Monday, March 25, 2013

नेपाललाई एसिसी ट्वान्टी–२० जित्ने अवसर


एसिसी ट्वान्टी–२० कपमा नेपाल पहिलोपल्ट दाबेदारका रूपमा उत्रँदैछ। यसअघि तीन संस्करणमा औसत टोलीभन्दा माथि उठ्न नसकेको नेपाललाई यसपालि उपाधिको दाबेदार नै मानिएको छ। घरेलु टोली भएकाले नेपाललाई दाबेदार मानिएको भने होइन। 
पछिल्ला चार अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको जुझारु प्रदर्शनले नेपाललाई दाबेदारमा उभ्याएको हो। एसिसी ट्वान्टी–२० को पहिलो दुई संस्करणमा नेपाल समूह चरणभन्दा माथि जानै सकेन। १६ महिनाअघि काठमाडौंमै सम्पन्न एसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेपछि नेपाली क्रिकेटको यात्रा निरन्तर बढिरहेको छ। यो यही प्रतियोगिता थियो, जसले नेपालको खेल्ने शैली परिवर्तन गरिदियो।


सेमिफाइनल पुगेसँगै विश्व ट्वान्टी–२० मा पहिलोपल्ट छनोट नेपालले सातौं स्थानसहित आगामी ट्वान्टी–२० विश्वकपलाई बाटो बनाएको थियो। त्यसपछि एक महिनाको अन्तरमा विश्व क्रिकेट लिग डिभिजन ४ र एसिसी ट्रफी इलिट जितेकाले अन्य टोलीका नजरमा नेपाल दाबेदार बनेको हो। 
'एसिसी ट्वान्टी–२० जित्ने हामीसँग राम्रो अवसर छ,' ट्वान्टी–२० फरक शैलीको खेल भए पनि कप्तान पारस खड्का नेपाललाई दाबेदारमा राख्दै भन्छन्, 'हाम्रा लागि यो ठूलो अवसर हो, राम्रो गर्नका लागि। हामीले राम्रो पनि गरिरहेका छौं, तर यो ट्वान्टी–२० हो, शून्यबाट सुरु गर्नुपर्छ। एउटा टोलीका हिसाबले हामीले निकै मेहनत गरेका छौं। यो मेहतन नतिजामा परिणत हुन्छ भन्ने आशा हो।' 
उनी प्रतियोगिता जित्नुबाहेक अन्य विकल्प नभएको बताउँछन्। 'शीर्ष दुई भएर छनोट हुने प्रावधान आफ्नो ठाउँमा छ। तर हामी प्रतियोगिता जित्न नै खेल्ने छौं,' पारसले अन्य टोलीप्रति सम्मान देखाउँदै भने, 'हामी हरेक खेलसँगै अगाडि बढ्ने छौं। कसैलाई पनि कमजोर आँकेका छैनौं। ट्वान्टी–२० मा कुनै टोलीबारे केही भन्न सकिन्न।'
प्रशिक्षक पुबुदु दासानायके नेपाललाई प्रतियोगिताकै उत्कृष्ट टोली मान्छन्।  उनी भन्छन्, 'म आफ्नो टोलीप्रति विश्वस्त छु। त्यसैले हामी प्रतियोगिता जित्नलाई खेल्नेछौं। एसिसीबाट अगाडि बढेर ग्लोबल प्रतियोगिता हुँदै हामी विश्वकपमा पुग्नुपर्छ। त्यो स्तरमा खेल्न योग्य पनि छौं। त्यसका लागि च्याम्पियन बनेर जानु राम्रो हुन्छ। त्यसैले लामो यात्रा तय गर्न हामीलाई यो प्रतियोगिता महत्वपुर्ण छ।' 
'एकपटक यो स्तरबाट माथि उक्लने हो भने हामी एसोसिएटको माथिल्लो स्तरमा रहिरहने छौं। त्यसका लागि म विश्वस्त छु,' विश्वकपको बाटो कोर्न ग्लोबल प्रतियोगितामा पुग्नुको आवश्यकता औंल्याउँदै उनले भने, 'त्यसलाई पहिला एसिसी ट्वान्टी–२० मा राम्रो खेलेर प्रमाणित गर्नुपर्छ। नेपाली टोली योग्य छ। मेरो विचारमा नेपाल प्रतियोगिताकै उत्कृष्ट टोली हो।' 
युएई आयोजक र अफगानिस्तान एकदिवसीय मान्यताप्राप्त भएकाले विश्व ट्वान्टी–२० छनोटमा सोझै प्रवेश दिइएको छ। यी दुईबाहेक एसिसी ट्वान्टी–२० का शीर्ष दुई टोली विश्व ट्वान्टी–२० लाई छानिने छन्। सोझै छनोट हुनु, खेलाडी घाइते हुनु र नयाँ खेलाडीलाई मौका दिनेक्रममा युएई, अफगानिस्तान प्रमुख खेलाडीबिना उत्रिन लागेकाले नेपाललाई दाबेदार मानिएको पो हो कि?
पारस यो मान्न तयार छैनन्। उनी भन्छन्, 'पछिल्लोपल्ट एसिसी ट्रफी इलिटमा युएई र अफगानिस्तान खेलेका थिए, प्रतियोगिता हामीले जित्यौं। अरु टोलीले के गर्छ भन्नेमा हामीलाई सरोकार छैन। हामी आफ्नो क्षमताअनुसार खेल्ने हो र आफ्नै टोलीमा ध्यान दिन्छौं। ट्वान्टी–२० अलि फरक खेल हो त्यो मात्र सरोकारको विषय हो।' 
पारसले नेपाल राम्रो खेलिरहेकाले मुख्य शक्ति नै त्यही भएको बताए। उनले भने, 'आशा गरौं यसलाई हामी निरन्तरता दिनेछौं। टिममा एकता छ र खेलाडीमा आत्मविश्वास छ। सबै फिट छन्। त्यसैले यो मेहनत खेर जान दिँदैनौं।'
पिच अन्योल
नयाँ पिचलाई लिएर सरोकारवालाको फरक मत छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरका क्युरेटर नारायण कार्की यसपटकको विकेट ब्याटिङलाई सजिलो हुने बताउँछन्। उनले भने, 'पहिलाभन्दा विकेट यसपल्ट अलिक फरक छ। विकेट अलि कडा बनाइएकाले ब्याटिङलाई सजिलो हुन्छ होला। पहिला जस्तो स्पिनर हावी नहुन सक्छ। तीब्र बलरलाई राम्रो बाउन्स आउन सक्छ।'
विकेटमा नखेलेसम्म त्यसबारे केही भन्न नसकिने बताउँछन् कप्तान पारस। उनले भने, 'हामी यहाँ नियमित खेलिरहेका थियौं। एक महिना भयो यो विकेटमा खेल्न पाएका छैनौं। जहाँसम्म लाग्छ, विकेटको माहोल यथावत छ। त्यसैले खासै फरक नपर्ला।' 
प्रशिक्षक दासानायकेले पिचलाई आफ्नै हिसाबले बुझेका छन्। 'ब्याटिङ ट्रयाक भएको भए राम्रो हुन्थ्यो। सामान्य रूपमा हेर्दा स्पिनमैत्री विकेट जस्तो देखिन्छ। पछिल्लो एसिसी ट्वान्टी–२० भन्दा यो पटक विकेट राम्रो देखिएको छ। तर पनि धेरै रन बन्ने सम्भावना कम छ। त्यसैले चुनौतीपूर्ण हुन्छ,' उनको बुझाइ छ।
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत १२ गते प्रकासित

No comments:

Post a Comment