटक फाइनल हारिसकेका छौं। अब हामी नयाँ रणनीति बनाएर मलेसियासँग खेल्ने तयारीमा छौं।' उनले मलेसियालाई पराजित गर्न नेपाल पूर्ण रूपमा तयार भएको बताए।
यु–१६ जित्दै उमेर समूहमा वर्चस्व जमाउने प्रयासमा नेपालले बुधबार मलेसियाविरुद्ध खेल्नेछ। पृथु बाँस्कोटाको कप्तानीमा २००९ मा काठमाडौंमै एसिसी यु–१७ को उपाधि जितेयता नेपालले कुनै उमेर समूहको प्रतियोगिता जित्न सकेको छैन। संयोगले त्यो प्रतियोगितामा नेपालले मलेसियालाई फाइनलमा १० विकेटले पराजित गरेको थियो।
नेपालविरुद्ध वीरनदिप
मलेसियाका कप्तान  वीरनदिप सिंहलाई चाँडै आउट गर्न सके नेपालले खेल जित्ने धेरैको विश्लेषण छ। उनले ४ खेलमा १ सय ६५ रन बनाइसकेका छन्। उनी सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष स्थानमा छन्। वीरनद्विपले बहराइनविरुद्ध ९० र सिंगापुरविरुद्ध अविजित ५९ रन बनाएका थिए। मलेसियाले जितेका तीन खेलमै उनी नै म्यान अफ द म्याच चुनिए।
सिंगापुरसँग १ सय २८ रनको लक्ष्य पाएको मलेसियाले २५ ओभरमा ८५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। सिंगापुरले जितेको भए एक खेलअघि नेपाल विजेता बन्थ्यो। तर  वीरनदिपले अविजित अर्धशतक बनाई मलेसियालाई उपाधि रक्षाको नजिक पुर्‍याएका छन्।
दुई वर्षअघि फाइनलमा  वीरनदिपले एकल प्रयासमै नेपालबाट उपाधि खोसेका थिए। पहिलो ब्याटिङ गरेको नेपाल ३३ ओभरभित्र १ सय १७ रनमै अलआउट भयो। ओपनर उनले अविजित ५४ रन बनाएपछि ५ बलअघि लक्ष्य पूरा गर्दै मलेसियालाई पहिलो उपाधि दिलाएका थिए। त्यसअघि समूह चरणमा मलेसिया नेपालसँग १ विकेट पराजित भएको थियो।
मलेसियासँग यु–१६ तर्फ नेपाल २–१ ले अगाडि छ। नेपालले २०१० को पहिलो संस्करणको सेमिफाइनलमा ३२ रनले पराजित गरेको थियो।
नेपालबाट प्रनित थापाले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय १८ रन बनाएका छन्। उनले बहराइनविरुद्ध अविजित ७० रन बनाएका थिए। अन्य कुनै ब्याट्सम्यानले अर्धशतक बनाउन सकेका छैनन्। त्यसपछि नेपालबाट बढी रन बनाउनेमा सुशान्तसिंह थापा छन्। उनले ७१ रन बनाएका छन्। यसले नेपालको ब्याटिङमा कमजोरी देखाएको छ।
सहायक प्रशिक्षक बस्न्यातले भने नेपालले बलिङ र ब्याटिङ दुवैमा ध्यान दिइरहेको बताए। 'नेपालले बलिङ र ब्याटिङ दुवैमा सक्दो मिहिनेत गर्नेछ, हामी उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छौं,' उनले भने।
स्पिन भरोसा
प्रनितबाहेक नेपालले सुरुआती तीन खेल जित्दा स्पिनरहरू म्यान अफ द म्याचमा चुनिँदै आएका थिए। थाइल्यान्डसँग जितेन्द्रसिंह ठकुरी ५ विकेट, सिंगापुरविरुद्ध पवन सर्राफ ४ र ओमानसँग १३ वर्षे अनिल खरेल ६ विकेट लिँदै उत्कृष्ट खेलाडी भएका थिए।
नेपाली प्रशिक्षक वसन्त शाहीले स्पिनरमा बढी विश्वास देखाउँदै आएका छन्। उनले देब्रेहाते स्पिनर आशिष पोखरेललाई ओपनिङमा बलिङ गराउँदै आएका छन्। अफ स्पिनर जितेन्द्र १३ र देब्रेहाते स्पिनर अनिल १२ विकेटसहित सर्वाधिक विकेट लिने सूचीमा अगाडि छन्। तेस्रो नम्बरमा  वीरनदिप नै छन्। उनले ८ विकेट लिइसकेका छन्। नेपालकै पवन सर्राफले पनि ८ विकेट लिएका छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ भदौ ४ गते प्रकासित

No comments:

Post a Comment