Wednesday, June 20, 2012

यु–१९ क्रिकेट : लक्ष्य राष्ट्रिय टोलीसम्म

नेपाली क्रिकेटको पहिचान बनेको यु–१९ टोलीसामू व्यस्त सत्र छ। शनिबार मलेसियामा सुरु हुने एसिसी यु–१९ एसिया कपलाई तयारी गरिरहँदा प्रशिक्षक पुबुदु दासानायाकेले अस्ट्रेलियामा हुने आइसिसी यु–१९ विश्वकपदेखि राष्ट्रिय टोलीसम्म लक्ष्य बनाएका छन्। 
तस्वीर: केशव थोकर
विगतमा देखाएको प्रदर्शनका आधारमा नेपाली यु–१९ टोलीका परिचय टेस्ट खेल्ने राष्ट्रझै सम्मानित छ। नेपालले आगामी तीन महिनामा पाकिस्तान, भारत, अस्ट्रेलिया र इङ्ल्यान्डसँग खेल्ने अवसर पाएको छ। एसिया कपमा पाकिस्तान र भारतसँग खेल्ने नेपालले अस्ट्रेलियामा आयोजक र इङ्ल्यान्डसँग समूह चरणमा भिड्ने छ। 
यसअघिको यु–१९ विश्वकपमा पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र बंगलादेशलाई पराजित गरिसकेकाले एसोसिएट राष्ट्र भए पनि नेपाल टेस्ट खेल्नेहरूका बीचमा सम्मानित राष्ट्र बनेको हो। लगातार खेलिरहेकाले नेपाली यु–१९ टोलीबाट यसपटक पनि सोही अपेक्षा गरिएको छ। योजनाअनुसार खेलेमा नेपालले अर्को अप्रत्याशित नतिजा निकाल्न सक्ने विश्वास दासानायाके राख्छन्। 


विगतलाई हेर्ने हो भने यु–१९ टोलीले विश्वकपसम्म खेल्दा १०–१२ खेलमात्र खेल्दथे, म्याच एक्सपोजर सधैँ नेपालको प्रमुख समस्या रहन्थ्यो। अहिले १५ खेल खेलिसकेको छ र विश्वकपसम्म नेपाली टोली कम्तीमा अझै ९ खेल खेल्ने छन्। विश्वकप छनोटको आधार मानिएको एसिसी यु–१९ उपविजेता बन्दा ६ र आयरल्यान्डमा आइसिसी यु–१९ विश्वकप छनोटमा ९ खेल खेलेको थियो। 
दासानायाकेको लक्ष्य एसिया कप र विश्वकपमै सीमित छैन। 'हामीले ट्रायलका लागि आफै आफैमा केही अभ्यास खेल पनि खेल्यौं। खेलाडीको प्रदर्शन विस्तारै माथि आउँदैछ। मेरो लक्ष्य मलेसियामा यु–१९ एसिया कप र अस्ट्रेलियामा विश्वकप खेल्नुमात्र होइन। माथिल्लो स्तरमा अझ राम्रो खेल्नु हो। यी प्रतियोगिताबाट खेलाडीले राम्रो अनुभव बटुल्न सकून् भन्ने हो। यु–१९ का ३ खेलाडी राष्ट्रिय टोलीमा छन्, राम्रो प्रदर्शन गरेर २–३ खेलाडी थप राष्ट्रिय टोलीमा अटाऊन भन्ने मेरो उद्धेश्य हो।'
कप्तान पृथु बाँस्कोटा पनि आफ्नो टोलीले अप्रत्याशित नतिजा निकाल्ने सक्ने सम्भावना देख्छन्। 'हाम्रो टिम राम्रो छ, त्यहीअनुरुप खेल्ने हो भने जितिन्छ। तर अहिले हाम्रो तयारी एसिया कपलाई हो। खेलाडी मानसिक रूपमा तयार पनि छन्,' पृथु भन्छन्, 'यो लेभलमा प्रायः टोलीबीच खासै अन्तर हुँदैन। निश्चित दिन कुन टोलीले कस्तो खेल्छ त्यसमा नतिजा भरपर्छ।'
नयाँ केही राम्रा खेलाडी पनि देखिएकाले दासानायाकेले यु–१९ बाट नेपाली क्रिकेटकै संरचनामा परिवर्तन ल्याउने संकेत गरेका छन्। 'यु–१९ टोलीमा राखिएका केही तीब्र बलर नयाँ छन् तर उनीहरूमा राष्ट्रिय टोलीसम्म पुग्ने क्षमता छ। यसबाट प्रतिस्पर्धा बढ्छ। राष्ट्रिय टोलीमा पर्न खेलाडीको एउटा ठूलो समूह बन्छ, जसमा ३० जति खेलाडी हुन्छन्। यसले नेपाली क्रिकेटको संरचना पनि परिवर्तन आउँछ। नेपाली क्रिकेटमा पहिला संरचनामै सुधार हुनुपर्छ,' उनले भने।
दासानायाकेले पहिलोपटक काठमाडौं आउने निधो गर्दा नेपाली क्रिकेटबारे उनलाई खासै थाहा थिएन। यु–टुबमा हेरेका केही भिडियोमा जे देखे त्यही नै नेपाली क्रिकेट होला भन्ने अर्थ लगाए। एसियाली क्रिकेट परिषद् (एसिसी) र पूर्वप्रशिक्षक रोय डायससँग परामर्श गर्दा नेपालमा अवसर छ भनेर दासानायाकेले थाहा पाए।
आफ्नो नजिकका साथीबाट नेपाली यु–१९ बारे थाहा पाएपछि क्यानाडाको राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्‍याइसकेका दासानायाकेले नयाँ गन्तव्यको भेउ पाए। ९ महिनाअघि पहिलो पटक नेपाल आउँदा दासानायाकेले भनेका थिए, 'क्यानाडाको यु–१९ का प्रशिक्षकले पनि नेपाली यु–१९ बारे बताए। उनी पनि नेपालको प्रदर्शनबाट प्रभावित थिए।'
गतवर्ष आयरल्यान्डमा भएको आइसिसी यु–१९ विश्वकप छनोटमा क्यानाडाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो। नेपालको हकमा त्यो अप्रत्याशित नतिजा थियो। टेस्ट खेल्ने राष्ट्रलाई छाड्ने हो भने नेपालको एसोसिएट टोलीसँग दुर्लभ हार थियो। त्यसका बाबजुद नेपाल दोस्रो भई छैटौंपटक आइसिसी यु–१९ विश्वकपमा छनोट भयो। क्यानाडाका प्रशिक्षकले स्वदेश फर्किएपछि दासानायाकेलाई खबर पुर्‍याए। 
दासानायाकेले जे सुनेका थिए पहिलोपटक नेपाली यु–१९ टोली हेर्दा लगभग त्यही पाए। 'धेरै प्रतिभावान खेलाडी छन्। प्रतिभाका हिसाबले म निकै प्रभावित छु। तर धेरै क्षेत्रमा सुधार हुन बाँकी छ।'
असार ६ मा नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment