Sunday, June 17, 2012

युरो हेर्न नेपाली समर्थकको युक्रेन यात्रा

अधिकांश नेपाली समर्थकका लागि युरोपियन च्याम्पियनसिप फुटबल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा सीमित छ। दीपक तुलाधर, विजय श्रेष्ठ र केशव तुलाधर भने युक्रेनमै गएर रंगशालाबाट युरोको क्वार्टरफाइनल हेर्ने तयारीमा पुगेका छन्।
राजधानीका यी व्यापारीहरू नकआउट चरणका दुई खेल हेर्न युक्रेन जाँदैछन्। क्वार्टरफाइनलमा भिड्ने टोली तय भइसकेको छैन। समूह 'सी' को विजेता र समूह 'डी' को उपविजेता तथा समूह 'डी' को विजेता र समूह 'सी' को उपविजेताबीचको क्वार्टरफाइनल टिकट यी तीन नेपालीको हातमा छ। 'समूह सी' स्पेन, इटाली, क्रोएसिया र आयरल्यान्ड तथा समूह 'डी' मा फ्रान्स, इङ्ल्यान्ड, युक्रेन र स्विडेन छन्।
युरो २०१२ को क्वार्टरफाइनल हेर्न जान लागेका केशव तुलाधर, दीपक तुलाधर र विजय श्रेष्ठ। तस्विर सौजन्य :  विकास कार्की


दीपक र विजय स्तरीय खेल हेर्न आशामा मस्त छन्। केशवलाई भने आफ्नो मनपर्ने टोली इङ्ल्यान्डको खेल हेर्न पाउने आशा छ। त्यसका लागि इङ्ल्यान्डले मंगलबार युक्रेनविरुद्ध कम्तीमा बराबरी गर्नुपर्छ। 'केही समय लन्डनमा बसेको थिएँ, त्यसैले मेरो प्रिय टोली इङ्ल्यान्ड हो,' केशव भन्छन्, 'इङ्ल्यान्ड क्वार्टरफाइनल पुग्छ, तर प्रतियोगिता जित्न सक्दैन।' विनय नेदरल्यान्ड्स र दीपक जर्मनी समर्थक हुन्। 'स्पेन र जर्मनी बलिया टोली हुन्, यी दुई टोलीले नै जित्ने सम्भावना बलियो छ,' विजय अनुमान लगाउँछन्।
सस्तो टिकट पायो भने सबैको सेमिफाइनल र फाइनल हेर्ने योजना पनि छ। 'रंगभेदी व्यवहार, आपराधिक घटनाका कारण धेरै ब्रिटिसहरु र अन्य युरो हेर्न पोल्यान्ड र युक्रेन गएका छैनन्, त्यसैले पहिला जस्तो युरोको चाप बढी छैन, हामीले सेमिफाइनल र फाइनलको टिकट पाउन पनि सक्छौं,' केशवले भने।
दीपक, विजय र केशव नेपाली ए डिभिजन फुटबल टोली मच्छिन्द्र क्लबमा आबद्ध छन्। विजय क्लब सल्लाहकार हुन्। उनले मच्छिन्द्रबाट बी डिभिजन लिग खेलेका थिए। आफ्नो समयमा स्थानीयस्तरका खेलाडी दीपक मच्छिन्द्रका समर्थक हुन्। केशव पनि दीपकजस्तै पहिला आरसिटीका समर्थक थिए। मच्छिन्द्रको समर्थक हुनु बाहेक केशव क्लबलाई आर्थिक सहयोग पनि गर्छन्।
उनीहरूले अनलाइनबाट एउटा टिकट १ सय ५० र अर्को ८० युरोमा खरिद गरेका हुन्। आफ्नो इन्टरनेसनल क्रेडिट कार्ट नभएपछि उनीहरूले अमेरिकामा रहेका मच्छिन्द्र क्लबका सल्लाहकार तथा विदेश विभाग प्रमुख विप्लव गौतममार्फत अनलाइनबाट तीन महिनाअघि टिकट खरिद गरेका थिए। '२००६ मा म जर्मनीमै थिएँ, तर टिकट नहुँदा विश्वकप हेर्न पाइनँ ,' केशवले भने।
नेपाल र युक्रेनको झण्डा लिएर रंगशाला छिर्ने उनीहरूको योजना छ। 'युक्रेन आयोजक हो त्यसैले,' तीनैजनाले एकै स्वरमा भने। मच्छिन्द्र र राष्ट्रिय टोलीको खेल हेर्न दशरथ रंगशाला जाने नियमित दर्शकमा पर्छन उनीहरू। दीपक पोल्यान्डमा हस्तकला निर्यात गर्छन्। केशवको कम्पनीले एक वर्षदेखि नेपाली कफी निर्यात गरिरहेको छ। विजय रत्नपार्क पाउँ भण्डारका सञ्चालक हुन्। तीनैजना पहिलोपटक युक्रेन जान लागेका हुन्।
२०६९ असार ४ गते सोमबार नागरिक राष्ट्रिय दैनिकमा प्रकासित

1 comment: