Saturday, June 16, 2012

धोनीको धुम

काठमाडौं– भारतीय कप्तान महेन्द्रसिंह धोनीलाई स्वागत गर्न नेपाली क्रिकेट समर्थक आतुर छन्। धोनी पशुपतिनाथ दर्शनका लागि शनिबार बिहान काठमाडौं आउँदैछन्।
विश्व क्रिकेटका ठूला स्टारमध्येका एक धोनीको आगमन नेपाली खेलकुदमा अहिलेसम्मकै 'हाई प्रोफाइल' भ्रमण हो। यसअघि आइसिसीका तत्कालीन अध्यक्ष एहशान मणि, फिफा अध्यक्ष सेप ब्लाटर तथा पूर्व क्रिकेटर कपिलदेव, सुनिल गावास्कर नेपाल आए पनि धोनी सबभन्दा विशिष्ट हुन्।


भारतीय दुतावासले धोनीको व्यक्तिगत भ्रमणलाई औपचारिक रंग दिने प्रयासमा नेपाली क्रिकेट टोली, क्रिकेटकर्मी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया राखेर युथ इन्गेजमेन्ट प्रोग्रामको नाम दिएको छ। यसले पनि नेपाली राष्ट्रिय क्रिकेटरको व्यग्रता झनै बढेको छ।
राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न अघिल्लो साता काठमाडौं आएका शक्ति गौचन प्रतियोगिता स्थगनसँगै भैरहवा (घर) फर्किन लागेका थिए। धोनी आउने खबरले उनको काठमाडौं बसाइ लम्बिएको छ, धोनीसँग कसरी आमने–सामने गर्ने सोचमै मग्न भएर।
साढे दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) को राजस्थान रोयल्समा ट्रायल दिन जाँदा भोगेको अनुभवलाई धोनीसँग जोडेर कल्पना गर्दै शक्तिले उनको आगमन प्रतीक्षामा हप्तादिन बिताइसकेका छन्। 'राजस्थानका कप्तान राहुल द्रबिड ब्याटिङका लागि नेटमा आएका थिए। घाँसे विकेट थियो। एक ओभर ब्याटिङ गर्दा बल दुई पटक उछालिएर आयो,' शक्तिले जयपुरको घटना सम्झे, 'प्रशिक्षकलाई म यो विकेटमा ब्याटिङ गर्दिनँ भन्दै द्रबिडले त्यो विकेट छाडे। इङ्लिस ब्याट्सम्यान ओवाइस शाह त्यो विकेटमा ब्याटिङ गर्न जान लागेका थिए, तर द्रबिडले शाहलाई त्यो विकेट खराब छ, त्यहाँ ब्याटिङ नगर भनेर जान दिएनन्।'
नेपाली यु–१९ र राष्ट्रिय खेलाडीसँग धोनीले शनिबार दुई घन्टा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिताउनेछन्। राजस्थानमा द्रबिडले नेटमा पिच खराब भनी ब्याटिङ नगरेको घटनालाई सम्झँदै शक्ति भन्छन्, 'यहाँको विकेट हेरेर धोनीले के भन्लान्?' धोनी ब्याटिङका लागि आइहाले शक्तिले अरू बेलाजस्तै सामान्य सिधा लाइनमा बलिङ गर्ने सोचाइ बनाएका छन्। आफ्नो बलमा धोनीले 'हेलिकप्टर' सटमा बाउन्ड्री हाने दुःखी नहुने शक्ति बताउँछन्। तथापि उनलाई रोक्ने उद्देश्यमै बलिङ गर्ने शक्तिले बताए। क्रिकेटको 'स्टाइल बुक' मा नभए पनि धोनी 'हेलिकप्टर' सटका लागि चिनिन्छन्।
धोनी विकेटकिपर बसे आफूले केही भन्न नमिल्ने शक्ति बताउँछन्। 'मेरो बल यसरी आउँछ भनेर त्यत्रो ठूलो खेलाडीलाई केही भन्न मिल्दैन। उनीजस्ता ठूला खेलाडीसँग आमने–सामने नभएसम्म हाम्रो खेल अगाडि बढ्ने सम्भावना नै हुदैन। त्यसैले धोनीसँगको भेटलाई अवसरका रूपमा लिएको छु। राजस्थानमा ट्रायल दिएर आएपछि मेरो आत्मविश्वास निकै उच्च भएको छ। धोनीसँगको भेटले मजस्तै अरू खेलाडीमा पनि आत्मविश्वास बढ्नेछ।'
सन् २००१ मा एसिसी यु–१९ कपमा माल्दिभ्सविरुद्ध शतक बनाउँदै शक्तिले नेपाली क्रिकेटको भविष्यको संकेत गरे। त्यसको दुई वर्षअघि प्रथम श्रेणीको क्रिकेटमा पाइला टेके पनि धोनी गुमनामजस्तै थिए। १९९९–०० मा बिहारबाट रणजी ट्रफीमा 'डेब्यु' गरेका धोनी त्यसको पाँच वर्ष केन्याको नैरोबीमा पाकिस्तान 'ए' विरुद्धको खेलमा साहसिक इनिङ खेलेपछि चर्चामा आए।
२००४ मा बंगलादेशविरुद्ध चित्तागोङमा एकदिवसीय 'डेब्यु' गरेका धोनीले २०६ एकदिवसीय खेल खेलिसकेका छन्। २००५ मा उनले श्रीलंकाविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा पनि पाइला टेके। उनको नाममा ६७ टेस्ट छ। २००७ को ट्वान्टी–२० विश्वकपका लागि भारतले युवा टोली उतार्ने निधो गर्दा धोनीले पहिलो पटक नेतृत्वको जिम्मेवारी पाएका थिए। केवल एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको र त्यसमा पनि प्रमुख प्रशिक्षकबिना उत्रेको भारतीय टोलीलाई धोनी नेतृत्वले विश्व च्याम्पियन बनायो।
२००४ को पाकिस्तान भ्रमणका बेला धोनी चर्चामा थिए। तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले आफू धोनीको लामो कपालको प्रशंसक भएको बताएका थिए। त्यसको अर्को वर्ष धोनीले जयपुरमा श्रीलंकाविरुद्ध बनाएको १ सय ८३ रन विकेटकिपर ब्याट्सम्यानले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोरमा स्थापित भयो। २००८ र ०९ मा उनी आइसिसीको वर्षको एकदिवसीय खेलाडी चुनिए।
एकैपटक मारेको ठूलो फड्कोका कारण धोनीलाई भाग्यमानी खेलाडी पनि भनिन्छ। २०११ मा एकदिवसीय विश्वकप दिलाएपछि धोनीले आफू भाग्यमानीभन्दा माथि रहेको प्रमाणित गरे। श्रीलंकासँगको फाइनलमा खेलेको म्यान अफ द फाइनल इनिङ त्यसको प्रमाण थियो। धोनीकै कप्तानीमा चेन्नई सुपर किंग्सले आइपिएलको ५ मध्ये दुई संस्करण जितिसकेको छ। २०१० मा उनले चेन्नईलाई च्याम्पियन्स लिगको विजेता बनाएका थिए।
फुटबलमा गोलकिपरको भूमिकाबाट धोनीले खेलयात्रा थालेका थिए। फुटबल टोलीका प्रशिक्षकले धोनीलाई क्रिकेट खेल्न प्रेरित गरे। विकेट किपिङबाट क्रिकेटमा होमिएका धोनीका आदर्श खेलाडी सचिन तेन्दुलकर थिए। २०१० मा तेन्दुलकरलाई नै उछिन्दै धोनी सबभन्दा ठूलो प्रायोजक हात पार्ने खेलाडी बने। उनलाई ४ करोड २० लाख डलरमा विज्ञापन प्रायोजनका लागि दुई वर्ष अनुबन्ध गरिएको थियो, जुन तेन्दुलकरको भन्दा १ करोड ८० लाख डलर बढी थियो।
फोर्ब्स पत्रिकाले धोनीलाई क्रिकेटमा सबैभन्दा कमाउने खेलाडी सूचीमा शीर्ष स्थानमा राखेको छ। खेलकुदको स्पोर्टसप्रो पत्रिकाले सबैभन्दा कमाइ गर्ने खेलाडीको विश्वसूचीमा धोनीलाई शीर्ष १० मा तथा एसियाको शीर्ष स्थानमा राखेको थियो। टाइम पत्रिकाले गत वर्ष प्रभावशाली १ सय व्यक्तिको सूचीमा धोनीलाई पनि राखेको थियो।
राँचीको सामान्य परिवारमा जन्मेका उनका अभिभावक उत्तराखण्डबाट पहिलाको बिहार र हालको झारखण्डको राँची सरेका थिए। धोनीका पिता पान सिंह एक कम्पनीमा जुनियर व्यवस्थापकका रूपमा काम गर्थे। उत्तराखण्डको देहरादुनकी स्थानीय साक्षी रावतसँग धोनीको बिहे सामान्य रूपमा भएको थियो। मैदानमा जस्तै धोनीको जीवनशैली सामान्य छ। उनी तामझामभन्दा टाढै बस्छन्।
'हामी नेपाली युवासँग जोडिन चाहन्थ्यौं, त्यसमा खेलकुद सही माध्यम हो। धोनीको नेपाल भ्रमण पनि यही कारण नै हो,' धोनीको भ्रमणबारे भारतीय दुतावासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवले प्रस्ट्याएकी थिइन्। धोनीको सफलताको यात्रा नेपाली क्रिकेट खेलाडीलाई 'दिउँसो देखेको सपना' मात्र हुन सक्ला। एउटा साधारण परिवारमा जन्मेर भारतीय टोली हाँकेको उदाहरण शक्तिसहित नेपाली खेलाडीका लागि प्रेरणा हुन सक्छ।

              नागरिक राष्ट्रिय दैनिकमा शनिबार प्रकासित



No comments:

Post a Comment