Sunday, April 14, 2013

नेपाल विश्वकप पुगेन भने फर्कन्छु : दासानायके


क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौता नवीकरण गर्दै भने, 'नेपाल विश्वकपमा पुग्न सकेन भने म फर्कने छु।' अर्को वर्ष नेपाललाई विश्वकपमा पुर्‍याउने अठोटका साथ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेलेसम्झौता एक वर्ष लम्ब्याएका हुन्। 
सन् २०११ को अक्टोबरमा पूर्व श्रीलंकाली खेलाडी दासानायके नेपाल आएका थिए। पहिलोपल्ट ६ महिनालाई आएका दासानायकेले त्यसपछि १ वर्ष लम्ब्याए। अहिले उनले दोस्रोपल्ट सम्झौता नवीकरण गरेका हुन्। 


पहिलोपल्टै आउँदा नेपाललाई एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल पुर्‍याएका दासानायकेले भर्खरै सम्पन्न प्रतियोगिताको पछिल्लो संस्करणमा पुर्‍याए। एसिसी ट्वान्टी–२० को पहिलो दुई संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। काठमाडौंमा एसिसी ट्वान्टी–२० को समूह चरणमा खेलिरहँदा नै दासानायकेको पछिल्लो सम्झौता सकिएको थियो। प्रतियोगिता सकिएलगत्तै उनले नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यसबाहेक पछिल्लो डेढ वर्षमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ जित्नुका साथै एसिसी ट्रफी इलिटमा संयुक्त विजेता बन्यो। डिभिजन ३ मा उक्लनुका साथै एसिसी ट्वान्टी–२० फाइनल पुगेकाले नेपालको विश्वकप यात्रा नजिकिँदै गएको हो। 
नेपालले दुई सातापछि बर्मुडामा डिभिजन ३ मा प्रतिस्पर्धा गर्दैछ। ६ राष्ट्रसम्मिलित प्रतियोगिताको शीर्ष दुईमा रहे नेपाल एकदिवसीय विश्वकपको अन्तिम छनोटमा पुग्नेछ। त्यस्तै नोभेम्बरमा नेपालले विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गर्नेछ। १६ राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाल पछिल्लोपल्ट सातौं भएको थियो। यसपटक शीर्ष ६ टोली विश्वकपमा पुग्ने छन्।
'मेरो लक्ष्य नेपाललाई विश्वकपमा पुर्‍याउनु हो,' नेपालमा प्रशिक्षण दिन पाएकोमा रमाइलो अनुभव भइरहेको बताउँदै दासानायकेले भने, 'नेपाल विश्वकपमा पुगेन भने म यहाँ बस्नुको कुनै कारण छैन। ट्वान्टी–२० विश्वकप खेल्ने हामीसँग राम्रो अवसर छ। तर हाम्रो लक्ष्य एकदिवसीय विश्वकपमा पनि छनोट हुने हो। कम्तीमा हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्छ।'
४२ वर्षे दासानायाकेले श्रीलंकाबाट ११ टेस्ट, १६ एकदिवसीय तथा १ सय ८ प्रथम श्रेणीका खेल खेलेका छन्। उनी २००७ मा क्यानाडाका राष्ट्रिय प्रशिक्षक भए। पूर्व विकेटकिपर/ब्याट्सम्यान दासानायाकेले क्यानाडालाई २०११ को विश्वकपमा छनोट गराए। २०११ मा भारतमा सम्पन्न विश्वकपपछि उनले आफ्नो अनुबन्धन नवीकरण नगर्ने बताउँदै क्यानाडाको प्रशिक्षक पद त्यागेर अर्का श्रीलंकाली रोय डायसको स्थान लिन नेपाल आए।
दासानायकेको डेढ वर्षे कार्यकाल मूल्यांकन गर्दै नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्‍याल भन्छन्, 'अन्य पक्ष जेसुकै भए पनि दासानायकेको कार्यकालमा नेपाली क्रिकेटको नतिजा उत्साहजनक छ। त्यसमा खेलाडी र क्यानका भूमिका आफ्नै होलान् । प्रशिक्षकको भूमिका धेरै छ।' 
सूत्रका अनुसार नेपाल दासानायकेसँग दुईवर्षे सम्झौता गर्न चाहन्थ्यो। दासानायके एक वर्षमै केन्द्रित भए। प्याकुर्‍यालले भने, 'अहिले १ वर्षलाई नै नवीकरण गर्न दुवै पक्ष राजी भयौं। भोली चाहियो भने सम्झौता लम्ब्याउन दुवै पक्ष तयार छन्।' सम्झौता नवीकरणमा दासानायकेले कुनै माग नराखेको बताइएको छ।
नयाँ सम्झौताअनुसार क्यानले दासानायकेको नेपालमा बस्दा लाग्दै आएको खर्च थपिदिएको छ। त्यसअनुसार दासानायकेलाई प्रतिमहिना खानबस्न १ हजार अमेरिकी डलर प्रदान गर्नेछ। यसअघि यो शीर्षकमा ६–७ सय डलर प्रदान गरिँदै आएको प्याकुर्‍याल बताउँछन्। दासानायकेले मासिक तलब ५ हजार डलर पाउँदै आएका छन्। एसियाली क्रिकेट परिषद (एसिसी) बाट प्रशिक्षक र सहायक प्रशिक्षकलाई आउने झन्डै ४ हजार डलर क्यानले दासानायकेलाई दिँदै आएको र बाँकी रकम क्यानले बेहोरेको प्याकुर्‍यालले जानकारी गराए। 
नागरिक राष्ट्रिय दैनिकमा २०७० वैशाख १ गते प्रकासित

No comments:

Post a Comment