Thursday, March 21, 2013

नेपालका प्रमुख आशाहरु


मंगलबार सुरु हुने एसिसी ट्वान्टी–२० कपका लागि नेपालको तयारी लगभग पुरा भएको छ। नेपालले समूह चरणमा माल्दिभ्स, हङकङ, मलेसिया र सिंगापुरसँग खेल्ने छ। सेमिफाइनल पुगेमा विश्व ट्वान्टी–२० छनोटमा पुग्ने नेपालको सम्भावना बलियो हुनेछ। बंगलादेशमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० को पहिलो खुडकिलो एसिसी ट्वान्टी–२० मा नेपाललाई पनि दावेदार मानिएको छ। नेपालको आशामा रहेका प्रमुख खेलाडीहरु यस प्रकार छन्। 





पारस खड्का
पछिल्लो एसिसी ट्वान्टी–२० को तुलनामा नेपालको खेल्ने शैलीमा निकै सुधार भइसकेको छ। त्यसका वावजुद पनि नेपालको धेरै आशा कप्तान पारस खडकामा हुनेछ। पछिल्लो तीन वर्षमा 'वान मान आर्मी' प्रदर्शन गरिरहेकाले पनि अधिंकाशको आशा कप्तानमै रहेको छ। दुई वर्षअघिको एसिसी ट्वान्टी–२० मा उनले १ सय १ रन बनाउनुका साथै ७ विकेट लिई अलराउन्ड प्रदर्शन गर्दै नेपाललाई पहिलो पटक सेमिफाइनलको बाटो देखाएका थिए। 

सेमिफाइनलसँगै नेपाल पहिलो पटक आइसिसीको ग्लोबल प्रतियोगितालाई छानियो। पारसले विश्व ट्वान्टी–२० मा पनि प्रभावशाली प्रदर्शन गर्दै छाए। नेपालले ९ मध्येको ५ खेल जित्दा पारस ३ मा म्यान अफ द म्याचमा चुनिए। उनले युएईमा ३ अर्धसतकसहित २ सय ५४ रन बनाए। पारसको औषत ५०.८० र स्ट्राइक रेट ११८.१३ थियो। 'दवावमा खेल्ने उपयुक्त खेलाडी' संज्ञा उनलाई यही प्रदर्शनले दिएको थियो। नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ जित्दा र एसिसी ट्रफी इलिट कप जित्दा पनि पारसको छवि प्रमुख खेलाडी नै थियो। कुवेतसँगको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो सतक बनाएका पारस म्यान अफ द सिरिजमा समेत चुनिएका थिए। उनले प्रतियोगितामा सवैभन्दा बढी २ सय ९१ रन बनाउनुका साथै ६ विकेट लिएका थिए।
तेस्रो–चौथो नम्बरमा ब्याटिङ गर्ने पारस ओपनिङमा बलिङ गर्न आउछन्। उनी मध्यम गतिको बलिङमा आउने पारस नेपाल जस्तो स्लो पिचमा अफ स्पिन घुमाउछन्। ब्याटिङमा पहिलो बलमै ठुलो शट प्रहार गरी बलरमाथी हावी हुनु पारसको परिचय हो।

शक्ति गौचन
शक्तिकै भाषामा उनी एसिसी ट्वान्टी–२० कपबाट नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका छन्। झन्डै १६ महिना अघि काठमाडौंमै भएको एसिसी ट्वान्टी–२० को पछिल्लो संस्करणबाट शक्तिलाई अप्रत्यासित रुपमा टोलीबाट हटाइएको थियो। त्यसैले उनी घरेलु समर्थक अगाडी खेल्न पाउनुलाई पुनरागमन मान्छन्। 

एसिसी ट्वान्टी–२० लाई नसमेटिएका शक्तिले त्यसलगत्तै युएईमा भएको विश्व ट्वान्टी–२० बाट नेपालको ट्वान्टी–२० टोलीमा पुनरागमन गरे, जहाँ उनले डेनमार्कसँगको खेलमा ह्याटिकसहित ४ विकेट लिए। पुरै प्रतियोगितामा उनले नेपालबाट सवैभन्दा बढी १६ विकेट लिए। त्यसपछि नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ४ र एसिसी ट्रफीको उपाधि दिलाउदा पनि शक्ति प्रमुख खेलाडीमा रहे। उनले मलेसियामा भएको डिभिजन ४ मा १० विकेट लिए। मलेसियासँगको खेलमा उनले १० ओभरमा ८ मेडन राख्दै २ रन खर्चेर ३ विकेट लिँदै स्मरणीय प्रदर्शन गरे। नेपालको विजयी क्रम र शक्तिको चम्किलो बलिङ एसिसी ट्रफीमा पनि निरन्तर रह्यो। उनले युएईमा सवैभन्दा बढी १५ विकेट लिए। नेपालले पहिलो पटक युएईलाई एसिसीमा हराउदा शक्तिले समूह चरणमा ५ विकेट लिए। 
नेपालका प्रमुख ब्याट्सम्यानबाट शक्तिको परिचय प्रमुख बलरमा स्थापित भएको छ। देव्रेहाते स्पिनर शक्तिको बलमा रन बनाउन निकै कठिन मानिन्छ। उनी सिधा विकेट ताकेर बलिङ गर्छन। इनिङ्सको पहिलो ओभरनै शक्ति बलिङ गर्न आए आश्चार्य नमाने हुन्छ।

प्रदीप ऐरी
प्रदीप नेपाली टोलीका सवैभन्दा आक्रामक ब्याट्सम्यान हुन्। ट्वान्टी–२० लाई उनी सवैभन्दा सुहाउदा नेपाली खेलाडी मानिन्छन्। तीन वर्षअघि इटालीमा भएको विश्व क्रिकेट लिग डिभिजन ४ देखि नेपाली टोलीमा रहदैं आएका ऐरी ओपनर र मध्यक्रम दुवैमा ब्याटिङ गर्छन्। मध्यम गतिको बलिङमा पनि उनी उपयोगि बन्दै आएका छन्। कामचलाउ विकेटकिपरको भुमिका पनि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा निभाइसकेका छन्। 

गत युएईमा भएको विश्व ट्वान्टी–२० बाट नेपालको ट्वान्टी–२० मा प्रदीपले ९ खेलमा १ सय ६५ रन बनाएका थिए। उनले सवै खेल ओपनिङ ब्याट्सको रुपमा खेलेका थिए। पारस खडका पछि सवैभन्दा बढी रन बनाउनेमा उनी नै थियो। उनको स्ट्राइक रेट १२२.२२ नेपाली खेलाडीको सवैभन्दा उच्च थियो। उनले प्रतियोगितामा नेपालबाट सवैभन्दा बढी ६ छक्का प्रहार गरेका थिए। २०११ मा काठमाडौंमा भएको पछिल्लो एसिसी ट्वान्टी–२० मा ओमानसँगको प्लेअफ खेलबाट प्रदीपले ओपनरको भुमिकामा खेल्न सुरु गरेका थिए।
गत वर्ष अस्ट्रेलियामा भएको आइसिसी यु–१९ विश्वकपमा प्रदीपले ओपनरकै रुपमा खेलेका थिए। तर माथिल्लो क्रममा जम्न नसकेपछि नामिबियासँग मध्यपंक्तिमा खेल्दै उनले ७६ बलमा ९८ रन बनाएका थिए। यो विश्वकपमा नेपाली खेलाडीको उच्च स्कोर पनि हो। यस पटक उनी पुनः ओपनरका रुपमा आउन पनि सक्ने छन्। 

ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र नेपाली टोलीका उपकप्तान हुन्। उनी पनि 'मल्टी ट्यालेन्टेड' मा खेलाडी पर्छन। माथिल्लो क्रममा ब्याटिङ उनको मुख्य शक्ति हो। त्यसबाहके रिभर्स स्वीप, प्याडल स्वीप गर्न पनि उनी माहिर छन्। गत वर्ष उनले विश्व ट्वान्टी–२० मा नेपालले खेलेको सवै खेलमा विकेटकिपिङ गरेका थिए। यदा कदा उनी अन्तर्राष्ट्रिय खेलहरुमै स्पिन बल पनि घुमाउछन्। दुई वर्षअघि माल्दिभ्समा भारतको कर्णाटक इन्सिच्युट अफ क्रिकेट टोलीविरुद्ध २१ बलमै ९ छक्कासहित अविजित ६७ रन बनाउदा रिभर्स स्वीप, स्कुप शटहरुको मजाले प्रयोग गरेका थिए।

आधिकारिक प्रतियोगिताहरुमा भने उनले त्यो फर्म देखाउन बाँकी नै छ। उनले एसिसी ट्रफीमा २ सय १२ रन बनाएका थिए। ५० ओभरमा उनी नेपालका उत्कृष्ट ब्याट्सम्यानमा पर्छन्। ट्वान्टी–२० मा ढिलो पाउने हुनाले ज्ञानेन्द्रले अझै राम्रो अवसर पाएका छैनन्। यस पटक उनले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन्। त्यसैले उनीसँग ट्वान्टी–२० शैलीमा खेल देखाउने अवसर पनि छ। 

बसन्त रेग्मी
बसन्त नेपाली क्रिकेटका स्वभाविक प्रतिभा हुन्। तर उनी नेपाली टोलीमा 'क्राइसिस म्यान' को छविमा स्थापित छन्। नेपाली टोली अप्ठायरो स्थितिमा पुगेको समयमा उनले नेपाली टोलीको उद्धार गर्दै आएका छन्। एसिसी ट्वान्टी–२० को पछिल्लो संस्करणमा बसन्तले नै अन्तिम २ ओभरमा विस्फोटक ब्याटिङ गर्दै नेपाललाई विजय दिलाएका थिए। बसन्तले प्रतियोगितामा सवैभन्दा बढी ८ विकेट लिए।

एक समय थियो बसन्त ओपनिङ ब्याटिङका साथै ओपनिङ बलिङ गर्थे। अहिले बलिङमा उनी नेपाली टोलीका ट्रमकार्ड जस्तै हुन्। गत वर्ष विश्व ट्वान्टी–२० छनोटमा ११ विकेट लिएका थिए। डिभिजन ४ जित्दा उनले २१ विकेट लिएर एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका थिए। बसन्तको देव्रेहाते स्पिनमा रन बनाउन निकै कठिन मानिन्छ। घरेलु पिच उनको बलिङका लागि सुहाउदो मानिन्छ।

विनोद भण्डारी
विनोदलाई नेपाली जावेद मियाँदाद पनि भनिन्छ। मियादादले भारतसँगको खेलमा अन्तिम बलमा छक्का प्रहार गरी पाकिस्तानलाई विजय दिलाएको विश्व क्रिकेटको स्मरणीय क्षणमा पर्छ।  विनोदले कुवेतसँग २००९ मा युएईमै अन्तिम बलमा छक्का प्रहार गरी नेपाललाई विजय बनाए। विनोद कडा प्रहार गर्ने खेलाडी हुन्। अवुधावीको शेख जायेद रंगशालामा अन्तिम बलमा प्रहार गरेको छक्का त्यसको उदाहरण मात्र हो। 

पछिल्लो एसिसी ट्वान्टी–२० मा उनी नेपाली टोलीमा थिए। तर आफ्नो खुवी अनुसार प्रदर्शन गर्न नसक्दा उनी त्यसपछि नेपाली टोलीबाट फालिएका थिए। एसिसी ट्रफीबाट उनी नेपाली टोलीमा फर्किएका छन्। दिल्लीमा हालै खेलिएको अभ्यास खेलहरुमा आफ्नो पुरानै छवी देखाएपछि विनोद नेपाली टोलीको सम्भावित प्रमुख खेलाडीमा उभिएका छन्। 

तस्विरहरुः आइसिसी, नागरिक
शुक्रबार साप्ताहिकमा २०६९ चैत ८ गते प्रकासित

1 comment:

  1. यो तुर्नामेन्ट को प्रचार तेती गरेको जस्तो मलाई लागेन्, मैले त बल्ल थाहा पाएको । आशा छ नेपाल ले सबै खेल हरु जितेर आम नेपाली लाई होली पर्व को उपहार दिने छ ।

    ReplyDelete