Sunday, March 24, 2013

सतकीय खेलमा पारस


एसिसी ट्रफीमा कुवेतसँग बनाएको अविजित १ सय ६ रन पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक थियो। एसिसी ट्वान्टी–२० कपमा मंगलबार माल्दिभ्ससँग पहिलो खेल खेल्न नेपाली टोली उत्रँदा कप्तान पारसको नाममा अर्को सतक जोडिने छ। यसपल्ट पारसले राष्ट्रिय टोलीबाट १ सय खेलको अनुपम उपलब्धि हात पार्न लागेका हुन्। 
पारस आफैलाई सन् २००४ मा मलेसियासँग कीर्तिपुर मैदानमा अन्तरमहादेसीय कप तीनदिवसीयबाट राष्ट्रिय टोलीमा पहिलो खेल खेलेको याद छ। सोही वर्ष मलेसियामै उनले एसिसी ट्रफीमा राष्ट्रिय टोलीबाट पहिलो एकदिवसीय खेले। २००७ बाट सुरु गरेको ट्वान्टी–२० को अन्तर्राष्ट्रिय यात्रामा पारसले सबै २८ खेल खेलेका छन्।
तस्विरः आइसिसी

'साँच्चै भन्नुपर्दा मलाई म राष्ट्रिय टोलीबाट १ सय खेल खेलिरहन लागेको बारे केही थाहा छैन। ९ वर्षअघि पहिलो खेल खेल्दा यो स्थितिमा पुग्छु भन्ने सोचेको पनि थिइनँ,' पारस भन्छन्, 'खेल्दै गएर यो स्थितिमा पुगेको हुँ। अझ कति खेल्छु थाहा छैन। आफ्नो प्रदर्शन राम्रो भएसम्म खेलिरहने छु।' पारसले नेपाली यु–१९ बाट २६ र यु–१७ बाट ५ खेल पनि खेलेका छन्।
आफ्नो एक सय खेलभन्दा पारस तत्काललाई एसिसी ट्वान्टी–२०मै केन्द्रित छन्। 'यो प्रतियोगिताको निकै महत्व छ, हामीले लक्ष्य बनाएको ट्वान्टी–२० विश्वकपको लक्ष्य यही प्रतियोगितासँग जोडिएको छ,' पारसले भने, 'माल्दिभ्ससँग विजय पाएमा एक सय खेलका हिसाबले मलाई त्यो बोनस हुनेछ।'
२००९ मा युएईमा भएको एसिसी ट्वान्टी–२० यता पारसले नेपाली टोली सम्हाल्दै आएका छन्। उनको कप्तानीमा नेपालले ५४ खेल खेलिसकेको छ, त्यसमा ३७ विजय समावेश छ। एकदिवसीयमा ३० मध्ये पारसको कप्तानीमा नेपालले २४ खेल जितेको छ। एक खेल 'टाइ' भएको थियो। पाँच महिनाअघि नेपालले युएईसँग शारजहाँमा 'टाइ' खेल्दै एसिसी ट्रफी इलिटमा संयुक्त विजेता बनेको हो। यो नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो प्रतियोगिता हो। 

पारस भने एसिसीको ठीकअघि मलेसियामा अमेरिकाविरुद्धको विश्व क्रिकेट लिग डिभिजन ४ लाई विशेष मान्छन्। सुवास खकुरेलको १ सय १५ रनमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गरी आफ्नो प्रभाव देखाएको थियो। पारसले भने, 'नेपालले तीनदिवसीयमा अधिकांश खेल राम्रो खेल्यो। टिमका हिसाबले अमेरिकासँगको खेल मेरा लागि सम्भि्करहने खेल हो, जहाँ उत्कृष्ट प्रदर्शन गरेका थियौं।'
९९ खेल खेलिसक्दा पारस आफूलाई अझै उत्कृष्ट लागेको खेल कुनै छैन। 'मैले अझै उत्कृष्ट इनिङ्स खेल खेल्न बाँकी छ। नेपाल डिभिजन १ मा नपुगेसम्म मैले योगदान दिएको छु भन्न मिल्दैन,' उनले भने, 'नेपालले यो वर्ष तोकेको लक्ष्यहरूमा पुग्न सक्यौं भने मैले पनि केही गरेको महसुस गर्नेछु।' 
शक्ति गौचन र विनोद दासपछि राष्ट्रिय टोलीबाट १ सय खेल खेल्ने उनी पहिलो खेलाडी हुन्। १ सय खेल खेल्न पाउनुलाई विनोद पनि ठूलो उपलब्धि मान्छन्। 'हाम्रो जस्तो देशले नियमित खेल्न पाउँदैनन्। यसको मतलब ८–१० वर्ष खेलेरमात्र यो उपलब्धि हात पार्न सकिन्छ,' पूर्वकप्तान विनोदले भने, 'पारसले यसअघि खेलेका खेलहरूमा सम्भवत ५० प्रतिशत खेलमा प्रर्दशन त्यहीअनुरुपकै छ। पछिल्ला ४–५ वर्षमा उनी नेपालका नम्बर एक खेलाडी हुन्। नेपालले विश्वकप खेल्ने जुन सपना देखेको छ, त्यो स्थानमा पुग्न पारस अहिलेजस्तै उत्कृष्ट फर्ममा हुन जरुरी छ। उनी खेलको पूरै नक्सा परिवर्तन गर्ने खेलाडी पनि हुन्।'
माल्दिभ्ससँगको खेलले पारसको खेलजीवनमा अर्को सतक पनि थपिदिन सक्छ। उनले राष्ट्रिय टोलीबाट ९९ विकेट लिइसकेका छन्। एक विकेट माल्दिभ्ससँग थपेमा पारसले १ सयको अर्को तथ्यांकमा पुग्ने छन्। पारसले भने जस्तै त्यसमा नेपालले विजय हात पार्नु मुख्य पक्ष हुनेछ।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत ११ गते प्रकासित

No comments:

Post a Comment