Tuesday, March 26, 2013

होलीले रंगिने नेपालको तयारी


'बिहानीले दिनकै संकेत गर्छ' अंग्रेजी यो भनाइजस्तै नेपालले मंगलबार सुरु एसिसी ट्वान्टी–२० कपमा माल्दिभ्ससँगको खेललाई यसै किसिमले लिएको छ। उपाधि जित्ने लक्ष्य बनाएको नेपालले पहिलो खेललाई प्रतियोगिताका बाँकी खेलसँग जोडेको छ। 
१० राष्ट्रसम्मिलित प्रतियोगितामा माल्दिभ्सलाई तुलनात्मक हिसाबमा सबैभन्दा कमजोर मानिएको छ। नेपालले माल्दिभ्सलाई सजिलै पराजित गरी प्रतियोगितामा राम्रो सुरुआत गर्ने दाउमा छ। त्यसपछिका खेलमा कस्तो खेलिन्छ भन्ने माल्दिभ्सको खेलले देखाउने कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दासानायके बताउँछन्। 
तस्विरः नागरिक

'हामीले सबै तयारी सिध्याएका छौं र प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छौं,' दासानायकेले नागरिकसँग भने, 'माल्दिभ्समात्र होइन हामी कुनै टोलीलाई पनि कमजोर आँक्ने छैनौं, ट्वान्टी–२० मा खराब विकेट र खराब माहौल भयो भने सबै टोलीको स्थिति बराबर हुन्छ। हामी आफ्नो उत्कृष्टतामा केन्द्रित हुनेछौं र त्यहीअनुसार खेल अन्त्य गर्न चाहन्छौं।'
दासानायकेले २०११ को नोभेम्बरमा माल्दिभ्समा भएको सार्क यु–२५ बाट नेपाली प्रशिक्षणको जिम्मेवारी सम्हाल्न थालेका थिए। आमन्त्रण उक्त प्रतियोगितामा नेपालले माल्दिभ्ससँग सामना गर्नुपरेको थिएन। तर दासानायके माल्दिभ्सबारे आफू जानकार भएका बताउँछन्। 'माल्दिभ्समा हामीले उनीहरूको खेल हेरेका थियौं। त्यो प्रतियोगितापछि हामी धेरै अगाडि बढिसकेका छौं,' दासानायकेले भन्छन्।
माल्दिभ्सबाट स्वेदश फर्केलगत्तै नेपालले एसिसी ट्वान्टी–२० कपको पछिल्लो संस्करण खेलेको थियो। तेस्रो संस्करणमा आएर पहिलोपल्ट सेमिफाइनल पुगेको नेपाल विश्व ट्वान्टी–२० लाई छनोट भयो। यसपल्ट नेपालले उपाधि जित्दै विश्व ट्वान्टी–२० मा छनोट हुने लक्ष्य पालेको छ। विश्व ट्वान्टी–२० छनोटको आयोजक युएई तथा एकदिवसीय मान्यताप्राप्त अफगानिस्तानबाहेक प्रतियोगिताका शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकपको अन्तिम छनोटमा पुग्ने छन्।
दासानायकेले श्रीलंकाबाट टेस्ट र एकदिवसीय खेलिसकेका छन्। उनी माल्दिभ्ससँगको खेलमा श्रीलंकाका अर्का प्रशिक्षक निलान्था कोरेयसँग आमने–सामने हुनेछन्। प्रतियोगिताका चार टोलीमा श्रीलंकन प्रशिक्षक छन्। एक महिनाअघि माल्दिभ्स प्रशिक्षकको जिम्मेवारी सम्हालेका निलान्थाको भनाइ मान्ने हो भने उनको टोली नेपाललाई पराजित गर्न लालयित छ। 'हामीसँग राम्रो टोली छ, युवा खेलाडी छन्। हामी टोलीसँग खेल्न गइरहेका छौं, मैले माल्दिभ्सले खेल जित्ने आशा लिएको छु।'
स्पिनरको साथमा उनले नेपाललाई बलियो टोली मानेका छन्। तर उनीसँग आफ्नै समस्या छ। 'माल्दिभ्समा टर्फ विकेट छैन। त्यसैले हामी गत साता अभ्यासलाई श्रीलंका गएका थियौं। त्यहाँ हामीले राम्रो अभ्यास गर्‍यौं। नेपालले पहिला ब्याटिङ गरेमा १ सय २० रनसम्म रोक्ने हो भने केही भन्न सकिन्न।' नेपालको समर्थन गर्न दर्शक १५–२० हजारसम्म आउने बुझेर उनले खेलाडीलाई त्यहीअनुरुप तयार गरेको बताए।
माल्दिभ्सलाई मुसा कलिमको अनुभव कमी हुनसक्छ। डेढ दशक नेतृत्व गरेका कलिमबिनै माल्दिभ्स एसिसी ट्वान्टी–२० मा उत्रन लागेको हो। काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० को पछिल्लो संस्करणमा कलिमले सबैभन्दा बढी २ सय २२ रन बनाएका थिए। सोही प्रतियोगितामा नेपालबाट महबुब आलमले सबैभन्दा बढी १ सय २६ रनमात्र बनाएका थिए। कलिम ८ विकेट पनि लिएर म्यान अफ द सिरिजको दौडमा हङकङका मुनिर दारभन्दा पछाडि थिए।
दासानायके पुनः पहिलो खेलमै केन्द्रित हुन चाहन्छन्। 'स्तर जस्तोसुकै होस्, हामी राम्रो सुरुआत गर्न चाहन्छौं, जसले अरु खेलमा पनि हाम्रो आत्मविश्वास बलियो बनाओस्,' दासानायकेले भने, 'प्रतिद्वन्द्वी जस्तोसुकै होस, हाम्रो शक्ति र कमजोरी दुवैमा योजना बनाएका छौं। प्रतियोगिताभर त्यसलाई मैदानमा उतार्न जरुरी छ। पूरै प्रतियोगितामा आफ्नो स्तर कायम राख्न मंगलबारको दिन हामीलाई महŒवपूर्ण छ।' 
कप्तान पारस खड्काले नेपालले राम्रो तयारी गरेको र कुनै कसर बाँकी नराखेको बताए। आफ्ना प्रशिक्षकले जस्तै उनले अघिल्ला प्रतियोगिताका तुलनामा नेपालले राम्रो तयारी गरेको तर ट्वान्टी–२० मा कुनै पनि टोलीलाई कमजोर नआँक्ने जनाए। उनले भने, 'पोखरामा गरेको एकहप्ते प्रशिक्षण निकै उपयोगी रह्यो। सबै खेलाडीलाई आफ्नो जिम्मेवारी थाहा छ र फरक स्थिति झेल्न पनि तयार छन्। आफ्नो क्षमताअनुसार खेल्ने हो भने प्रतियोगिता जित्नेछौं।'
माल्दिभ्ससँगको खेलमा विजय हात पार्दै होलीमा रंगिने तयारी रहेको पारसले बताए। 'माल्दिभ्ससँग विजय हात पार्दै हामी होलीमा रंगिन चाहन्छौं, त्यसमा हामी विश्वस्त छौं।'
हेड टु हेड
नेपाल र माल्दिभ्स दुवैले सन् १९९६ मा पहिलो एसिसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा थालेका हुन्। १० वर्ष अघिसम्म यी दुई नियमित प्रतिद्वन्द्वी थिए। किरण अग्रवालको ९१ रनमा नेपालले सन् २००० को एसिसी ट्रफीमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको थियो।
२००३ मा ६ महिनाको अन्तरमा नेपाल र माल्दिभ्स चारपल्ट आमने सामने। भुटानसम्मिलित तीन राष्ट्रको इमर्जिङ नेसन्स कप नेपालले दुईपटक आयोजना गर्‍यो। नेपालले दुवै प्रतियोगिताको समूह चरण र फाइनलमा गरी माल्दिभ्सलाई चारपटक हरायो। इमर्जिङ नेसन्स कप नेपालले जितेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो। 
ट्वान्टी–२० मा नेपाल र माल्दिभ्स दोस्रोपल्ट भेट्न लागेका हुन्। ३ वर्षअघि चीनमा एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई ७५ रनले पराजित गरेको थियो। ग्वाङ्झाउमा नेपालले ९ विकेट गुमाई बनाएको १ सय २९ रनको जवाफमा माल्दिभ्सले ८ विकेट गुमाई ५४ रनमात्र बनाउन सक्यो। 
सम्भावित नेपाली टोली 
प्रशिक्षक पुबुदु दासानायकेले पहिलो रोजाइमा खेल्ने ११ खेलाडीको सूची लगभग तयार भइसकेको बताएका छन्। उनले सुवास खकुरेल र प्रदीप ऐरीलाई ओपनिङ ब्याट्सम्यानमा खेलाउने पक्का गरिसकेका छन्। स्थिति अनुकूल नभए दासानायकेले प्रतियोगिताक्रम विनोद भण्डारीलाई पनि प्रारम्भिक ब्याट्सम्यानमा उतार्न सक्ने जनाएका छन्। अर्का ओपनर अनिल मण्डल पहिलो रोजाइमा नपर्ने निश्चित भएका एकमात्र खेलाडी हुन्। 
पावर प्लेको पहिलो ६ ओभरको बढीभन्दा बढी फाइदा उठाउने योजनामा दासानायके छन्। यस्तो अवस्थामा उनले विनोद दासलाई तेस्रो नम्बरमा पठाउन पनि सक्छन्। सोचेजस्तै सुरुआत भएमा उपकप्तान ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्ने छन्। कप्तान पारस चौथो नम्बरमा आउने छन्।
दासानायकेले एकमात्र सिमर लिएर खेल्ने बताउँदै अमृत भट्टराई र चन्द्र साउदमध्ये एक बाहिर हुने बताएका छन्। अमृतले नेपालको प्रमुख बलर छवि बनाएकाले चन्द्र पहिलो रोजाइमा नपर्ने दोस्रो खेलाडी हुनेछन्। मंगलबार बिहान विकेट स्थिति हेरेर दासानायकेले बाँकी एक खेलाडी कसलाई बाहिर राख्ने निर्णय गर्ने जनाए। 
शरद भेषावकर, पृथु बाँस्कोटा, सञ्जम रेग्मी र मञ्जित श्रेष्ठमध्ये एक बाहिर रहने सम्भावना छ। मञ्जित पहिलो रोजाइमा खेलेर आक्रामक इनिङ खेल्न उनी माथिल्लो क्रममा आएर खेलाउने नेपालको रणनीति छ। पृथुले ग्वाङ्झाउमा माल्दिभ्ससँगको खेलबाटै राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। विकेट कडा भए पनि स्पिनरमैत्री हुनसक्ने सम्भावना देखेपछि दासानायकेले तेस्रो स्पिनरमा सञ्जमलाई खेलाउने सम्भावना छ।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत १३ गते प्रकासित 

No comments:

Post a Comment