Sunday, April 28, 2013

अमेरिकासँग निरन्तर जितको अपेक्षा

विश्व क्रिकेट लिग डिभिजन ३ बर्मुडामा आइतबार सुरु हुँदा नेपाल र अमेरिकाबीचको नियमित भेटले निरन्तरता पाउने छ। दुवैलाई प्रतियोगितामा दाबेदार मानिएको छ। पहिलो खेल नै भए पनि दुई टोलीबीचको विजेताको डिभिजन २ मा उक्लने सम्भावना बलियो बन्नेछ।
नेपालले यो स्थितिसम्म आइपुग्दा डिभिजन ५ र डिभिजन ४ को फाइनलमा अमेरिकालाई नै पराजित गरेको थियो। ७ महिनाअघि डिभिजन ४ मा नेपालले अमेरिकालाई समूह चरणमा ३२ रन र फाइनलमा ८ विकेटले पराजित गरेको थियो। नेपाललाई दाबेदारमा राखिनुको कारण पनि यही नै हो। 'पछिल्लो दुई खेल हामीले जितेको हुनाले अहिले दबाब अमेरिकालाई छ। डिभिजन ४ मा हामीले अमेरिकाले राम्रोसँग नियन्त्रणमा लिएका थियौं,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भनेका छन्।  
तस्विर सौजन्यः नेपाल क्रिकेट संघ

५ वर्षको अन्तरमा नेपालले अमेरिकासँग नवौंपल्ट खेल्न लागेको हो। त्यसमा नेपालले ४ र अमेरिकाले २ खेलमा विजय पाएको  छ। बाँकी २ खेल वर्षाका कारण बीचैमा रोकिएको थियो। अमेरिकाले काठमाडौंमा सन् २०१० मा भएको डिभिजन ५ र सोही वर्ष इटालीमा भएको डिभिजन ४ मा नेपाललाई समूह चरणमा पराजित गरेको थियो। इटालीमा विजेता बन्दै अमेरिका तीन वर्षअगाडी नै डिभिजन ३ मा उक्लिएको थियो। तर अर्को वर्ष हङकङमा भएको डिभिजन ३ बाट टोली रेलिगेसनमा परेको थियो।
बिहीबार नेपालको बर्मुडा ११ सँगको अभ्यास खेल रद्द भएको थियो। त्यही अमेरिकाले अघिल्लो दिन युगान्डालाई १ सय ८६ रनले पराजित गर्‍यो। कप्तान स्टिभ मासिहको १ सय ४, ओर्लान्डो बेकरको ६६ र स्टेभन टेलरको ५४ रनमा अमेरिकाले ३ सय ४ रन बनायो। युगान्डाले १ सय १८ रनमात्र बनाउन सक्यो। मासिह र सुशील नाडकर्नी अमेरिकाका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। नाडकर्नीले नेपालसँग ६ खेलमा ३ अर्धशतकसहित ६४ को औसतमा २ सय ७२ रन बनाइसकेका छन्। सेप्टेम्बरमा उनले डिभिजन ४ को समूह चरणमा ८४ रन बनाएका थिए।
डिभिजन ३ का लागि अमेरिका टोलीमा केही परिवर्तन भइसकेका छन्। अमेरिकाले वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका निल म्याकग्यारेललाई टोलीमा समावेश गरेको छ। ४० वर्षे देब्रेहाते स्पिनर म्याकग्यारेललाई अमेरिकाले २०११ को डिभिजन ३ टोलीमा पनि समावेश गरेको थियो, तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले उनलाई खेल्न रोक लगायो। म्याकग्यारेलले २००१ मा वेस्ट इन्डिजबाट ४ टेस्ट खेलेका थिए। उनीसँग वेस्ट इन्डिजबाट १७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको पनि अनुभव छ।
'अमेरिकी टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका खेलाडी छन्, तर मलाई उनीहरू कस्ता खेलाडी हुन्, कति वर्षका हुन्, कस्तो खेल्छन्, केही थाहा छैन,' दासानायकेले बर्मुडा जानुअघि भनेका थिए, 'हामीले आफ्नो शक्तिअनुसार ८० प्रतिशतमात्र खेल्ने हो भने हामी यो स्तरमा जुनै टोलीलाई पनि हराउन सक्छौं।' बर्मुडाको स्लो र स्पिन मैत्री विकेट नेपालका लागि सुहाउँदो हुने दासानायके बताउँछन्। साना मैदानहरूमा अमेरिकी खेलाडीले खेल्ने ठूलो शट नेपालका लागि मुख्य चिन्ताको विषय हुनसक्छ।
नेपालले पहिलो रोजाइमा खेल्ने खेलाडी अझै सार्वजनिक गरेको छैन। प्रशिक्षक दासानायकेका लागि यही नै टाउको दुखाइको विषय हो। डिभिजन ४ पछि देब्रेहाते स्पिनर राहुल बिक टोलीमा फर्किएका छन्। उनले लगत्तै युएईमा भएको एसिसी ट्रफी इलिटबाट ढाडको चोटका कारण आफ्नो नाम फिर्ता लिएका थिए। काठमाडौंमा अघिल्लो महिना भएको एसिसी ट्वान्टी–२० मा उनी नेपाली टोलीमा अटाउन सकेनन्। २०१० को डिभिजन ५ को फाइनलमा राहुलले अमेरिकासँग ७ विकेट लिएका थिए, जुन महबुब आलमको मोजाम्बिकसँग सबै १० विकेटपछि आइसिसीको प्रतियोगितामा नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो।
डिभिजन ४ को तयारीलाई लिएर भारतमा अभ्यास खेल्न जाँदा पृथु बाँस्कोटाले तल्लोक्रममा रहेर उपयोगी ब्याटिङ गरेका थिए। यही कारण दासानायके नेपालको मध्यपंक्ति विगतभन्दा बलियो मान्छन्। विनोद भण्डारीले एसिसी ट्वान्टी–२० र जयपुर भ्रमणमा निकै राम्रो ब्याटिङ गरेकाले पृथुको स्थान पहिलो रोजाइमा अझै निश्चित भएको छैन। मध्यम गतिका बलर अमृत भट्टराई र चन्द्र साउदमध्ये एक पहिलो रोजाइमा नपर्ने निश्चितजस्तै छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० वैशाख १५ गते प्रकासित

No comments:

Post a Comment