Monday, August 18, 2014

'फुच्चे' को करामत

'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'
नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय स्पिनर अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।
अनिलले प्रशिक्षकको विश्वासलाई सही साबित गरेर देखाएका छन्।
मलेसिया जानु अघि कीर्तिपुरमा भएको अभ्यास क्रममा अनिल खरेल

मलेसियाको क्वालालम्पुरमा जारी एसिसी यु–१६ प्रिमियर खेल क्रममा अनिलले तीन खेलमा ९ विकेट लिएका छन्। आइतबार ओमानसँगको खेलमा मात्रै उनले ६ विकेट लिएर सनसनी मच्चाए।
ओमान नेपालका लागि खासै ठूलो प्रतिद्वन्द्वी होइन, खासगरी उमेर समूहको क्रिकेटमा। नेपालले छाडेको १ सय ६५ रनको लक्ष्य ओमानलाई पहाडजस्तै भइसकेको थियो। तर झन्डै १७ ओभरसम्म नेपालले एउटै विकेट झार्न सकेन। यसबीच रोयल सेलन्गर क्लब मैदानमा ओमानले ४९ रन जोडिसकेको थियो।
छट्पटीको यो घडीमा उही फुच्चे अनिलले खेलको नक्सै फेरिदिए।
अनिलको देब्रेहाते स्पिन बलिङ यस्तरी चल्यो, ओमानको ब्याटिङ भिरबाट खसेजस्तै एकपछि अर्को खस्दै गयो। अनिलको ६ विकेटसँगै नेपालले ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। ओमानले १३ रनकै अन्तरमा १० विकेट गुमायो। यो खेलमा अनिलले ६ ओभरमा १६ रनमात्र खर्चेर स्मरणीय बलिङ गरेका थिए।
खेलको यो नतिजापछि सबभन्दा खुसी थिए, सहायक प्रशिक्षक बस्न्यात।
'१३ वर्षको फुच्चेलाई नेपाली टोलीमा छनोट गर्‍यो भनेर सबैले आलोचनाको हिसाबले हेरेका थिए,' नेपालका पूर्व देब्रेहाते स्पिनर बस्न्यातले मलेसियाबाट नागरिकसँग टेलिफोनमा भने, अनिलले आज ती सबैलाई जवाफ दिएका छन्। उनको खेल यति परिपक्व छ, सिधै यु–१९ मा राख्दा फरक पर्दैन।'
अनिलको यो प्रदर्शन एसिसी यु–१६ मा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो। यसअघि यही प्रतियोगितामा थाइल्यान्डसँगको खेलमा जितेन्द्रसिंह ठकुरीले ५.४ ओभरमा २ मेडन राख्दै ३ रनमा ५ विकेट लिएर यु–१६ को उत्कृष्ट प्रदर्शन देखाएका थिए।
प्रतियोगिताको तीन चरणका खेल समाप्तिपछि जितेन्द्र र अनिल सर्वाधिक विकेट लिने खेलाडीमा छन्। जितेन्द्रको १२ विकेटलाई अनिलले पछ्याइरहेका छन्।
मलेसियामा ६ विकेट लिएर सनसनी मचाएपछि अनिललाई उचाल्दै प्रशिक्षकद्धय वसन्त शाही र राजु बस्न्यात। तस्विरः एसिसी
प्रशिक्षक वसन्त शाहीले प्रतियोगितामा स्पिनलाई मुख्य हतियारका रूपमा अघि सारेका छन्। नेपालले जितेको तीन खेलमै स्पिनर म्यान अफ द म्याच चुनिएका छन्। जितेन्द्रपछि दोस्रो खेलमा अर्का अफ स्पिनर पवन सर्राफ ४ विकेट लिँदै सिंगापुरविरुद्ध उत्कृष्ट खेलाडी बनेका थिए।
अनिल नेपाली टोलीका सबैभन्दा कान्छा खेलाडी हुन्। प्रशिक्षक शाहीलाई नेपाली टोलीमा सबैभन्दा बढी जानकारी अनिलकै बारेमा छ। अनिल बुटवलको एपेक्स स्कुलमा पढ्छन्। त्यही स्कुलसँग शाहीले मिलेर चलाएको एपेक्स एकेडेमीमा अनिल प्रशिक्षण लिन्छन्।
नेपालले एसिसीको उमेर समूहमा जित्न नसकेको प्रतियोगिता यु–१६ प्रिमियरमात्र हो। यसअघि एसिसी यु–१६ एलिटको नामले दुईपटक आयोजित प्रतियोगितामा नेपाल दुवैचोटि फाइनलमा पराजित भएको थियो।
अनिलजस्ता क्षमतावान खेलाडीले नेपालको इतिहास रच्ने सम्भावना बढाएको छ,' बस्न्यातले भने।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ भदौ २ गते प्रकासित

No comments:

Post a Comment