Thursday, March 14, 2013

एसिसी ट्वान्टी–२० मा नेपालका स्मरणीय खेलहरु


एसिसी ट्वान्टी–२० कप आउन १० दिन मात्र बाँकी छ। नेपालको विश्वकप खेल्ने लक्ष्य एसिसीले पुरा गर्न सक्छ। अर्को वर्ष बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी–२० का लागि एसिसी ट्वान्टी–२० पहिलो खुडकिलो हो। युएई र एकदिवसीय मान्यता प्राप्त अफगानिस्तान बाहेक शीर्ष दुई भित्र पर्न सके नेपाल विश्व ट्वान्टी–२० को अन्तिम छनोटमा छानिने छ। विश्व ट्वान्टी–२० छनोट यसै वर्ष युएईमा हुनेछ। एसिसी ट्वान्टी–२० को यसअघिको तीनै संस्करणमा नेपाल सँधै सहभागि हुँदै आएको छ र १६ खेल खेलिसकेको छ। २००७ देखि प्रत्येक २–२ वर्षमा हुँदै आएको प्रतियोगितामा नेपालका केही खेल स्मरणीय बनेका छन्, चाहे त्यो विजयमा होस वा पराजित हुँदा। नेपालका केही अविस्मरणीय खेलहरु। 
सन् २०११ को एसिसी ट्वान्टीमा–२० मा पृथु बाँस्कोटाले कुवेतविरुद्ध अन्तिम ओभरमा ३ विकेट लिई नेपाललाई विजय दिलाएपछि नेपाली खेलाडीहरु उनलाई बधाई दिर्दै । फाइल तस्विरः विकास कार्की/नागरिक


विरुद्ध कतार, २००७, कुवेत
ट्वान्टी–२० मै नेपालको दोस्रो अन्तर्राष्ट्रिय खेल थियो। पहिलो खेलमा मलेसियालाई २१ रनले पराजित गरेकाले नेपालले कतारलाई पराजित गरेको खण्ड्मा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने थियो। नेपालले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाई १ सय २८ रन बनायो। केइसी मैदानमा कतारलाई अन्तिम तीन ओभरमा ४५ रन चाहिएको अवस्थामा नेपाल लगातार तेस्रो विजयको नजिक पुगेको थियो। तर स्पिनर राहुल विकको १८औं ओभरमा २३ र पारस खड्काको १९औं ओभरमा २२ रन बनाउदै कतारले नेपाललाई अप्रत्यासित ढंगमा ३ विकेटको विजय हात पार्‍यो।

विरुद्ध ओमान, २००७, कुवेत
अफगानिस्तानसँग ६ विकेटको पराजयपछि नेपाल एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको थियो। ओमानसँगको विजयले नेपाललाई घर फर्कनु अगाडी थोरै भए पनि राहत प्रदान गर्दथ्यो। महबुब आलमको ४१ रनमा नेपालले ८ विकेट गुमाई १ सय ४० रन बनायो। पहिलो तीन खेल जितेर सेमिफाइनल स्थान सुरक्षित गरिसकेको ओमानलाई अन्तिम ओभरमा विजयका निम्ति ८ रनको आवश्यक्ता थियो। पारस खडकाको पहिलो बलमा ओमानी ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन्, त्यसपछिको बलमा बोल्ड गरे। पारसको अर्को बलमा ओमानी ब्याट्सम्यानले चौका प्रहार गरे। पारसको तेस्रो बलमा पनि उनले २ रन जोडेपछि ओमान विजय निश्चित देखिएको थियो। खेलमा पहिलो ओभर बलिङ गरिरहेका पारसको अन्तिम २ बलमा ओमानले विजयका लागि २ रन बनाए पुग्थ्यो। तर पारसले पछिल्लो दुवै बलमा विकेट लिएर नेपाललाई नाटकीय विजय दिलाए।

विरुद्ध कुवेत, २००९, युएई
नेपाल पहिलो खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो, जुन परमपरागत प्रतिद्वन्द्वी मलेसियासँग नेपालको पहिलो पराजय थियो। दीपेन्द्र चौधरीले ४ विकेट लिएपछि अवुधावीको शेख जायेद रंगशालामा कुवेत १९.१ ओभरमा १ सय २३ रनमा समेटियो। नेपाललाई विजयको निम्ति अन्तिम ओभरमा १३ र अन्तिम बलमा ६ रन चाहिएको थियो। अन्तिम बलमा छक्का हान्न नसकेको भए अन्तर्राष्ट्रिय क्रिकेटमा कुवेतसँग नेपालले पहिलो हार बेहोर्ने थियो। स्ट्राइकमा थिए विनोद भण्डारी। यो उनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल थियो। विनोदले अन्तिम बलमा छक्का हानेपछि नेपालले खेल टाइ गर्दै बलआउटमा ३–२ ले जित्यो। धेरैले विनोदको छक्कालाई पाकिस्तानका जावेद मियादादले भारतविरुद्ध अन्तिम बलमा बनाएको विजय छक्कासँग स्मरण गरे।

विरुद्ध हङकङ २०११, काठमाडौं
प्रतियोगिताको पहिलो खेल भए पनि हङकङसँगको हारले नेपाल प्रतियोगिताबाटै बाहिर बनाउन सक्थ्यो। पहिला ब्याटिङ गरेको हङकङलाई ११४–९ मा रोक्यो नेपालले। लक्ष्य सजिलो भएन्। अन्तिम २ ओभरमा २६ रन बनाउनु पर्ने कठिन स्थित आइपर्‍यो। नेपालको आशा कप्तान पारस खड्कामा थियो। उनी ४४ रन बनाएर खेलिरहेका थिए। पारस १९औं ओभरको पहिलो बलमै आउट भए। इरफान अहमदले सोही ओभरको अन्तिम बलमा प्रदीप ऐरीलाई पनि आउट गरे। पारस र प्रदीप आउट भएको बलको बीचको ४ बल सदुपयोग गर्दै नेपालले विजय आधार तयार पार्‍यो, जहाँ निर्णायक समयमा खेलका नायक बनेका बसन्त रेग्मीले इरफान अहमदलाई कभरमा छक्का प्रहार गरे। त्यसअघिको बलमा उनले चौका प्रहार गरे, जुन नो–बल थियो। प्रदीपले पाँचौं बललाई पनि चौका प्रहार गरेपछि नेपालले दोस्रो अन्तिम ओभरमा १८ रन जोड्यो। 
अन्तिम ओभरमा नेपालले ८ रन बनाउनुपर्थ्यो। राहुल बिक र बसन्तले पहिलो दुई बलमा १–१ रन लिए। तेस्रो बललाई बसन्तले कभरबाट बाउन्ड्री लाइन बाहिर पठाए। चौथो बलमा बसन्तले लेग बाईमा १ रन जोडेपछि स्कोर बराबर भयो। स्ट्राइकमा आएका राहुलले पाँचौं बलमा कुनै रन लिन सकेनन्। छैटौं बलमा राहुलले प्रहार गरेको बल लेग स्लिपमा गयो। जसमा नन स्ट्राइकमा रहेका बसन्तले दगुरेर १ रन पूरा गरेपछि नेपालले अन्तिम बलमा लक्ष्य पूरा गर्दै २ विकेटको विजय पायो।

विरुद्ध कुवेत, २०११, काठमाडौं 
हङकङसँगको विजय पाए पनि युएईसँगको सजिलो हारले नेपाललाई बाँकी दुई खेलमा जित्नै पर्ने बाध्यता थपिदिएको थियो। सुवास खकुरेलको ४० रनमा पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो। पहिलो १० ओभरमा ६८ रन जोडेर कुवेतले राम्रो सुरुआत गर्‍यो। अन्तिम ओभरमा टोलीले विजयका निम्ति १८ रन बनाउनु पर्ने भयो। अन्तिम ओभरको जिम्मा पृथु बाँस्कोटाले पाए। यो उनको खेलमा केवल दोस्रो ओभर थियो।
पृथुको पहिलो बलमै साउद कमारले छक्का प्रहार गरे। अर्को बलमा पृथुले वाइड फाले। त्यसपछिको बल पनि वाइड भए पनि पृथुले कमारलाई स्टम्पआउट गरे। विकेटपछिको अर्को बल पृथुले पुनः वाइड फाले। त्यसपछिको बलमा पृथुले जाहिर अलीलाई एलबिडब्लु आउट गरे। तेस्रो बलमा एक रन लिएका कुवेती कप्तान अजमातुल्लाह नाजिरले मिडविकेटमा विशाल छक्का प्रहार गरे। अन्तिम दुई बलमा दुई रन बनाए कुवेतले खेल जित्ने थियो। एक रनले स्कोर बराबर हुन्थ्यो। पृथुले लेग साइडमा गएको बलमा नाजिरलाई विकेटकिपर सुवास खकुरेलबाट स्टम्प गराइ नेपाललाई प्रतियोगितामा अर्को नाटकीय विजय दिलाए।

विरुद्ध साउदी अरेविया, २०११, काठमाडौं
महबुब आलमले ८८ रनको आक्रामक इनिङ खेल्दै बुधबार नेपाललाई एसिसी ट्वान्टी–२० कपमा साउदी अरेबियामाथि ९५ रनको विजय दिलाई सेमिफाइनलको आधार तयार पारे। टस हारेर ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाई १ सय ८३ रन बनायो। राम्रो रनरेटका लागि १ सय रन अन्तरको विजय हात पार्ने लक्ष्य बनाएको नेपालले साउदीलाई १९.१ ओभरमा ८८ रनमै सीमित गर्‍यो। नेपालले आवश्यक अनुरुप विशाल विजय हात पारे पनि यो खेल महबुब विशेष थियो। 
महबुबको ८८ रन नेपाली खेलाडीको अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा पहिलो अर्द्धसतक थियो। महबुबको इनिङमा ६ छक्का समावेश थियो। नेपाली खेलाडीले यसअघि एकै खेलमा ३ छक्का प्रहार गर्न सकेका थिएनन्। महबुब र अनिल मण्डलले दोस्रो विकेटमा जोडेको ९८ रनको साझेदारी ट्वान्टी–२० मा नेपालको ठूलो साझेदारी हो। साउदी अरेबियाविरुद्ध बनाएको १ सय ८३ रन ट्वान्टी–२० मा नेपालको सबैभन्दा ठूलो स्कोर हो। 

नेपालले विर्सन नसक्ने खेल
युएई विरुद्ध साउदी अरेविया, २०११, काठमाडौं 
नेपालले समूह चरणका सवै चार खेल खेलि त्यसमा ३ जीत हात पारेको थियो। त्यसले पनि नेपालको सेमिफाइनल निश्चित भएको थिएन्। युएई र साउदीको खेलमा नेपालको सवै आशा केन्द्रित थियो। साउदीले टस जितेपछि एसिसी ट्वान्टी–२० कपको समूह चरणको अन्तिम खेलमा ब्याटिङ गर्न आएको युएईले ८ विकेट गुमाई १ सय ६८ रन बनायो। साउदीलाई ९७ रनभित्रै आउट गरेमा युएईले सेमिफाइनल प्रवेश पाउँथ्यो। साउदीले ९८ रनभन्दा बढी बनाएमा नेपाल सेमिफाइनललाई छनोट हुन्थ्यो। समूह चरणको खेलमा नेपालले पनि युएईसँग ९५ रनमात्र बनाएकाले पहिलो ३ खेल हारिसकेको साउदीलाई चुनौती त्यति सजिलो थिएन। 
साउदीका हमाद सइद एकाएक नेपालको नायक भएर निस्के। उनको बलिङ दौरान मांसपेसी तन्किएका कारण उनले ब्याटिङ गर्नेमै शंका थियो। ब्याटिङलाई मैदानमा जाने उनको आँट युद्धमा जाने सैनिकको भन्दा कम थिएन। रनर राख्न नपाउने आइसिसीको नयाँ नियमले पनि उनको आँटलाई रोक्न सकेन। उनले खेलेको ६३ रनको इनिङले नेपाली दर्शकलाई अविश्मरणीय छाप छोड्यो। साउदीले १९.२ ओभरमा १ सय १५ रन बनाएर खेल ५३ रनले हार्‍यो। तर त्यो नेपाललाई सेमिफाइनल पुग्न पर्याप्त बनिसकेको थियो। नेपाल सेमिफाइनल छनोट हुन आवश्यक ९८ मध्ये ६३ रन सइद एक्लैले बनाए।
हमादको इनिङले नेपाल विश्व ट्वान्टी–२० छनोटमा छानियो। सइदले यस्तो समर्थन पाए जुन यसअघि कहिले पाएका थिए, सायद नपाउलान् पनि। महत्वपूर्ण पक्ष नेपाली राष्ट्रिय टोली पहिलो पटक आइसिसीको ग्लोबल प्रतियोगिताका लागि छानियो। युएईमा भएको विश्व ट्वान्टी–२० छनोटले नेपाललाई ठुला प्रतियोगितामा जित्न सिकायो। आफु सहभागि नभए पनि युएई र साउदीको खेल नेपालले कहिल्यै नबिर्सिने खेल बन्यो।

No comments:

Post a Comment