Wednesday, April 3, 2013

बाबुराम भट्टराईको क्रिकेट मोह


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघिल्लो दिन नै टि्वट गरेर नेपाल र युएईबीचको एसिसी ट्वान्टी–२० कप क्रिकेटको सेमिफाइनल हेर्न जाने जानकारी गराएका थिए। त्यस अलावा उनले देशका नेताहरूले खेलकर्मीबाट सिक्नुपर्ने पनि अवगत गराए। 
मंगलबार नेपालको खेलपूर्व नै भट्टराई कीर्तिपुर मैदान पुगिसकेका थिए। नेपाली टोलीका व्यवस्थापक सञ्जिव पाण्डेलाई शुभकामना दिँदै उनले अतिथि कक्षबाट खेल अवधिभर नेपाली टोलीको हौसला बढाइरहे। खेल सकिएपछि प्रमुख अतिथिको भूमिका निभाउँदै उनले पृथु बाँस्कोटा र प्रदीप ऐरीलाई संयुक्त म्यान अफ द म्याच प्रदान गरे। 
बाबुराम भट्टराई र गगन थापा (दुई छेउ) मा नेपाल र युएई बीचको एसिसी ट्वान्टी–२० सेमिफाइनल खेल हेर्दै।
तस्विर विकास कार्की/नागरिक
फेरि टि्वटमार्फत फाइनलको शुभकामना दिँदै नेपालले सेमिफाइनल जितेको हेर्नु आफ्ना लागि ठूलो क्षण भएको बताए। नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा भट्टराईले आफू विदेशीमा भिभियन रिचर्डस (वेस्ट इन्डिज) र नेपाली खेलाडीमा कप्तान पारस खड्काको प्रशंसक रहेको बताए। उनले पछिल्लो समय आफू भारतका सचिन तेन्दुलकरको प्रशंसक रहेको र स्ट्रोक प्लेयरको खेलमा लोभिने गरेको बताए। 
भारतको दिल्लीमा जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दादेखि नै क्रिकेटमा होमिएको भट्टराईले यसअघि नै बताउँदै आएका थिए। क्रिकेटमा सम्भावना धेरै रहे पनि त्यसअनुसार गर्न नसेकेको उनको बुझाइ थियो। 'भौतिक पूर्वाधारमा हामीले ध्यान दिनैपर्छ। एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशालाको तत्काल खाँचो छ। काठमाडौंमा भएको दुई मैदानले मात्र पुग्दैन,' भट्टराईले भने, 'प्रधानमन्त्री भएको समयमा मैले आफ्नो प्रयासमा क्रिकेटलाई सक्दो गरेको हुँ। यु–१९ महिला र नेपाली राष्ट्रिय टोलीलाई पुरस्कृत गरंे। तर पूरक बजेट नआउँदा जति सक्नुपर्ने हो त्यति गर्न सकिनँ।'
भट्टराईको प्रधानमन्त्री कार्यकालमा एसिसी यु–१९ महिला च्याम्पियनसिप जितेको टोलीलाई नगद २ लाख र विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको नेपाली टोलीलाई जनही ३ लाख प्रदान गरिएको थियो। तर उनकै कार्यकालमा एसिसी ट्रफी इलिटको उपाधि जितेको नेपाली टोलीले अहिलेसम्म सम्मान पाउन सकेका छैनन्। युएईमा जितेको एसिसी ट्रफी नेपालले जितेको अहिलेसम्मकै ठूलो उपलब्धि हो।
विद्यार्थी छँदा भट्टराई आफू वेस्ट इन्डिजको समर्थक र अहिले उपमहाद्वीपका टोलीलाई समर्थन गर्ने गरेको बताए। फुर्सदमा अहिले पनि टेलिभिजनबाट क्रिकेट हेर्ने स्मरण गराए।
झन्डै २० हजार दर्शक 
आइतबार सेमिफाइनल हेर्न झन्डै २० हजार दर्शक मैदान ओर्लिए। त्यसमा झन्डै १५ हजार दर्शकले १ सय रुपैयाँ दरका टिकट काटे। टिकट व्यवस्थापनको जिम्मा लिएको खेलाडी तथा प्रशिक्षक संघका कोषाध्यक्ष आशिष द्वारेका अनुसार आइतबार टिकटबाट ११ लाख ५३ हजार १ सय रुपैयाँ संकलन भएको छ। 'हामीले १० हजार जतिले खेल हेर्ने अनुमान गरेका थियौं, टिकट बढी बिक्री भयो, त्यसपछि बाहिरको भिडलाई बिनाटिकट मैदान जान दियौं,' द्वारेले बताए। सेमिफाइनलसम्म टिकट बिक्रीबाट २८ लाखभन्दा बढी संकलन भइसकेको छ। 
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत २१ गते प्रकासित

1 comment:

  1. We should be careful about these chameleons trying to get free publicity out of something they have never contributed to. These failed politicians have brought a lot of disrepute to the country and might only taint the sports if they continue their presence in these important matches. We should let the politicians to continue lying to their cadres and to people of Nepal through the front pages of the politically sold out newspapers. We could focus on the cricket and hope for the Nepal team to come off victorious. Let us not be distracted by these April 1st moves of our failed politicians.

    ReplyDelete