Sunday, June 17, 2012

फ्रिजमा सुत्छु, त्यसैले कुल छुः धोनी

भारतीय कप्तान महेन्द्रसिंह धोनीलाई नेपाली क्रिकेटको सद्भावना दूतमा नियुक्त गरिएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले दुईदिने भ्रमणमा शनिबार नेपाल आएका विश्वकप विजेता कप्तान धोनीलाई प्रमाणपत्र दिँदै सद्भाव दूतमा नियुक्ति घोषणा गरे। सन् २००६ मा भारतकै पूर्वकप्तान सुनिल गावस्कर काठमाडौं आउँदा नेपाल पर्यटन बोर्डले उनलाई सद्भावना दूत चुनेको थियो।
तस्विर सौजन्यः : विकास कार्की
धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको 'हाइ प्रोफाइल' भ्रमणमध्ये एक हो। नेपाल भ्रमण गर्ने उनी पहिलो वर्तमान टेस्ट कप्तान हुन्। भारतीय दूतावासले नेपाल क्रिकेट संघ र विपी कोइराला नेपाल–भारत फाउन्डेसनसँग मिलेर 'युथ इङ्गेजमेन्ट' कार्यक्रमलाई भनेर धोनीलाई काठमाडौं ल्याएको हो। भारतीय राजदूत जयन्त प्रसादले याक एन्ड यती होटलमा आयोजित अन्तर्क्रियामा नेपाली क्रिकेटको प्रवर्द्धन गर्न धोनी नेपाल आएको बताए।

पहिलो पटक नेपाल भ्रमणमा आएका धोनीले काठमाडौं उत्रिएलगत्तै भने, 'एउटा क्रिकेटरका रूपमा यदि मैले क्रिकेटको प्रवर्द्धन गरे भने त्यो धेरै राम्रो हुनेछ। नेपाल पनि क्रिकेटमा माथि आउनुपर्छ र दक्षिण एसियामा अर्को एक बलियो राष्ट्र थपिनुपर्छ। त्यसका लागि नेपालले केही समय पर्खनुपर्छ। भौतिक पूर्वाधार र एउटा राम्रो टोलीका रूपमा नेपालले धेरै सुधार गर्नुपर्छ।'
नेपाली क्रिकेट बारे के थाहा छ भन्ने प्रश्नमा धोनीले भने, 'मैले नेपाली क्रिकेट बारे केही सुनेको छु। तर भारतीय क्रिकेटको क्यालेन्डर यति व्यस्त छ कि हामीले अरु राष्ट्रको खेल पछ्याउनै सक्दैनौं। काठमाडौंमा उत्रिएसँगै यति न्यानो स्वागत पाउँदा मलाई यहाँका मानिस क्रिकेट नजिकबाट पछ्याउछन् भन्ने बुझें।' उनले नेपाली युवालाई खेलसँगै पढाइलाई पनि अगाडि बढाउन अनुरोध गरे। 'म एउटा क्रिकेटर मात्र नभई 'खेल व्यक्तित्व' पनि भएकाले एउटा युवा कुनै पनि खेलका साथै पढाइबाट पनि अगाडि बढोस् भन्ने लाग्छ। यो जीवनको महŒवपूर्ण पाटो हो,' उनले भने।

त्रिवि मैदानमा एक घन्टा
धोनीले एक घन्टाभन्दा बढी समय कीर्तिपुरस्थित त्रिवि मैदानमा बिताए। अर्को साता मलेसियामा हुने एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपाली यु–१९ टोली, राष्ट्रिय टोली र केही महिला खेलाडीसँग झन्डै ४० मिनेट धोनीले मैदानको बीच भागमा भलाकुसारी गरे। शनिबार नेपालले भारतसँगै खेलेर यु–१९ एसिया कपको यात्रा थाल्दैछ।
'धोनी मानसिक शक्तिमा केन्द्रित भए। मानसिक तयार भयो भने मात्र प्राविधिक रूपमा खेल अगाडि बढाउन सकिन्छ भनेर उनले सिकाए,' पिचमा धोनीसँगको भएको संवादबारे पूर्वकप्तान विनोद दासले भने। धोनीलाई भेटेपछि यु–१९ टोलीका कप्तान पृथु बाँस्कोटा निकै उत्साहित थिए। 'जस्तोसुकै होस सामान्य भएर बस्नू' भन्ने धोनीको भनाइबाट प्रभावित पृथुले भने, 'उनीसँग भेटेपछि धेरै आत्मविश्वास बढेर आयो। हामीलाई प्रशिक्षकहरूले पनि यही कुरा नै भन्नुहुन्थ्यो। भारतीय कप्तानले यही कुरा भन्दा हामी सबैको उत्साह बढेर आयो।'
एक सामान्य परिवारका धोनीले आफ्नो अविश्वसनीय सफलताका कुरा गर्दा केही भावुक पनि भए। 'उत्तराखण्ड हुँदै राँचीको एक खेलाडीले भारतको नेतृत्व गर्नु र हामीले ठुला देशमा लिग गएर खेल्नु भनेको एउटै जस्तै हो,' विनोदले भने, 'धोनीलाई मैले यो सफलताको कारण जान्न खोज्दा उनले यसलाई पनि सामान्य रूपमा लिए। जति खेल भयो सबै खेल्दै जाँदा अनुभव बटुल्दै अन्तर्राष्ट्रिय र स्थानीय खेललाई एक हिसाबले लिएको बताए।'
पृथुले धोनीलाई कसरी शान्त भएर कप्तानी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । त्यसमा धोनीको जवाफ थियो, 'म धेरै बोल्ने कप्तान होइन, यो स्तरमा खेल्ने खेलाडीलाई आफ्नो भूमिका बारे स्पष्ट थाहा हुन्छ। कुनै खेलाडी कुनै दिन खेल्न नसक्नु सामान्य हो। मैले इशारा गर्दा खेलाडीले आफूपट्टि  हेरनन् भने मात्र मलाई रिस उठ्छ।'
ट्वान्टी–२०जस्तो छिटो खेललाई कसरी अपनाउनु सक्नुभयो भन्ने नेपाली टोलीका बाठा खेलाडी सञ्जम रेग्मीको प्रश्नमा धोनीको जवाफ थियो, …कहिलेकाही आफूले सोचेभन्दा चाँडो खेल्नुपर्छ ट्वान्टी–२० मा। ३ बल डट खेलिसकेपछि चौथो बलमा हान्न खोज्नुपर्छ।' धोनीले मैदानमा आफू शान्त भएर खेल्नुको कारण पनि खोतले। 'दबाब लिएर अभ्यासमा खेल्नु हँदैन। सकभर १ रन लिएपछि नन स्ट्राइकमा बसेर खेल्दा दबाब कम हुन्छ।'
अस्ट्रेलियामा अगस्टमा यु–१९ विश्वकप खेल्ने नेपाली टोलीलाई धोनीले सिमेन्टको विकेटमा प्लास्टिक बलले खेलेर तयार हुन सुझाव दिए। नेपालको स्लो विकेटमा कसरी ब्याटिङ गर्नुपर्छ भनी खेलाडीले सोध्दा उनले, 'क्लोज भएर जतिसक्दो लेट खेल्न' भने। नेपाली खेलाडीसँग आफ्नो कुराकानी धेरै राम्रो भएको जानकारी दिए।

वाचल धोनी
राजनीतिमा हात हाल्नुहुन्छ भन्ने प्रश्नमा धोनीले म क्रिकेट खेलमै रमाइरहेको छु भन्दै केही रमाइला उत्तर पनि दिए। विराट कोहली र रोहित शर्मामध्येको को भन्ने अर्को चटपटे प्रश्नलाई धोनीले पार्टी कि पिकनिक उत्तरले पन्छाए। मैदानमा सधँै किन कुल (शान्त) देखिनुहुन्छ भन्ने अर्को प्रश्नमा धोनीले आफू फ्रिजमा सुत्ने हुनाले एसी (वातानुकूलित वातावरण) पर्याप्त नभएको बताए।

अव्यवस्थित व्यवस्थापन
धोनीको नेपाल भ्रमणको पहिलो दिन व्यवस्थापन पुरै अव्यवस्थित रह्यो। मुख्य मैदान मानिएको कीर्तिपुरमा धोनीलाई झन्डै एक हजार दर्शकले स्वागत गरे। उनी नेपाली यु–१९, राष्ट्रिय टोली र महिला क्रिकेट खेलाडीसँग भेटन मैदानभित्र जाँदा नेपाल क्रिकेट संघका पदाधिकारी, आयोजकले आमन्त्रण गरेका, सुरक्षामा तैनाथ सुरक्षाकर्मी, ट्राफिक मैदानको बीचमा मोबाइलबाट धोनीको तस्बिर लिन र उनीसँग फोटो खिच्नमै लालयित देखिन्थे। धोनी मैदानमा पुगे पनि नेपाली टोलीको अभ्यास खेल जारी रहेका बेला भारतीय कप्तानलाई पछ्याएका मैदानभित्रका पास पहुँच भएकाहरू पिचसम्म पुगेका थिए। जबकि आफूहरूलाई पनि मैदान पस्न दिनुपर्छ भन्ने केही फोटोपत्रकार र टेलिभिजन क्यामरापर्सनलाई सुरक्षाकर्मीले हातपात समेत गरेका थिए।
'धोनीसँगको साँझ' नाम दिएको अन्तर्क्रिया कार्यक्रम दुई घन्टा भनिए पनि अव्यस्थितका कारण एक घन्टामै सकिएको थियो। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायाकेसहित खेलाडी र धेरै आमन्त्रित उभिएर नै कार्यक्रम हेरेका थिए।

प्रहरी सुरक्षा
धोनीको सुरक्षामा जुनियर अफिसरलाई अंगरक्षकमा खटाइएको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले धोनी बसेको होटल याक एन्ड यतीको सुरक्षा लिएको छ। होटलमा आउने जानेको निगरानी गरेको छ। उनी चढेको गाडीलाई अगाडी र पछाडी स्कर्टिङ दिइएको छ।
महानगरिय प्रहरी परिषर काठमाडौंका प्रमुख एएसएसपी जयबहादुर चन्दले नेपालमा क्रिकेट र धोनीका प्रशंसक र समर्थकहरु धेरै भएको तथा उनीहरु धोनीसम्म पुगेर अवरोध नपुर्‍याउन भनेर विशेष सतकर्ता अपनाएको बताए।


1 comment:

  1. Nepali journalist chai bahira Indian chai vitra ,ani yati saman ki indian dutabas ka karmachari ka chora chori haru pani ground vitra julusai thiyo kasto laj marnu vako baybastapan security ma khatiakka haru lai secuarity ko chaso thiana photo khichnu ko chataro deakhinthiyo afu t pass napaara adi ghanta get bahira vaiyo tespaxi matra balla vitra janu paa.kya ris utheako thiyo tyo din t

    ReplyDelete