Friday, March 29, 2013

दर्शकले 'सरी' भन्लान् : डायस


नेपालसँग खेल्नु रोय डायसका लागि सधैं भावनात्मक हुन्छ, तर मलेसियाका वर्तमान प्रशिक्षकका लागि अहिले अवस्था त्योभन्दा माथिको बनेको छ। एसिसी ट्वान्टी–२० कपमा शनिबार भिड्ने तयारीमा रहेका नेपाल र मलेसिया अघिल्ला खेलका नतिजाले नाजुक अवस्थामा पुगेका छन, जहाँ शनिबार हार्ने टोली प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ। 
डायस झन्डै एक दशक नेपालका प्रशिक्षक भए, शनिबारको खेल त्यसैले विशेष छ। ३ वर्षमा दोस्रोपल्ट नेपाल फर्किंदा डायससँग यहाँ बिताएका क्षणहरू ताजै हुनेछन्। कीर्तिपुरको परिचित भूमिमा आफैले हुर्काएको नेपालविरुद्ध हुने खेलले डायसलाई फरक रूपमा अतीततिर फर्काउने छ। 
तस्विर सौजन्य किरण राणा




नेपाल र मलेसियाबीचको खेलले व्यवहारिक रूपमा क्वार्टरफाइनलको मान्यता पाएको छ। विजयी हुने टोलीको सेमिफाइनल पक्का पक्की हुनेेछ। हार्नेको यात्रा टुंगिन सक्छ। पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले हराएको नेपाल अर्को खेलमा हङकङसँग ६ विकेटले पराजित भयो। मलेसिया पनि पहिलो खेलमा हङकङसँग ६ विकेटले नै पराजित भएको थियो। त्यसपछि टोलीले सिंगापुरविरुद्ध १ सय ७२ रनको लक्ष्य पूरा गरेको थियो।
डायसले नेपालसँग खेल रोमाञ्चक हुने अपेक्षा लिएका छन्। 'हामीलाई नेपालबारे थाहा छ। हङकङसँग हारे पनि नेपाल प्रतियोगिताकै निकै कठिन टोली हो। यो ११ विरुद्ध ११ को खेल हो,' सिंगापुरसँग विजय पाएपछि डायसले बिहीबार भने, 'एकतर्फी हुने मैले अपेक्षा गरेको छैन। धेरै दर्शक आउने हुनाले खेल राम्रो हुन्छ भनेको हुँ। नेपाललाई दर्शकको बलियो साथ छ। मैले खेलाडीलाई यसबारे जानकारी गराइसकेको छु। धेरै दर्शकसामु खेल्दा रमाउन सक्नुपर्छ।' 
उनले भने, 'धेरैले यो रोय डायसविरुद्ध नेपालको खेल भन्लान्, तर मेरा लागि यो करियरको अर्को एक खेलमात्र हो। म १० वर्ष नेपालको प्रशिक्षक रहें। नेपाल फर्किन पाउँदा खुसी छु। मलाई नेपाली खेलाडीबारे राम्रो जानकारी छ। पारस खड्का प्रतियोगिताकै उत्कृष्ट कप्तान हुन्। सबैलाई थाहा छ, यो मेरो दोस्रो घर हो। दर्शकलाई पनि मेरो बारे थाहा होला। दर्शकले अगाध माया गरे पनि नेपालसँग खेल्दा उनीहरूले मलाई सरी भन्लान् !'  
एसोसिएट क्रिकेटका परम्परागत प्रतिद्वन्द्वी नेपाल र मलेसिया एसिसी ट्वान्टी–२० मा खेल्न लागेको यो तेस्रोपल्ट हो। २००७ मा कुवेतमा भएको पहिलो संस्करणमा नेपालले २१ रनको विजय हात पायो। २००९ को अर्को संस्करणमा नेपाल ६ विकेटले पराजित भयो। मलेसियासँग सबैखाले क्रिकेटमा नेपालको यो पहिलो हार थियो। शारजहाँमा यही पराजयबाट पारस खड्काले नेपाली कप्तानको जिम्मेवारी सुरु गरेका थिए। 
डायसकालमा नेपाल पहिलो दुई एसिसी ट्वान्टी–२० कपको समूह चरणबाटै बाहिरिएको थियो। २०१० को समाप्तिसँगै उनी ओमान लागे। अर्को वर्ष पहिलोपल्ट नेपाल आउँदा डायसले ओमानलाई यही प्रतियोगिताको सेमिफाइनलसम्म डोर्‍याए। नेपालसँग पहिलोपल्ट उनी आमने–सामने भए। तेस्रो स्थानको प्लेअफ अर्थात महŒवको हिसाबले …डेड म्याच' मा ओमानले २ रनको विजय पायो। धेरैले यसलाई डायसको नेपालमाथिको विजय भने। 
नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोटमा पुग्न कम्तीमा सेमिफाइनल पुग्नु जरुरी छ। नेपाललाई पहिलोपल्ट प्रतियोगिताको दाबेदारमा हेरिएको छ। अर्को वर्षको विश्व ट्वान्टी–२० खेल्ने लक्ष्य बनाएको नेपाललाई सेमिफाइनल पुग्न मलेसियासँगको विजय अत्यावश्यक छ। हारेमा समूह चरणबाटै बाहिरिने करिब पक्का छ। यस्तोमा डायसले नेपाल र घरेलु दर्शकलाई 'सरी' भन्ने छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत १६ गते प्रकासित

No comments:

Post a Comment